
मकवानपुर, भदौ १० गते । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले पवित्र पर्वहरूले एकताको भावनालाई थप प्रगाढ बनाउन महत्वपूर्ण योगदान पुर्याउने बताउनुभएको छ।
इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बरको जन्मजयन्ती (मोहम्मद जयन्ती) का अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै उहाँले यस्तो बताउनुभएको हो।
उहाँले यस्ता पवित्र पर्वहरूले विभिन्न धर्म, संस्कृति र समुदायबिच आपसी सद्भाव, समझदारी र एकताको भावनालाई थप प्रगाढ बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने बताउनुभयो।
स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम धर्मावलम्बीमा सुख, शान्ति, समृद्धि र प्रगतिका लागि शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री थापा मगरले नेपालको बहुजातीय, बहुभाषिक र बहुधार्मिक विविधता नै राष्ट्रिय पहिचान भएको उल्लेख गर्नुभएको छ।
अनेकतामा एकता, सहिष्णुता र आपसी भाइचारा हाम्रा मौलिक विशेषता भएको बताउँदै उहाँले हजरत मोहम्मदले समाजमा शान्ति, आत्मीयता, दया र सामाजिक न्याय कायम गर्न दिनुभएको सन्देश आजको सन्दर्भमा अझ बढी सान्दर्भिक रहेको बताउनुभयो।
विशेषगरी मुस्लिम समुदायमा रहेको ‘सदका’ (दान तथा परोपकार) को परम्परा अनुकरणीय रहेको मुख्यमन्त्री थापा मगरको भनाइ छ। असहाय, विपन्न तथा गरिब वर्गलाई खाद्यान्न, कपडा तथा आर्थिक सहयोग पुर्याएर मुस्लिम समुदायले धार्मिक दायित्वका साथै राज्यले बोक्नुपर्ने सामाजिक सुरक्षाको दायित्वमा समेत ठुलो सघाउ पुर्याएको उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ।
बागमती प्रदेश सरकार प्रदेशभित्रका सबै धर्म, भाषा, संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन र विकासका लागि सदैव प्रतिबद्ध रहेको स्पष्ट पार्दै मुख्यमन्त्री थापा मगरले यस पावन पर्वले समृद्ध बागमती प्रदेश निर्माण र राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ।


















