नेभिगेसन मेनु

मधेशमा रक्षाबन्धनको रौनक
सम्पादक:南亚网络电视
समय:2026-08-24 13:38

 

 Rakhi-1

राजविराज, भदौ ८ गते। साउन शुक्ल पूर्णिमा नजिकिँदै गर्दा मधेशका जिल्लाका बजार, गाउँ–टोल र बस्तीमा रक्षाबन्धनको रौनक छाउन थालेको छ। दाजुभाइ तथा दिदीबहिनीबिचको प्रेम, आत्मीयता र विश्वासको प्रतीक मानिने रक्षाबन्धनको तयारीसँगै यहाँका बस्तीमा पर्वसँग सम्बन्धित गीत तथा धुन गुञ्जिन थालेका छन्।

रक्षाबन्धनको दिन नजिकिँदै जाँदा सहरदेखि गाउँसम्मका पान पसल, किराना पसल तथा अन्य सार्वजनिक स्थलमा रक्षाबन्धनका गीत बज्न थालेका छन्। सामान्य दिनमा विभिन्न किसिमका गीत तथा सङ्गीत बज्ने पसलमा समेत पर्वको माहोल झल्काउने धुनले स्थान पाउन थालेको छ।

सप्तरीको रूपनी गाउँपालिका–२ का देवनारायण साहका अनुसार केही दिनयता बजार क्षेत्रमा रक्षाबन्धनका गीत बढी सुनिन थालेका छन्। “पसलमा आउने ग्राहकले पनि रक्षाबन्धनकै गीत सुन्न रुचाउँछन्। पर्व नजिकिएसँगै यसको धुनले बजारको वातावरण नै फेरिएको छ,” उहाँले भन्नुभयो।

स्थानीय एफएम रेडियो तथा मोबाइलमा समेत रक्षाबन्धनसँग सम्बन्धित गीतको माग बढेको छ। स्थानीय एफएम सञ्चालक दीपक गुप्ताका अनुसार पर्व नजिकिएपछि श्रोताको रुचिसमेत त्यसैअनुसार परिवर्तन भएको छ। रक्षाबन्धनका गीत बजाउन श्रोताबाट आग्रह आउने गरेको उहाँले बताउनुभयो।

पर्वको तयारीमा दाजुभाइ तथा दिदीबहिनी पनि जुटिसकेका छन्। राजविराज–७ की रञ्जुकुमारी रक्षाबन्धनका लागि आवश्यक सामग्रीको जोहोमा लाग्नुभएको छ। दिदीबहिनीले भाइका लागि राखी, मिठाइ तथा अन्य सामग्रीको तयारी गर्ने र भाइले पनि दिदीबहिनीलाई उपहार दिने भएकाले यो पर्वको छुट्टै उत्साह हुने उहाँको भनाइ छ।

बजारमा पनि रक्षाबन्धन लक्षित सामग्रीको कारोबार बढ्न थालेको छ। व्यवसायीले विभिन्न डिजाइन र रङका रेडिमेड राखी बिक्रीका लागि ल्याएका छन्। आकर्षक डिजाइनका राखी तथा विभिन्न किसिमका सजावटी सामग्रीले पसल सजिन थालेका छन्।

तर, परम्परागत धागोबाट बनाइने राखीप्रतिको आकर्षण भने पछिल्ला वर्षमा केही घटेको व्यवसायी बताउँछन्। राजविराजका व्यवसायी अजयकुमार साहका अनुसार ग्राहकको रोजाइमा अहिले विभिन्न डिजाइन, रङ र आकारका रेडिमेड राखी बढी पर्ने गरेका छन्। परम्परागत धागोका राखीको बिक्री तुलनात्मक रूपमा कम हुने गरेको उहाँको अनुभव छ।

रक्षाबन्धनले दाजुभाइ तथा दिदीबहिनीबिचको आत्मीय सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिन्छ। दिदीबहिनीले भाइको हातमा राखी बाँधेर दीर्घायु, सुख, समृद्धि र सफलताको कामना गर्ने तथा भाइले दिदीबहिनीको संरक्षण र सम्मान गर्ने प्रतिबद्धता जनाउने परम्परा छ।

राखी बाँधेपछि दाजुभाइले आफ्नो गच्छेअनुसार दिदीबहिनीलाई कोशेली तथा उपहार दिने चलनसमेत छ। मिठाइ, कपडा, नगद तथा अन्य उपहार आदानप्रदान गरेर पर्व मनाउने गरिन्छ। पछिल्लो समय उपहारको स्वरूपमा विविधता आए पनि दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयता नै पर्वको मूल भावका रूपमा रहेको छ।

मधेशमा रक्षाबन्धनको आफ्नै मौलिक सामाजिक तथा सांस्कृतिक विशेषता छ। विभिन्न समुदायले आ–आफ्नो परम्परा र संस्कृतिअनुसार पर्व मनाउँदै आए पनि दाजुभाइ तथा दिदीबहिनीबिचको स्नेह, विश्वास र पारिवारिक सम्बन्धलाई जोड दिने साझा भाव यस पर्वमा देखिन्छ।

पण्डित बद्रीनारायण झाका अनुसार साउन शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन यस वर्ष भदौ १२ गते शुक्रबार परेको छ। पर्वको मिति नजिकिँदै जाँदा बजारमा राखी तथा मिठाइको कारोबार बढ्दै गएको छ भने गाउँ–टोलमा पर्वसँग सम्बन्धित गीतका धुनले वातावरणलाई थप उल्लासमय बनाएको छ।

आधुनिकतासँगै राखीको स्वरूप र उपहारको शैलीमा परिवर्तन आए पनि रक्षाबन्धनले बोकेको दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र आत्मीयताको भाव भने पुस्तौँदेखि निरन्तर रहँदै आएको ६७ वर्षीय प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाले बताउनुभयो। मधेशमा गुञ्जिन थालेको रक्षाबन्धनको धुनले यही पुरानो आत्मीयतालाई नयाँ पुस्तासम्म जोडिरहेको उहाँको भनाइ छ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर