नेभिगेसन मेनु

सराय नाचको महिमा
सम्पादक:南亚网络电视
समय:2026-10-29 13:38

 

 Sarae-nach-Argakhanchi

अर्घाखाँची, कात्तिक १२ गते । पश्चिम नेपालमा ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको सराय नाच कोजाग्रत पूर्णिमाको अवसरमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीका विभिन्न कोतघर तथा देवीका शक्तिपीठमा विशेष पूजाआजा र पूर्णिमा मेला आयोजना गरी यस वर्षको सराय नाच सम्पन्न गरिएको हो ।

दसैँको टीकाको भोलिपल्टदेखि सुरु हुने सराय नाच कोजाग्रत पूर्णिमासम्म सञ्चालन गर्ने परम्परा छ । अर्घाखाँचीसहित गुल्मी, पाल्पालगायत पश्चिम नेपालका विभिन्न जिल्लामा प्रचलित यो नाच धार्मिक आस्था, ऐतिहासिक विरासत र मौलिक संस्कृतिसँग जोडिएको छ । खुँडा, भाला, तरबारलगायत परम्परागत हतियार प्रदर्शन गर्दै युद्धकला झल्किने गरी नाचिने सरायले दसैँको रौनकलाई पूर्णिमासम्म कायम राख्ने गरेको छ । यस वर्ष अर्घाखाँचीको अर्घा भगवती मन्दिरमा आयोजित पूर्णिमा मेलाको अन्तिम दिन हजारौँ भक्तजन तथा दर्शकको उपस्थितिमा सराय नाच प्रदर्शन गरिएको थियो । अर्घा र भण्डारथुममा लाग्ने पूर्णिमा मेला तथा सराय नाच जिल्लाकै प्रमुख धार्मिक र सांस्कृतिक आकर्षणका रूपमा परिचित छन् ।

अर्घाभगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालका अनुसार पूर्णिमा मेलामा अर्घाखाँचीसहित गुल्मी, पाल्पा, प्युठान, कपिलवस्तु र रुपन्देहीलगायत जिल्लाबाट भक्तजन तथा दर्शक आउने गरेका छन् । भारतबाट समेत दर्शनार्थी आउने यस मेलामा करिब ५० देखि ६० हजारभन्दा बढी भक्तजनको सहभागिता रहेको उहाँले बताउनुभयो । भुसालका अनुसार पश्चिम नेपालमै प्रख्यात सराय नाच र अर्घाको पूर्णिमा मेलाको महत्व धार्मिक ग्रन्थ तथा विभिन्न पात्रोमा समेत उल्लेख भएकाले यसको ऐतिहासिक र सांस्कृतिक गरिमा थप बढेको छ । सराय नाचको सुरुवातबारे विभिन्न धार्मिक जनविश्वास प्रचलित छन् । 

राक्षसमाथि सत्यको विजय भएपछि विजयको उत्सवस्वरूप कोतघर तथा मन्दिरमा हतियार प्रदर्शन गर्दै नाच्ने परम्परा सुरु भएको जनविश्वास छ । सन्धिखर्क नगरपालिका–७ का अध्यक्ष तथा खाँची मन्दिर समितिका संरक्षक चुरा केसीले नाचमा प्रयोग गरिने खुँडा, भाला र तरबारले परम्परागत युद्धकला तथा वीरताको स्मरण गराउने बताउनुभयो । ऐतिहासिक रूपमा बाइसे–चौबिसे राज्यकालदेखि नै दसैँको अवसरमा सराय नाच्ने परम्परा रहिआएको स्थानीयको विश्वास छ । कोजाग्रत पूर्णिमाका दिन सराय नाच प्रदर्शन गरेर विजयादशमी अर्थात् दसैँलाई औपचारिक रूपमा बिदाइ गर्ने चलन छ । अर्घाखाँचीका पूर्वी क्षेत्रका विभिन्न कोत, अर्घा र भण्डारथुममा हुने सराय नाचले यस क्षेत्रको सांस्कृतिक पहिचानलाई जीवन्त राखेको छ ।

धार्मिक आस्था, ऐतिहासिक परम्परा र सामूहिक सहभागिताको प्रतीकका रूपमा रहेको सराय नाचले नयाँ पुस्तालाई मौलिक संस्कृतिसँग जोड्नसमेत महत्वपूर्ण भूमिका खेल्दै आएको छ । पुस्तौँदेखि निरन्तर चल्दै आएको यो परम्परा अर्घाखाँचीको पहिचानसँग जोडिएको सांस्कृतिक सम्पदाका रूपमा स्थापित छ ।   

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी