एस् ए टी भी २८ फाल्गुन, काठमाडौँः नेपाली सिनेमामा जब थिएटरका कलाकारहरू भित्रिए तब लुट, पशुपतिप्रसादजस्ता सिनेमा बने । क्राइम थ्रिलर र सोसल ड्रामामा पनि नयाँ आयाम भित्रियो । यस्तै, टेलिभिजनमा हास्य श्रृंखला बनाउँदै आएको टोलीले यदाकदा ह्युमर भेटिने नेपाली सिनेमामा कमेडी जनरालाई त यसरी स्थापित गर्यो कि अब सिनेमा जुनै पनि जनरामा बनेका हुन्, अधिकांशमा कमेडीको टोन भेटिन्छ भेटिन्छ ।
यतिबेला चर्चित टेलिश्रृंखला ‘सक्किगो नि’को टिमले निर्माण गरेको नयाँ सिनेमा ‘लाज शरणम्’ बजारमा छ । कुमार कट्टेल निर्देशित यो चलचित्रले राम्रै चर्चा कमाइरहेको छ । कतिले प्रशंसा गरिरहेका छन् त कतिले आलोचना । यही फिल्मको कथा के हो ? यसभित्र के छ जसकारण यसले प्रशंसा पाइरहेको छ र त्यस्तो के कारण आलोचना खेपिरहेको छ ? आउनुस्, हामी ‘लाज शरणम्’को काज अनुगमनतिर लागौं ।
कथा
कथा सुरु भएको छ एउटा दर्दनाक दृश्यबाट जसले तपाईंलाई हँसाउँछ । भलै, तपाईं हाँस्नुको कारण विविध हुन सक्छन् जुन खुल्दै खुल्दै जाला । अहिलेलाई कथालाई नै पछ्याऔँ ।
कथा पछ्याउँदै तपाईं पुग्नुहुन्छ गज्जु दादासम्म । गज्जु दादासँगै तपाईं विदेशबाट आएको लासको बाकस उघार्नुहुन्छ र त्यसभित्र फेला पार्नुहुन्छ सुनै सुन ! उस्तै दृश्य फेरि एकपटक दोहोरिन्छ । गज्जु दादा फेरि पनि बाकस उघार्नुहुन्छ । तर, यसपटक लासको बाकसमा जे हुनुपर्ने हो त्यही हुन्छ ! जे हुनुपर्ने हो त्यही भएपछि परेन त फसाद ! त्यसपछि, कथाले गुहार्छ व्यापारी सोनालाल र मन्त्रीज्यूलाई !
सोनालाल सोध्छ- 'आखिर सुन खै त ?' सत्तारुढ दलको सदस्यको भेषमा हिँडिरहेको सुन तस्कर सोनालाल लासको बाकसमा सुन लुकाएर दुई नम्बरी धन्दा गर्छ । तर, बाकस साटिएपछि ऊ चिन्तित छ- कतै सुन प्रहरीको हातमा त पर्ने होइन ? अर्कोतिर उसको चिन्तालाई बढाइरहेको छ एउटा विदेशी फोन कलले जसले भनिरहेको छ- कि सुन देऊ कि तिम्रो टाउको !
तपाईंलाई लाग्दो हो फिल्मले अब सोनालालको तस्करीबारे आन्द्राभुँडीजस्तै बेलिबिस्तार लगाउँछ । उसको कर्तुतबारे पर्दाफास हुन्छ । या फेरि ऊ त्यो धन्दा गर्न किन विवश छ या फेरि किन हौसिएको छ भन्नेबारे खोतल्छ ! तर, त्यस्तो केही पनि हुँदैन । कथाको गाडी अब बाकसहरू खोज्दै, पछ्याउँदै दौडिरहन्छ !
तर, गाडी एउटा मात्र छैन । फिल्ममा दोस्रो गाडी पनि छ जो दोस्रो कथा बोकेर काठमाडौंबाट कर्णाली पुग्छ । त्यताको कहानी अलि बेग्लै छ । बाकसमा जे हुनुपर्ने त्यो नभेटिँदा शोकको घडीमा पनि त्यहाँ दसैं आउँछ ! तर, दसैं आएको थाहा दिए दशा आउँछ । मानौं, यहाँको तनाव हेरी सोनालालको तनाव त तनाव नै होइन !
खैर, यी दुई कथा बोकेका गाडीहरू कतै पुगेर ठोकिएलान् त ? थाहा हुँदै जाला ।
कथावाचन
घरी काठमाडौं त घरी कर्णालीको कथा भनिरहेको यो फिल्मको कथा भन्ने शैली नन-लिनियर छ । कहिले गाडी, कहिले हेलिकोप्टर त कहिले बाइक चढ्दै गर्नुपर्ने यात्रा जस्तै ! यहाँ र त्यहाँको कथा भनिरहे पनि फिल्म वर्तमानकै कथा भनिरहेको हुन्छ तबसम्म जबसम्म सन्देश धामीलाई क्यामराले पच्छ्याइरहेको हुँदैन । जब, क्यामराम्यानको नजरमा यो पात्र पर्छ तब यो पात्रको परिवार पनि क्यामराको लेन्सभित्र अटाउँछ । फिल्मको कथावाचक वर्तमान छोडेर भूतसम्मै पुग्छ र एउटा कहालीलाग्दो कहानी हाल्छ ।
सोनालाल को हो ? को हो गज्जु दादा ? र तुले, दामोदर को हुन् ? क्षणभरलाई सन्देश धामीले मानौं थामिदिन्छ बगिरहेको समय । केहीबेरलाई दर्शकको चेतनाले सन्देश धामी र उसको परिवारलाई बाहेक कसैलाई चिन्दैन । मानौं, दर्शकको लागि त सुन बल्ल पो भेटिएको होस् । सन्देश धामीको कथाभित्र ।
तर, फिल्मको कथावाचक दर्शक होइन । जहाँबाट कथा भन्न सुरु गरेको हो उसलाई त्यहीँ त पुग्नै छ । सुन खोजिरहेको सोनालाललाई छोड्ने छुट छैन कथावाचकलाई । धामीलाई उसकै हालमा छोडेर कथावाचक काठमाडौं फर्किन्छ दशा लागेको सोनालाललाई दसैं आएको तुलेसँग भेटाउन ।
पात्र र अभिनय
फिल्मले सबैभन्दा बढी स्पेस दिएको पात्र हो सोनालाल । पात्रको हुलियाले अन्य पात्रलाई छायामा पार्छ तर, जब जब यो पात्रले मुख खोल्छ तब मानौं उसले आफैलाई छायामा पार्छ । बलिरहेको मैनबत्तीले आफ्नै फेदमा छाया पारेजस्तै ! अचम्म यो लाग्छ, मुखमा भोला च्यापिरहने तुलेसमेत उता स्पष्ट बोलिरहँदा सोनालाल किन बुझिने गरी बोल्न सक्दैन ? के ऊ बोल्ने जिब्रो नै चपाएर बोल्छ ? खैर, अनुहारको कोठी र बिम्ब ठाउँमा भए मात्र सुन्दर लाग्छ ।
तर, सतहबाट अलिमुनि ओर्लिएर हेर्ने हो भने सीताराम कट्टेलको यो पात्रले आफ्नो चरित्र वृत्त पनि बनाउन सकेको देखिँदैन । फिल्मभर न उसले हराएको सुन फेला पारेको छ, न त कुनै पाठ सिकेको ।
अभिनयको कुरा गर्नुपर्दा सीताराम कट्टेलले आफ्ना चर्चित टेलिपात्र 'धुर्मुस' र 'खड्का जी'लाई सोनालालमा पनि बोकेरै आउनुको कारण बुझिँदैन । फिल्मभरि मधेशी लवज बरकरार राख्न गरेको जस्तै मिहिनेत धुर्मुसलाई बोकेर हिँड्नमा गर्नुभन्दा सोनालालको आफ्नै चरित्र निर्माण गर्नमा लगाएको भए ! सोनालालले कट्टेललाई नयाँ उचाइ दिन पक्कै सक्ने थियो ।
गज्जु दादाको त के कुरा गर्नु । अर्पण थापाको यो पात्र नामको मात्रै दादा, फिल्मबाट कतिबेला उसको टाटा हुन्छ दर्शकले चाल समेत पाउँदैनन् । खलनायकीको अभिनयमा उनी जति पोख्त छन् त्यति नै मात्रामा पोखिने ठाउँ उनको पात्रले पाएको छैन ।
सागर लम्सालको पात्र विजय पनि चरित्र स्पष्ट नभएको पात्र हो । त्यसो त कथामा ट्विस्ट दिनको लागि यो पात्रको प्रयोग प्रशंसनीय लाग्छ । यद्यपि, पात्रको अघि-पछि, हिजो-आजबारे पर्याप्त केही पनि कुरा दर्शकलाई थाहा नदिइँदा पात्रको चरित्र के हो स्पष्ट हुन सक्दैन । धामीलाई धोका दिएर गज्जु दादालाई साथ दिनुको कारण मात्रै स्पष्ट भइदिएको भए पनि यो पात्रको क्लाइमेक्सले दर्शकलाई छोइदिन सक्थ्यो कि ?
