
काठमाडौँ, भदौ २ गते । विगत दश वर्षदेखि थारु समुदायले काठमाडौँमा गुरही पर्व मनाउँदै आएको छ । थारु समुदायले मनाउने पर्व मध्ये गुरही एक विशिष्ट सांस्कृतिक पहिचान बोकेको पर्व हो ।
विशेषगरी पश्चिम नेपालका पाँच जिल्लामा बसोबास गर्ने थारु समुदायले यो पर्वलाई विशेष महत्त्वका साथ मनाउने गर्छन् । थारु समुदायले मनाउने पर्वहरुमा जिउँदो सांस्कृतिक इतिहास रहेको कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीेले बताउनुभएको छ । “हामी आफ्नो करियर बनाउँदा संस्कृति बिर्सिन्छौँ, बिर्सनु भएन” उहाँले भन्नुभयो, “जिउँदो संस्कृति थारु समुदायमा छ ।” संस्कृतिमा थारु समुदाय धनी भए पनि दस्तावेजिकरणको भने निकै अभाव रहेको उहाँले औल्याउनुभयो ।
उहाँले आज आफू यहाँसम्म आइपुग्नुमा सांस्कृतिक पहिचान नै मुख्य आधार रहेको बताउनुभयो । “मैले थारु भाषामा ड्यासमा उभिएर बोल्न जानेको यस्तै कार्यक्रमबाट हो” मन्त्री चौधरीेले भन्नुभयो, “पहिले मलाई थारु भाषा आउदैनथ्यो ।”
गुरही श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीको दिन मनाइन्छ । थारु समाजमा गुरही पूजा हुने गरेको लेखक तथा अनुसन्धाता शत्रुधन चौधरीले बताउनुभयो । उहाँका अनुुसार गुरही शब्दको अर्थ थारु भाषामा एक प्रकारकोे सुन्तला वा खैरो रङको उड्ने किरा हो । अनुसन्धाता चौधरीले भन्नुभयो,“काठमाडौँको इतिहासमा वि.सं. २०७२ सालमा पहिलो पटक कैलाली कञ्चनपुर मैगर समाजका अध्यक्ष एन्जल कुश्मीको संयोजकत्वमा गुरही पर्व मनाउने शुरुवात भएको हो ।” गुरही पर्वमा पूजा गर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, रोगव्याधी महामारी घरमा प्रवेश नगर्ने जनविश्वास रहिआएको छ ।
गुरही असरैना कार्यक्रम धनगढीमा भव्य तरिकाले मनाउने गरेको थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य प्रभात चौधरीले बताउनुभयो । “थारु कल्याणकारिणी सभा कैलालीको सभापति हुँदा मेरै पालामा गुरही चोकको नामाकरण भएको हो, अहिले त्यही चोकमा भव्य कार्यक्रम हुन्छ” उहाँले भन्नुभयो, “गुरही भाइबैनीको मायाको प्रतीक हो ।” गुरहीमा विभिन्न सांस्कृतिक नाचगान पनि देखाइन्छ । गुरही पर्व खासगरी बालबालिकासँग सम्बन्धित मानिन्छ, तर काठमाडौँमा सबै उमेर समूहका मानिसहरूले यो पर्व मनाउने गरेका छन् ।
गुरही पर्वको दिन बिहानै नुहाइधुवाइ गरी शुद्ध भइन्छ । महिलाले रङ्गीचङ्गी कपडाका टुक्राबाट ‘गुरही’ अर्थात् पुतली बनाउँछन् । केटाहरुले बाबियो वा जुटको प्रयोग गरी गुरही पिट्ने (कोर्रा) स्वता लट्ठी बनाउँछन् । युवतीहरु नयाँ कपडा लगाएर ढकियामा भुजा, मकै, केराउ, चना र कपडाको गुरही लिएर काठमाडौँको बुद्धनगरमा भेला भएर गुरही पर्व मनाएका छन् ।


















