एस् ए टी भी ०८ वैशाख, काठमाडौँः ऋतुहरूमध्ये सबैभन्दा रुचाइने वसन्त ऋतु हो। यो नयाँ पालुवा पलाउने समय मानिन्छ। वसन्तको आगमनसँगै नयाँ पालुवाले वातावरणमा स्वच्छन्दता थपिदिएको छ। घरका आँगन, गमला र सडक छेउछाउमा फुलेका फूलले सौन्दर्य थपेका छन्।
गाउँघरमा रुखविरुवाका पुराना पात झर्दै नयाँ पालुवा पलाउन थालेका छन्। यतिबेला जुम्लाका किसानका बगैंचामा स्याउ, आरु, ओखरजस्ता फलफूलका चिचिला लाग्न फूल फुल्न थालेका छन्। फूलले बोट लटरम्म बनाएको देखिन्छ। रंगीचंगी फूलहरूले नयाँ उमंग थपेका छन्। यो मौसममा फूलले सुन्दरता दिन्छ। वसन्त ऋतुको सुन्दर पक्ष प्राकृतिक सौन्दर्य नै हो। वसन्तमा बहार आउँछ, न गर्मी न चिसो, ठिक्कको मौसम। यतिबेला प्रकृतिले काँचुली फेर्छ। यो सबैभन्दा रमाइलो र मनमोहक ऋतु हो। जुम्लामा अहिले स्याउका बोट फूल्दा वातावरण मनोरम देखिन्छ।
जुम्लाको स्याउ स्वादिलो र स्वस्थकर हुन्छ। चैत-वैशाखमा स्याउ फुलेर सेताम्य हुन्छ भने भदौमा पाकेर बगैंचा राताम्य देखिन्छ। स्याउका सेताम्य फूल हेर्न आन्तरिक र बाह्य पर्यटक बगैंचामै पुग्छन्। जुम्लामा २०२२ देखि स्याउखेती सुरु भएको इतिहास छ। भारतको कश्मीरबाट स्याउका बिरुवा ल्याएर जुम्लाको माटोमा रोप्दा राम्रो फल दिएपछि स्याउखेती प्रारम्भ भएको बुढापाकाले बताएका छन्। अहिले जुम्लाको चन्दननाथ नगरपालिका, सात गाउँपालिका र ६० वटै वडामा स्याउखेती हुन्छ। कृषि विकास कार्यालयले ‘एक घर एक बगैंचा’ कार्यक्रम अघि बढाएपछि किसान स्याउखेतीतर्फ आकर्षित छन्।
२०६४ मा जुम्लालाई अर्गानिक जिल्ला घोषणा गरिएपछि अर्गानिक स्याउ उत्पादन भइरहेको छ। गोल्डेन, रेड, रोयल, जोनाथान, कक्स ओरेन्ज टिपिन, म्याकन्ज जातका स्याउ फल्छन्। पछिल्लो समय इटालियन फुजी र गाला जातका स्याउ पनि फल्न थालेका छन्। जुम्लाको स्याउ काठमाडौं, सुर्खेत, नेपालगन्ज, पोखरालगायत देशका अन्य सहरमा पुग्छ। ‘कर्णाली राजमार्ग सञ्चालनमा आएपछि जुम्लाको स्याउ ठूला सहरमा पुर्याउने अवस्था छ। दशकअघिसम्म सडक सञ्जाल नजोडिएकाले जहाजबाट स्याउ ढुवानी गरिन्थ्यो। जहाजबाटै निर्यात गरेर लाखौँ रुपैयाँ आम्दानी हुन्थ्यो। कर्णाली राजमार्ग कालोपत्रे भएपछि सजिलै निर्यात हुने भएकाले किसानको आकर्षण स्याउखेतीमा बढेको छ। आफूले फलाएको स्याउले बजार पाउने र निर्यात हुने भएपछि किसान उत्साहित छन्,’ कृषि प्राविधिकले बताए।
जुम्लाले यो वर्ष ६१ करोड रुपैयाँभन्दा बढी मूल्यको स्याउ बेचेको छ। कृषि विकास कार्यालय जुम्लाका अनुसार ६१ करोड ४१ लाख ५ हजार रुपैयाँको स्याउ बिक्री भएको हो। तथ्यांकअनुसार ४ हजार २ सय ५० हेक्टरमा रोपिएको स्याउबाट २० हजार ५ सय ११ मेट्रिक टन ४६ क्विन्टल स्याउ उत्पादन भएको थियो। त्यसमध्ये ९ हजार ३ सय ९१ मेट्रिक टन स्याउ जिल्लाबाहिर निर्यात भएको थियो। ट्रक, बस, जिप, हाइस र जहाजबाट स्याउ निर्यात भएको तथ्यांक छ।
बगैंचामै किसानले प्रतिकेजी सरदर ६५ रुपैयाँमा स्याउ बेचेका थिए। बसबाट १ हजार ६ सय ६० मेट्रिक टन, जिप र हाइसबाट ६६४ मेट्रिक टन, जहाजबाट ७४ मेट्रिक टन र मालवाहक ट्रकबाट ६ हजार ९ सय ९३ मेट्रिक टन स्याउ निर्यात भएको थियो। साउनको ४ दिन, भदौको ३१ दिन, असोजको ३० दिन र कात्तिकको १८ दिन गरी ८३ दिनसम्म जुम्ली स्याउ निर्यात भएको थियो। ८ सय ३७ व्यापारीले किसानको स्याउ बजारमा लगेका थिए। एक किसानले न्यूनतम ५० हजारदेखि १२ लाख रुपैयाँसम्म स्याउ बेचेको तथ्यांक छ।
जुम्ली स्याउमा प्राकृतिक प्रकोप असिनाले कोपिला झार्ने समस्या छ। यो समय स्याउको फूल फुल्ने र कोपिला लाग्ने बेला हो। जुम्लामा १६ हजार स्याउ बगैंचा छन्। १८ हजार घरधुरीमध्ये करिब १६ हजार घरमा स्याउ बगैंचा स्थापना भएको कृषि कार्यालयले जनाएको छ।