एस् ए टी भी १७ भाद्र २०८२, काठमाडौँः कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री राम रानाका गाडी चालक छुटेका छन् । पीडित पक्षसँग सहमतिपछि विराटनगर घर भएका ४८ वर्षीय चन्द्रनारायण चौधरी रिहा भएका हुन् ।
शनिवार ललितपुरको हरिसिद्धिमा राना सवार गाडीको ठक्करबाट ११ वर्षीया बालिका घाइते भएकी थिइन् । को १ झ ६९९ नम्बरको गाडी चौधरीले चलाएका थिए । बच्चाको सम्पूर्ण उपचार गरिदिने सर्तमा सहमति भए पनि चालकलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले रातोपाटीलाई बताए ।
दुर्घटनामा परेर ललितपुर महानगरपालिका–२८ घर भएकी उषा सुनुवार घाइते भएकी थिइन् । अनुहार र दायाँ हातमा चोट लागेकी सुनुवार बीएण्डबी अस्पतालबाट डिस्चार्ज भएकी छन् । चालक पक्षले बीएण्डी अस्पतालमा १४ हजार उपचार खर्च तिरेका छन् । फलोअप उपचार पनि गर्ने सहमति भएपछि चालक छुटेका हुन् ।
ललितपुरको गोदावरीमा नेकपा (एमाले)को विधान महाधिवेशनमा सहभागी हुन जाँदै गरेका रानाको गाडीले बालिकालाई ठक्कर दिएको थियो ।