नेभिगेसन मेनु

भारतबाट पाइपबाटै पेट्रोल आयात सुरु
सम्पादक:南亚网络电视
समय:2025-03-14 12:00

petrol

एस् ए टी भी १ चैत, काठमाडौँः नेपाल आयल निगमले पाइपलाइनमार्फत भारतबाट पेट्रोल आयात सुरु गरेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट २०७४ सालदेखि डिजेल आयात गर्दै आएको निगमले हालै पाइपबाट पेट्रोल पनि ल्याएर बिक्री गर्न थालेको हो। पाइपलाइनभन्दा अघि ट्यांकरबाट पेट्रोलियम पदार्थ आयात गरिन्थ्यो।

नेपाल आयल निगम मधेस प्रदेश कार्यालय बारा अमलेखगन्जमा आवश्यक पूर्वाधार निर्माण सम्पन्न भएपछि पाइपबाट पेट्रोल ल्याउन थालिएको हो। ट्यांकरको विकल्पमा पाइपबाट पेट्रोल ल्याएर बिक्री गर्न सुरु गरेको नेपाल आयल निगम मधेस प्रदेश कार्यालय बाराका प्रमुख प्रलयंकर आचार्यले बताए। ‘पाइपबाट पेट्रोल ल्याउन थालेपछि ढुवानी खर्च जोखिन्छ,’ आचार्यले भने, ‘पाइपलाइनले धेरै फाइदा भएको  छ।’

पाइपबाट नियमित पेट्रोल ल्याउन सुरु गरे पनि औपचारिक रूपमा उद्घाटन भने गरिएको छैन।

करिब एक सय २८ करोड भारु (नेपाली रूपैयाँ करिब दुई अर्ब चार करोड) लगानीमा मोतिहारी– अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजना दोस्रो चरणअन्र्तगत अमलेखगन्जमा भण्डारणलगायतका आवश्यक पूर्वाधार निर्माण गरिएको छ।

नेपाल र भारत सरकारबीच सम्झौता भएर इन्डियन आयल कर्पोरेसन (आइओसी) को सहयोगमा मोतिहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजना निर्माण गरिएको हो। आइओसीको सहयोगमा सन् २०२३ जनवरीदेखि मोतिहारी–अमलेखगन्ज पाइपलाइन परियोजनाको दोस्रो चरणको काम सुरु गरिएको थियो।

ट्यांकरबाट ढुवानी गर्दा पेट्रोलियम पदार्थ ‘लस’ हुने, धेरै समय लाग्ने, ढुवानी लागत महंगो पर्ने, वातावरण प्रदूषण हुने, ट्राफिक जाम हुने, सडक बिग्रिने, ढुवानीमा सामान्य अवरोध हुनासाथ बजारमा पेट्रोलियम पदार्थको अभाव हुने जस्ता समस्याका कारण पाइपलाइन निर्माण गरिएको नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले बताए। ‘पाइपलाइनमार्फत भारतबाट पेट्रोल, डिजेल, मट्टीतेल ढुवानी गर्न थालेपछि मुलुकलाई प्राविधिक, आर्थिक, सामाजिक, वातावरणीय दृष्टिकोणले फाइदा पुगेको छ,’ भट्टले भने।

दोस्रो चरणको पाइपलाइन परियोजनाअन्तर्गत अमलेखगन्ज डिपोलाई पूर्ण अटोमेसनमा सञ्चालन गर्नेगरी भण्डारणलगायतका पूर्वाधार निर्माण गरिएको थियो। अमलेखगन्ज डिपोमा पेट्रोल भण्डारण क्षमता १७ हजार चार सय ९० किलोलिटर पुगेको छ।

डिजेल भण्डारण क्षमता २५ हजार पाँच सय ९० किलोलिटर र मट्टीतेल भण्डारण क्षमता दुई हजार दुई सय ७० किलोलिटर पुगेको छ। दोस्रो चरणको परियोजनाअन्तर्गत आइओसीको सहयोगमा ४१–४१ सय किलोलिटरमा दुईवटा पेट्रोल भण्डारण ट्यांक, दुई सय ५० किलोलिटर क्षमताका दुईवटा ट्रान्समिक्स ट्यांक निर्माण गएिको छ। नेपाल आयल निगमको आफ्नै लगानीमा पाँच हजार किलोलिटरको पेट्रोल भण्डारण ट्यांक र पाँच हजार किलोलिटरको डिजेल इन्धन भण्डारण ट्यांक पनि निर्माण गरिएको छ।

भण्डारण ट्यांकलाई सम्भावित दुर्घटनाबाट जोगाउन फोमसहित फायर फाइटिङ सिस्टम जडान गरिएको छ। तीन सय किलोलिटरका दुईवटा पानी टयांकी पनि निर्माण गरिएको छ। २०३० सालमा स्थापना भएको अमखलेगन्ज डिपो पूर्ण अटोमेसनमा सञ्चालन हुनेगरी पूर्वाधार निर्माण गरिएको छ।

डिजेल, पेट्रोल लोडिङ गर्न टप लोडिङ र बटम लोडिङ सुविधासहित २४ वटा फुल अटोमेटेड वेको निर्माण गरिएको छ। डिजेल, पेट्रोल लोडिङ गर्न आधुनिक प्रविधि प्रयोग गरेर अत्याधुनिक टिएलएफ सेड निर्माण गरिएको छ। टिएलएफ सेडमा पेट्रोलका आठवटा टप लोडिङ र सातवटा बटम लोडिङ, डिजेलका १४ वटा टप लोडिङ र चारवटा बटम लोडिङ तथा मट्टीतेलका लागि १ टप लोडिङ सिस्टम जडान गरिएको छ।

अहिलेसम्म म्यानुअल सिस्टममा रड डिप गरी पेट्रोल, डिजेल नापेर ट्यांकरमा लोडिङ गर्दै आएको थियो। अब कम्युटर प्रणालीबाटै परिमाण मापन गरी लोडिङ गर्न पुरानो म्यानुअल सिस्टमलाई विस्थापित गरी स्वचालित प्रणाली प्रयोगमा ल्याइएको प्रमुख आचार्यले बताए। ‘अमलेखगन्ज आयल निगमको पहिलो पूर्ण अटोमेसनमा सञ्चालन हुने डिपो भएको छ,’ आचार्यले भने।

अब ‘लोडिङ–वे’ अनुसार चालकले गेट पास लिएर कार्ड रिड गरराएर मात्र इन्ट्री गर्न पाउँछन्। ट्यांकर चालकले लोडिङ वेमा कार्ड रिड गराएर आफैं टयांकरमा डिजेल, पेट्रोल भर्न सक्ने व्यवस्था मिलाइएको छ। अत्याधुनिक ल्याब, इलेक्ट्रिक उपकरणसहितका भवन, पम्प हाउस र पाइपलाइनलगायतका पूर्वाधार निर्माण गरिएको छ।

आइओसीको मोतिहारीस्थित डिपोबाट एउटै पाइपलाइनमार्फत फरक–फरक समयमा डिजेल, पेट्रोल, मट्टीतेल आयात सुरु गरिएको छ। पाइप लाइनबाट डिजेल ल्याएपछि बीचमा पाइपलाइन कम्प्याट्रियल केरोसेन (पिसिके) मिसाएर पेट्रोल ल्याइन्छ। डिपोमा इन्धनको गुणस्तर कायम गर्नका लागि अत्याधुनिक प्रयोगशाला निर्माण गरिएको छ।

मोतिहारी–अमलेखगन्ज पाइपलाइनको लम्बाई ६९.२ किलोमिटर छ। पाइप भारततर्फ ३३ र नेपालतर्फ ३६.२ किलोमिटर छ। पाइपको क्षमता प्रतिघण्टा तीन सय किलोलिटर पेट्रोलियम आयात गर्ने छ। पाइपबाट आयात गरेपछि निगम मधेस प्रदेश कार्यालय अमलेखगन्जबाट दैनिक करिब ६ सय किलोलिटर पेट्रोल र १५ सय किलोलिटर डिजेल बिक्री भइरहेको छ।

मोतिहारीबाट पाइपमार्फत ल्याइएको डिजेल, पेट्रोल अमलेखगन्जमा भण्डारण गरी काठमाडौं, पोखरा, भैरहवा, जनकपुरलगायतका डिपोसहित चितवन, तनहुँ, मकवानपुर, लमजुङ, गोरखा, नवलपरासी पूर्व, बारा, पर्सा, रौतहट, धादिङलगायत २६ जिल्लामा आपूर्ति हुन्छ। पाइपबाट डिजेल, पेट्रोल आयात भएपछि इन्धन आपूर्ति सहज भएको छ। पाइपबाट ल्याउन थालिएकाले मुलुकमा समयसमयमा आइपर्ने प्राकृतिक विपत्, महामारी, नाकाबन्दीलगायत समयमा पनि इन्धन आपूर्ति गर्न सजिलो हुनेछ। पाइपलाइन चितवनको लोथरसम्म विस्तार गर्ने योजना छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर