नेभिगेसन मेनु

अद्यावधिक छैनन् सरकारी वेबसाइट
समय:2026-11-24 13:36

office-mugu-hari-(1)-(2)

जिल्लाका अधिकांश सरकारी कार्यालय तथा चार वटै स्थानीय तहका आधिकारिक वेबसाइट अद्यावधिक गरिएको छैन । ती बेवसाइटमा कार्यालय प्रमुख र सूचना अधिकारीका सम्पर्क विवरण उपलब्ध छैनन् । सम्पर्क नम्बर नहुँदा सेवाग्राहीलाई सम्बन्धित कार्यालयमा सम्पर्क गर्न तथा आवश्यक सूचना प्राप्त गर्न कठिनाइ हुने गरेको छ ।

छायानाथ रारा नगरपालिका, मुगुमकार्मारोङ गाउँपालिका, सोरु गाउँपालिका, खत्याड गाउँपालिका तथा रारा राष्ट्रिय निकुञ्ज कार्यालयका आधिकारिक वेबसाइटमा कार्यालय प्रमुख र सूचना अधिकारीको सम्पर्क विवरण राखिएको छैन । 

कतिपय वेबसाइटमा सम्पर्क नम्बर राखिए पनि गलत नम्बर उल्लेख गरिएको पाइएको नेपाल पत्रकार महासङ्घ मुगुका संस्थापक अध्यक्ष विनोदकुमार मल्लले बताउनुभयो । सार्वजनिक निकायले नागरिकलाई सहज रूपमा सूचना उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्थाविपरीत वेबसाइटमा सम्पर्क विवरण नराखिएको उहाँको भनाइ छ । 

सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ ले सार्वजनिक प्रशासनलाई पारदर्शी, जवाफदेही र जनमुखी बनाउनुपर्ने व्यवस्था गरेको छ । सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ६ मा सार्वजनिक निकायले सूचना प्रवाह गर्ने प्रयोजनका लागि सूचना अधिकारीको व्यवस्था गर्नुपर्ने उल्लेख छ । सूचना अधिकारीले सार्वजनिक निकायमा रहेका सूचना नागरिकलाई उपलब्ध गराउने जिम्मेवारी निर्वाह गर्नुपर्ने कानुनी व्यवस्था भए पनि जिल्लाका स्थानीय तह तथा सरकारी कार्यालयका वेबसाइटमा सम्पर्क विवरण नहुँदा नागरिकले आवश्यक सूचना प्राप्त गर्न समस्या भोग्नु परेको मल्लले बताउनुभयो ।  वेबसाइटमा गलत सम्पर्क नम्बर राख्ने तथा विवरण अद्यावधिक नगर्ने सार्वजनिक निकायलाई कानुन अनुसार कारबाही गर्नुपर्ने मागसमेत उहाँले गर्नुभयो । 

यसै गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई सूचना अधिकारी तोकी आफ्नो कार्यालयको आधिकारिक वेबसाइटमा विवरण राख्न निर्देशन दिएको छ । जिल्लाका अधिकांश सरकारी कार्यालय तथा स्थानीय तहका वेबसाइटमा सम्पर्क विवरण उपलब्ध नहुँदा नागरिकले सामान्य जानकारी लिनसमेत कार्यालयमै पुग्नुपर्ने बाध्यता छ । मुगुमकार्मारोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव सुनारले केन्द्रबाटै वेबसाइटमा समस्या आएकाले यस्तो अवस्था आएको बताउनुभयो । केही दिनभित्रै कार्यालय प्रमुख र सूचना अधिकारीको नाम तथा सम्पर्क विवरण वेबसाइटमा राखिने जानकारी उहाँले दिनुभयो ।

छायानाथ रारा नगरपालिकाका सूचना प्रविधि (आइटी) शाखा प्रमुख तीर्थराज शाहीका अनुसार सूचना तथा सञ्चार विभागबाटै गत महिनादेखि देशभरका स्थानीय तहका वेबसाइटमा समस्या आएको हो । केही दिनभित्रै वेबसाइट नियमित सञ्चालनमा आउने उहाँले बताउनुभयो । 

जिल्ला प्रशासन कार्यालय मुगुका सूचना अधिकारी एवं निमित्त प्रमुख जिल्ला अधिकारी धनकृष्ण पाण्डेले जिल्लाका चार वटै स्थानीय तह तथा सरकारी कार्यालयका कार्यालय प्रमुख र सूचना अधिकारीका आधिकारिक सम्पर्क नम्बर वेबसाइटमा राख्ने विषय आगामी महिनाको कर्मचारी बैठकमा उठाइने बताउनुभयो ।

सार्वजनिक निकायका वेबसाइटमा सम्पर्क विवरण उपलब्ध नहुँदा विशेष गरी दुर्गम क्षेत्रका नागरिकलाई सूचना प्राप्त गर्न थप समस्या हुने गरेको छ । नागरिकको सूचनामा सहज पहुँच सुनिश्चित गर्न सरकारी कार्यालय तथा स्थानीय तहले वेबसाइटमा कार्यालय प्रमुख र सूचना अधिकारीको नाम, पद तथा आधिकारिक सम्पर्क विवरण नियमित रूपमा अद्यावधिक गर्नुपर्ने आवश्यकता देखिएको छ ।    

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी