
दक्षिण एशीया नेटवर्क टेलिभिजन, काठमाडौ असोज २६ गते । दिल्ली मेट्रोमा ज्येष्ठ नागरिकका लागि आरक्षित सिटमा बस्ने विषयमा विवाद हुँदा ४८ वर्षीय पुरुषको मृत्यु भएको छ। प्रहरीका अनुसार झगडाका क्रममा पवन शर्माको मृत्यु भएको हो।
उनलाई थप्पड र धकेलेको आरोपमा प्रहरीले पूर्वआईएएस अधिकारी सञ्जयप्रताप सिंह र उनका छोरा सिद्धार्थ सिंहलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार घटना अक्टोबर ८ मा सर्वोच्च अदालत मेट्रो स्टेसनमा भएको हो। समाचार एजेन्सी पीटीआईका अनुसार मेट्रोका कर्मचारीहरूले घाइते पवन शर्मालाई एम्बुलेन्सबाट लोक नायक जयप्रकाश अस्पताल लगेका थिए, तर डाक्टरहरूले उनलाई मृत घोषणा गरे।
पवन शर्माकी आमा दुर्गा शर्माको उजुरीका आधारमा प्रहरीले अक्टोबर ९ मा एफआईआर दर्ता गर्दै दुवै अभियुक्तलाई पक्राउ गरेको हो।
प्रहरी स्रोतका अनुसार सञ्जय प्रतापसिंह पूर्वआईएएस अधिकारी हुन् र उनलाई पहिले घुसको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले पक्राउ गरेको थियो। उनका छोरा सिद्धार्थ सिंह सर्वोच्च अदालतमा वकालत गर्छन्। प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ।


















