नेभिगेसन मेनु

मनास्लुमा विदेशी पर्यटकले राहत
समय:2022-02-02 04:21

गोरखा — कोरोना महामारीअघि विदेशी पर्यटकले गुल्जार रहने गरेको मनास्लु क्षेत्रमा सन् २०२० मा जम्मा ३ सय ४७ विदेशी पुगे । सन् २०२१ को तथ्यांक हेर्ने हो भने यो संख्या बढेको देखिन्छ । उक्त वर्ष ९ सय २५ विदेशी पर्यटक मनास्लु क्षेत्र पुगेका छन् ।

विदेशी पर्यटकको संख्या बढे पनि सन्तोषजनक भने होइन । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का प्रमुख सत्यनारायण शाहका अनुसार सन् २०१९ मा ७ हजार पाँच सय ५५ विदेशी पर्यटक पुगेका थिए । गत वर्ष मनास्लु क्षेत्र भ्रमणको सिजन मानिने सेप्टेम्बरमा २ सय २९, अक्टोबरमा २ सय ५६ र नोभेम्बरमा २ सय ३ जना पर्यटक मनास्लु क्षेत्र पुगे । फेब्रुअरी, जुन र जुलाईमा भने एक जना पनि विदेशी पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेनन् । गत भदौयता मात्र उक्त क्षेत्र भ्रमण गर्नेको संख्या बढेको तथ्यांक छ ।

‘आगामी दिनमा पर्यटकको संख्या बढ्ने/घट्ने कोभिडको अवस्थाले निश्चित गर्छ,’ शाहले भने । निषेधित क्षेत्रका रूपमा रहेको मनास्लुलाई सरकारले सन् १९९५ देखि भ्रमणका लागि खुला गरेसँगै उक्त क्षेत्रमा बर्सेनि विदेशी पर्यटकको संख्या बढ्दै आएको थियो । २०७२ को भूकम्प गएको एक वर्ष र कोरोना महामारीको दुई वर्ष भने पर्यटकको संख्या घटेको छ । कोरोना महामारीको तेस्रो लहर सुरु हुँदा उक्त क्षेत्रका स्थानीय यो वर्ष पनि पर्यटकको संख्या घट्ने भन्दै निराश छन् । ‘पर्यटक भित्र्याउने भन्ने कुरा राजस्वमा मात्र निहित हुँदैन,’ शाह भन्छन्, ‘पर्यटक नआउँदा होटल व्यवसायी सबैभन्दा बढी समस्यामा परेका छन् । गाइड, पोर्टरले रोजगारी पाएका छैनन् । स्थानीय उत्पादन बिक्न पाएको छैन । सबै क्षेत्रमा असर गरेको छ ।’

संरक्षण क्षेत्रअन्तर्गत नुब्री र चुम उपत्यका पर्यटकले घुम्ने गरेका छन् । पर्यटकको संख्या घटेसँगै मनास्लु क्षेत्रमा होटल व्यवसायी समस्यामा परेका छन् । लाखौं रुपैयाँ लगानीमा खुलेका होटल सुनसान जस्तै बनेको चुमनुब्री गाउँपालिका–३ पेवाका सुमन गुरुङले बताए । ‘अघिल्लो वर्ष सुनसान नै थियो, यो वर्ष फाटफुट दैनिक दुई चार जना पर्यटक आए,’ उनले भने, ‘सिजनमा आउने हो, बाह्रै महिना पर्यटक आउने ठाउँ होइन । आम्दानीको अर्को बाटो छैन । सिजनमै पर्यटक नआएपछि समस्यामा छौं ।’मनास्लु क्षेत्रमा मात्र एक सय होटल छन् । सन् २०१५ मा भूकम्पले असर पुर्‍याएकामा सन् २०१९ अन्तिमदेखि कोभिडले पर्यटन क्षेत्र अस्तव्यस्त बनेको होटल व्यवसायी छिरिङ लामा बताउँछन् ।

‘अफ सिजनको कुरा छाडौं, सिजनमा पनि पर्यटक आएनन्,’ उनले भने, ‘यो बर्खाले बाटो पनि बिगारेको छ । मनास्लु हिमाल चढ्ने पर्यटकको सामान पनि हेलीबाट ढुवानी भयो । पैदलमार्गका होटलमा बस्ने पर्यटकको संख्या त्यसै पनि घटे ।’ पदमार्ग सुधारमा पनि जोड दिनुपर्ने उनको भनाइ छ । झन्डै ३ करोड रुपैयाँ खर्चिएर २०७१ बाट नामरुङमा होटल सञ्चालन गर्दै आएका छन् । कोभिडले व्यवसाय धरापमा परेकोमा उनी चिन्तित छन् । ‘कोभिडले बर्बाद बनायो । हामी आफ्नै घर भएकालाई ठूलो समस्या छैन, भाडामा बसेकाहरूको चाहिँ उठीबास लाग्ने अवस्था छ,’ उनले भने । मनास्लु क्षेत्रअन्तर्गतको चुम र नुब्री उपत्यका भ्रमणका लागि दुई साताको प्याकेजमा पर्यटक आउने गरेका छन् । चुम उपत्यका पुग्ने पैदलमार्गअन्तर्गत लोक्पाको पहिरोका कारण भदौ र असोज महिना उक्त क्षेत्र घुम्न पुगेका पर्यटक समस्यामा परे । केही पर्यटक भने जोखिम मोलेरै भए पनि चुम उपत्यका पुगेका थिए । उत्तरी क्षेत्रको भौगोलिक अवस्थिति, हिमशृंखला, सांस्कृतिक मठ, मन्दिर र गुम्बा अवलोकन पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर