
पश्चिम नवलपरासीमा लामो समयदेखि जग्गाको स्वामित्वबाट वञ्चित भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको विवरण अभिलेखीकरण गरिएको छ ।
जिल्ला भूमि समस्या समाधान समितिका अनुसार जिल्लाभर हालसम्म २४ हजार ९५ परिवारको लगत प्रविष्टि गरिएको छ । अभिलेखीकरण गरिएका परिवारमध्ये १९ हजार ६०९ अव्यवस्थित बसोबासी, दुई हजार ८५२ भूमिहीन सुकुम्वासी र एक हजार ६३५ भूमिहीन दलित परिवार रहेका छन् ।
स्थानीय तहगत विवरणअनुसार सबैभन्दा बढी बर्दघाट नगरपालिकामा आठ हजार ५३ परिवारको लगत संकलन भएको छ। त्यस्तै सुनवल नगरपालिकामा छ हजार ५६९, सरावल गाउँपालिकामा दुई हजार ८५९, सुस्ता गाउँपालिकामा दुई हजार ६६५, रामग्राम नगरपालिकामा एक हजार ८०६, प्रतापपुर गाउँपालिकामा एक हजार ३८४ र पाल्हीनन्दन गाउँपालिकामा ४५९ परिवारको लगत प्रविष्टि गरिएको छ ।
जिल्ला भूमि समस्या समाधान समिति पश्चिम नवलपरासीले आयोजना गरेको सरोकारवालासँगको छलफल कार्यक्रममा प्रतिनिधिसभा सदस्य विक्रम खनालले भूमिहीन नागरिकको जग्गामाथिको स्वामित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।
लामो समयदेखि लालपुर्जाविहीन अवस्थामा रहेका हजारौँ नागरिकको समस्यालाई गम्भीरतापूर्वक लिनुपर्ने उल्लेख गर्दै उहाँले लगत संकलनले वास्तविक हकदार पहिचान गर्ने आधार तयार गरेको बताउनुभयो । प्राविधिक कामलाई सहज बनाउँदै राजनीतिक दल तथा सरोकारवालाबिच समन्वय गरेर लालपुर्जा वितरणको प्रक्रिया तीव्र बनाउनुपर्ने उहाँको भनाइ थियो ।
अर्का प्रतिनिधिसभा सदस्य नरेन्द्रकुमार गुप्ताले लगत प्रमाणीकरणको प्रक्रियालाई पारदर्शी र विवादरहित बनाउनुपर्ने बताउनुभयो । वास्तविक भूमिहीन नछुट्ने र गैरहकदारले अनुचित लाभ लिन नपाउने व्यवस्था गर्न स्थानीय जनप्रतिनिधि तथा नागरिक समाजसँग सहकार्य आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।
प्रतिनिधिसभा सदस्य रिंगला यादवले वर्षौँदेखि जग्गाको स्वामित्वबाट वञ्चित नागरिकको समस्या समाधान गर्न सबै पक्ष एकजुट हुनुपर्ने बताउनुभयो । वास्तविक भूमिहीनले मात्रै जग्गा प्राप्त गर्ने सुनिश्चित गर्दै प्रक्रिया छिटो टुङ्ग्याएर नागरिकलाई लालपुर्जा वितरण गर्नुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा आयोगका केन्द्रीय अध्यक्ष बलभद्र बास्तोलाले लगत संकलनको काम सन्तोषजनक रूपमा अघि बढ्न नसकेको बताउनुभयो । अब वडा तहबाट आवश्यक छानबिन, जग्गाको नापजाँच र प्रमाणीकरणलाई पारदर्शी तथा तीव्र गतिमा अघि बढाउनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले लगत प्रविष्टिको काम सम्पन्न भएसँगै समिति वडा तहको छानबिन र जग्गा नापजाँचमा केन्द्रित भएको जानकारी दिनुभयो । भूमिहीन नागरिकलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा उपलब्ध गराएर उनीहरूको अधिकार सुनिश्चित गर्न प्रशासन प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
त्यसैगरी, समितिका सदस्य सचिव एवं प्रमुख नापी अधिकृत किशनसिंह बिष्टले प्राविधिक कामले गति लिएको जानकारी दिनुभयो । अमिनहरूलाई फिल्डमा खटाएर जग्गाको नापजाँच, वर्गीकरण तथा फिल्डबुक तयार पार्ने काम भइरहेको उहाँले बताउनुभयो । प्राविधिक जनशक्तिको व्यवस्थापन र लगत प्रमाणीकरणलाई पनि तीव्रता दिइएको उहाँको भनाइ थियो ।
उहाँका अनुसार वर्षौँदेखि जमिन भोगचलन गर्दै आए पनि कानुनी स्वामित्व प्राप्त गर्न नसकेका हजारौँ परिवारले प्रक्रिया अघि बढेसँगै राहत महसुस गरेका छन् ।
















