एस् ए टी भी २० फाल्गुन, काठमाडौँ: माइक्रोसफ्टले हालै मात्र ‘मेजोराना १’ नामक विश्वको पहिलो टोपोलोजिकल क्युबिट्समा आधारित क्वान्टम प्रोसेसर सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो प्रविधिले क्वान्टम कम्प्युटिङको सम्भावनालाई अझै नजिक ल्याएको छ । २० वर्षदेखि यो प्रविधिको विकासका लागि मिहिनेत गरेको माइक्रोसफ्टले केही वर्षभित्र स्केलेबल क्वान्टम कम्प्युटर निर्माण गर्ने योजना रहेको जनाएको छ ।
आईबीएम, गुगल, अमेजन, इन्टेलजस्ता ठूला प्रविधि कम्पनीसँगै क्यानडा, बेलायत, चीन, जर्मनी, अस्ट्रेलियालगायत देश क्वान्टम कम्प्युटिङको विकासमा लागेका छन् । को अब्बल निस्कने होडमा माइक्रोसफ्टको पछिल्लो उपलब्धि आसलाग्दो भएको यस क्षेत्रका जानकारहरूको प्रतिक्रिया छ । माइक्रोसफ्टले आफ्नो घोषणामा क्वान्टम कम्प्युटिङको क्षेत्रमा ठूलो फड्को मारेको दाबी गरेको छ । यसले सुपर कम्प्युटरहरूले समेत गर्न नसक्ने जटिल र असम्भव मानिएका गणनाहरू अत्यन्त तीव्र गतिमा प्रोसेस गर्न सक्ने बताइएको छ ।
मेजोराना १ ले पहिले सैद्धान्तिक रूपमा सुनिने गरेको ‘टोपोलोजिकल सुपरकन्डक्टिभिटी’ लाई वास्तविकतामा परिणत गरिदिएको माइक्रोसफ्टका क्वान्टम हार्डवेयर उपप्रमुख चेतन नायकले जनाए । क्वान्टम कम्प्युटिङ परम्परागत कम्प्युटरहरूको तुलनामा हजारौं गुणा शक्तिशाली प्रविधि हो । परम्परागत कम्प्युटरहरूमा बिट्स (० वा १) प्रयोग गरिन्छ भने क्वान्टम कम्प्युटरलाई क्युबिट्स (० र १ एकैसाथ हुन सक्ने) गरी निर्माण गरिन्छ । यस कारणले क्वान्टम कम्प्युटरले विशाल परिमाणका अत्यन्तै जरुरी प्रोसेसिङ समानान्तर रूपमा गर्न सक्ने र यसले डेटा प्रोसेसिङ क्षमतामा क्रान्ति ल्याउन सक्ने अपेक्षा गरिँदै आएको छ ।
माइक्रोसफ्टको यो नयाँ प्रविधि अहिलेसम्म उपलब्ध अन्य क्वान्टम कम्प्युटिङ प्रविधिहरूभन्दा बलियो, कम त्रुटिपूर्ण र दीर्घकालीन रूपमा काम गर्न सक्ने दाबी गरिएको छ । हाल आईबीएम, गुगल, रिगेट्टी जस्ता कम्पनीहरूले सुपरकन्डक्टिङ क्युबिट्स प्रविधिमा काम गरिरहेका छन् । आयनक्यु, हनिवेललगायत कम्पनीले ‘ट्र्याप्ड आयन’ प्रविधिबाट क्वान्टम कम्प्युटिङ प्रणाली विकास गर्ने प्रयास गरिरहेका छन् ।
माइक्रोसफ्टको मेजोराना १ भने टोपोलोजिकल क्युबिट्समा आधारित पहिलो प्रोसेसर हो । यसले क्वान्टम कम्प्युटिङलाई नयाँ दिशामा लैजान सक्ने विश्वास गरिएको छ । अमेरिकी कम्पनीहरूसँगै क्यानडाका डी–वेभ र जानाडु, चीनका अलिबाबा र वाइडु, जर्मनीको आईक्यूएम, अस्ट्रेलियाको सिलिकन, बेलायतको अक्सफोर्ड र क्याम्ब्रिजजस्ता संस्था क्वान्टम कम्प्युटिङमा अझै उन्नत प्रविधि जुटाउन कस्सिएर लागेका छन् ।
विज्ञहरूका अनुसार माइक्रोसफ्टको नयाँ प्रविधि सफल भएमा स्वास्थ्य, वित्त, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), औषधिको खोज अनुसन्धान तथा इन्क्रिप्सनजस्ता क्षेत्रमा आमूल परिवर्तन आउनेछ । उदाहरणका लागि नयाँ औषधिको डिजाइनमा क्वान्टम कम्प्युटर प्रविधिमार्फत मानव शरीरले कसरी नयाँ औषधिहरूमा प्रतिक्रिया जनाउँछ भन्ने कुरा वास्तविक परीक्षण गर्नुअघि नै गणना गर्न सकिन्छ । यसले औषधिको विकासलाई धेरै छिटो बनाउनेछ । सेयर बजार, क्रिप्टोसँगै जटिल र लाखौं डेटा हुने क्षेत्रमा यसले विश्लेषण र रणनीति सुधार्न अत्यन्तै सहयोगी भूमिका खेल्ने अनुमान छ ।
जलवायु, मौसम, विभिन्न वैज्ञानिक प्रयोग, ट्राफिक, जटिल सरकारी तथ्यांक, मेसिन लर्निङजस्ता लाखौं–करोडौं डेटा प्रोसेस गर्नुपर्ने क्षेत्रलाई क्वान्टमको पछिल्लो प्रविधिले द्रुत र सहज बनाउने माइक्रोसफ्टका चेतन नायकको दाबी छ । यिनकै अपेक्षाका कारण क्वान्टम कम्प्युटिङको बजार तीव्र गतिमा विस्तार भइरहेको छ । हाल यसको बजार मूल्य करिब १ अर्ब अमेरिकी डलरको रहेको र सन् २०३२ सम्म १३ अर्ब अमेरिकी डलर पुग्ने अनुमान छ । अमेरिकाजस्ता देश यो प्रविधिमा निकै अगाडि बढिसकेका छन् । ठूला प्रविधि कम्पनीहरूले अर्बौं डलर यस्तो प्रविधिको खोज अनुसन्धानमा लगानी गरिरहेका छन् ।
तर क्वान्टम कम्प्युटरको निर्माण तथा सञ्चालन महँगो छ । अत्यन्तै साधारण क्वान्टम कम्प्युटरको लागत पनि ५ मिलियन अमेरिकी डलर (करिब ६६ करोड नेपाली रुपैयाँ) बाट सुरु हुन्छ । क्वान्टम कम्प्युटिङको व्यापक विकाससँगै अवसर र जोखिम पनि भित्रिने विज्ञहरूको आकलन छ । साइबर सुरक्षामा नयाँ र झनै जटिल चुनौती थपिन सक्ने उनीहरू अपेक्षा गर्छन् । हाल प्रयोग भइरहेका इन्क्रिप्सन प्रविधिहरू क्वान्टम कम्प्युटरहरूले सजिलै तोड्न सक्ने खतरा हुन्छ । यस्तो भएमा बैंकिङ, सरकार तथा सैन्य डेटा सुरक्षामा ठूलो संकट आउन सक्छ । त्यसैले वैज्ञानिकहरू क्वान्टम–प्रतिरोधी इन्क्रिप्सन विधि विकास गर्नेतर्फ पनि अघि बढिरहेका छन् ।
माइक्रोसफ्टका अधिकारीहरूका अनुसार कम्पनीले आगामी केही वर्षमा पूर्ण रूपमा स्थिर र त्रुटिरहित क्वान्टम कम्प्युटर निर्माण गर्ने लक्ष्य राखेको छ । माइक्रोसफ्टको पछिल्लो उपलब्धि र अन्य कम्पनीको दौडलाई विज्ञान तथा प्रविधिका जानकारहरूले क्वान्टम कम्प्युटिङ एउटा नयाँ प्रविधि मात्रै नभएर मानव सभ्यताको सबैभन्दा ठूलो वैज्ञानिक छलाङमध्ये एक हो भन्ने टिप्पणी गरेका छन् ।