नेभिगेसन मेनु

‘नेपालको ताजमहल’मा दुई वर्षपछि पर्यटकीय चहलपहल
समय:2021-11-13 04:39

देशव्यापीरुपमा गरिएको लकडाउन र निषेधाज्ञाका खुलेसँगै नेपालको ताजमहल मानिने रानीमहलमा चहलपहल बढेको छ । करिव २ वर्षसम्म सुनसान बन्न गएको रानीमहल यतिखेर भने आन्तरिक तथा बाह्य पर्यटकको चहलपहलले रौनक छाएको छ ।

जिल्ला सदरमुकाम तानसेनबाट १३ कि.मि.उत्तरमा कालीगण्डकीको तिरमा रहेको भिरालो चट्टानमा रानीमहल अवस्थित छ । तीनतले उक्त दरबार भारतको कलकत्तामा रहेका बेलायती इन्जिनियरहरुको डिजाईनबाट निर्माण गरिएको हो । दरबारमा २४ कोठा रहेका छन् । दरबारको एकातर्फको बुर्जाको जग कालीगण्डकी नदीमै रहेको छ । करिब ६ रोपनी क्षेत्रफल समेटेको दरबार भित्रै पोखरी, मन्दिर, बगैँचा, सित्तलपाटी, घोडा बाँध्ने तबेला, भक्तिनीहरु बस्ने स्थल आदि रहेका छन् ।

रानीमहल भनेर नसुनेको मान्छे सायदै कम होलान्, जोकोही पर्यटकहरुलाई एकपटक रानीमहलले आफूतर्फ आकर्षित गरेकै हुन्छ । तर महामारीका कारणा लामो समय सम्म सुनसान बनेको थियाे । अहिले यस क्षेत्रमा चहलपहल बढ्न थालेपछि त्यहाँका स्थानीय हर्षित बनेका मात्रै छैनन्, स्थानीय आयस्रोत समेत वृद्धि भएको  छ ।

रानीमहल घुम्न आउने पर्यटकहरुलाई मध्यनजर गर्दै संचालनमा आएका रिसाेर्ट तथा पसलहरुमा समेत आर्थिक चहलपहल सुरु भएको छ । अहिले दैनिक रूपमा रानीमहलमा दुइ-तीन सय आन्तरिक तथा बाह्य पर्यटकहरु रानीमहल घुम्न आउने गरेका छन् । छुट्टीकाे दिन पिकनिक खानेसहित घुम्न आउने ६ सय जनाभन्दा बढी हुने गरेकाे स्थानीय व्यवसायी विमल पाण्डेको भनाइ छ ।

अव्यवस्थित र जीर्ण

रानीमहललाई नेपालको ताजमहल भनेर समेत चिनिन्छ ।  रमणीय स्थल रहेकोले जो-कोहीको पनि मन सजिलै लोभ्याउन सक्ने यस स्थानसम्म आइपुग्दा भौतिक पुर्वाधारका कारण दुःख पाएको र रानी महल क्षेत्र अलि व्यवस्थित नभएको गुनासो भने घुम्न आएका पर्यटकहरुले गर्छन् ।

रानीमहल जीर्ण बन्दै गएपछि र भए गरेका सामानहरु समेत चोरी हुनथालेपछि रानीमहल अहिले स्थानिय सरकार तानसेन नगरपालिकाको स्वमीत्वमा रहेको छ ।

म्यूजियम राख्ने तयारी

तानसेन नगरपालिकाले रानीमहलको जिम्मा लिएसँगै रानीमहल क्षेत्र आवतजावतको लागि बाटोको मर्मत-सम्भारका साथै दरबार परिसर सरसफाई गरिएकाे छ । साथै रानीमहलभित्रै इन्टनेट, खानेपानी तथा बिजुलीको समेत व्यवस्थापन गर्न थालेको छ । दरबारभित्रै खड्ग शम्शेर राणा र तेज कुमारीको फोटोसहित पुराना राणाकालिन साम्रग्री सहितको म्यूजियम समेत राख्ने तयारी गरिएको छ, जसका कारण थप पर्यटक भित्र्याउन र रानीमहललाई थप आर्कषणको केन्द्रविन्दु बनाउन सकिने तानसेन नगरपालिकाका वातावरण तथा सरसफाई अधिकृत शंकर भण्डारी बताउँछन् ।

प्रेम जोडीहरुको प्रमुख गन्तव्य

पाल्पा गौडाका तैनाथवाल प्रधान सेनापति खड्ग शमशेरले आफ्नी दिवंगत रानी तेजकुमारीको सम्झनामा वि.सं. १९४९ मा शुरु गरी ५ वर्ष लगाएर वि.स. १९५४ सालमा रानीमहल निर्माण पूरा गरेका थिए । सच्चा प्रेमको प्रतीक ठानिने रानीमहल प्रेम जोडीहरुको प्रमुख गन्तव्य मानिँदै आएको छ । अहिले रानीमहलमा दैनिक सयौँ पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ । विशेष गरी कार्तिक र मंसिर महिनालाई पर्यटनको सिजनको रुपमा पनि लिने गरिन्छ ।

पाल्पा जिल्लाकै सबैभन्दा बढी पर्यटक भित्र्याउन सक्ने सम्भावना रहेको रानीमहललाई भौतिक पूर्वाधारदेखि लिएर सुविधासम्पन्न बनाउन सकिएको खण्डमा जिल्लामा पर्यटकको आगमन वृद्धि हुनेर र स्थानीय स्तरमा रोजगारीसहित राम्रो आयआर्जनको बाटो खुल्ने दखिन्छ । यसको लागि समयमै सरोकारहरुले ध्यान दिन जरुरी छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर