एउटै फिल्मबाट धेरै कुरा भन्न सम्भव छ । एउटै दृश्यबाट धेरै कुरा भन्न सम्भव छ । एउटै गीतबाट धेरै कुरा भन्न सम्भव छ । एउटै संवादबाट धेरै कुरा भन्न सम्भव छ । अनभिता दत्त निर्देशित ‘कला’ फिल्मले यी सबै कुरा प्रमाणित गरेको छ ।
फिल्मकी प्रमुख पात्र कला (तृप्ति डिमृ) लाई उनकी आमा आफ्नो घराना थेग्ने गायिका बनाउन चाहन्छिन् । तर छोरीले गरेको गाउने प्रयत्न पुग्दो भएको ठान्दिनन् । कलाको भनाइअनुसार ‘जति गरे पनि आमालाई पुग्दैन ।’ उनले परम्परागत बुझाइको एउटा मापन बनाएकी छन् जसमा कला कहिल्यै पास हुँदिनन् । बरु उनी अर्को युवक जगन (बाबिल खान)लाई पुत्र बनाएर घर ल्याउँछिन् । उसको स्वरले घरानाको साख थेगोस् चाहन्छिन् । उनी कलाको आवाज जगनको आवाजको तुलनामा कमजोर भएको ठान्छिन् । त्यो तुलनामा उनीभित्रको ‘पुरुषले गाएको मात्र राम्रो’ भन्ने सोच गडिएको छ ।
आमा महिला भएर पनि पितृसत्तात्मक सोचाइको उत्पादन हुन् । उनी कलालाई अवसर दिन प्रयत्न गर्दिनन् । सिकाउन पनि गर्दिनन् । बरु जगनको स्वरमार्फत आफ्नो सन्तुष्टि खोज्छिन् । जगनको स्वरमा मग्न हुन्छिन् । कलाको स्वरमा भड्किन्छिन् । उनको हरेक चिसो व्यवहारले ‘कला’लाई उनको गलाभन्दा परपर लैजाँदै लान्छ । गाउन नै सक्दिनँ कि भन्ने अवस्थासम्म पुर्याउँछ ।
त्यसको घाटा उल्टै जगनलाई हुन्छ । उसमा गाउनै पर्ने बाध्यता थपिंदै जान्छ । आफ्ना सबै थोक नै गायन हो भन्ने भारी थप्दै लान्छ । त्यो भारीले एकातिर उसलाई गाउन नसक्ने हुनसाथ बाँच्नुको औचित्य सकिएको सोच्ने बनाउँछ । अर्कोतिर कलालाई आफूले पाएको सफलता पनि जगनको भाग छिनेर पाइरहेको हुँ कि भन्ने पारिरहन्छ । त्यो भारीले न पुरुषलाई फाइदा गर्छ न त महिलालाई ।