खैर, आफैंमा अस्पष्ट पात्र विजयको भूमिकामा लम्सालको अभिनय औसत लाग्छ ।
अर्को विजयको कुरा गरौं । विजय बरालको पात्र तुले ! अन्य पात्रको तुलनामा तुले अलि बढी रोचक र स्वभाविक देखिन्छ । सानो स्पेसमा पनि यो पात्रले फिल्मको कथामा खेलेको भूमिका स्वादिलो लाग्छ । चियामा हालिने मरिचजस्तै ! पृष्ठभूमिमा उसको जीवनमा के चलिरहेको छ र उसको दिमागमा के छ भन्ने पनि स्पष्ट हुँदा तुलेबाट एकैछिनमा 'तोले' र तोलेबाट फेरि क्षणभरमै 'तुलिगाँडे'मा भएको उसको रूपान्तरण रोचकसँगै अर्थपूर्ण पनि लाग्छ । समग्र फिल्ममा चरित्र वृत्त पूरा भएको एउटै पात्र कोही छ भने त्यो तुले नै हो ! त्यसो त अभिनयको हकमा तुलेको भूमिकामा विजय बराल प्रशंसाको हकदार हुन् ।
अब अर्का विजयको कुरा गरौं । एसपीको भूमिकामा देखिएका विजय लामा फिल्ममा हात्तीको मुखमा जिरा भएका छन् । त्यसो त गज्जु दादा नै पनि हात्तीको मुखमा ल्वाङ मात्र हुन सकेका छन् । फिल्ममा महिला पात्र पनि छन् । तर, यतिञ्जेल अनेक पात्रको कुरा गरिरहँदा महिला पात्र छुटेको ख्याल मात्र पनि तपाईंलाई पक्कै आएन होला । फिल्मका अधिकांश महिला पात्रलाई यसरी लेखिएको छ कि उनीहरूले बोल्नै नपरोस् । बोलिहाल्न परे पनि अति कम बोल्न परोस् । रेणु योगीले निभाएको एउटा पात्रलाई छोडेर यो फिल्ममा महिला पात्र हात्तीको मुखमा ज्वानो नै बनाइएका छन् । दामोदरको भूमिकामा कमलमणि नेपाल, जोगीकी आमाको भूमिकामा सीतादेवी तिमल्सिनाको काम सदाबहार लाग्छ ।
रेणुको पात्र देखिनुमा उनको पात्रको जटिलता, गाम्भीर्य र सबैभन्दा बढी उनको अभिनय कौशलको पराकाष्ठाको हात छ ।
रेणुपछि कसको पालो हो भन्ने अनुमान तपाईंलाई भइसकेकै हुनुपर्छ । हो, महेश त्रिपाठीले निभाएको सन्देश धामीको पात्रको कुरा गरौं । यो पात्रसम्म पुग्न फिल्मले किन ढिलो गर्यो ? सायद यसको जवाफ लेखकसँगै होला । तर, जे कहानी र विचार यो पात्रले बोक्छ फिल्मले त्यसलाई आफ्नो कथावाचनको प्रमुख विषयवस्तुमा राख्न सकेको भए यो पात्रले समग्र फिल्मलाई आफ्नो काँधमा बोक्न सक्ने थियो ।
अभिनयको कुरा गर्नुपर्ला र ? महेशले आफ्नो पहिलो फिल्मबाटै आफूलाई नेपाली सिनेमा जगत्को नयाँ ताराको रूपमा पुष्टि गरिसकेका थिए । 'लाज शरणम्'ले मानौं महेशको सिने आकाशमा मडारिइरहेको बादल हटाइदिने काम गर्दा त्यो ताराको चमक थप टड्कारो भएर देखिएको छ ।
सिनेम्याटोग्राफी
एकाध पात्रको चरित्र लेखन र अभिनय कौशलपछि फिल्मको राम्रो पक्षमा सिनेम्याटोग्राफी एक हो । त्यसो त काठमाडौंको ओपनिङ फुटेजले नै आँखालाई लोभ्याउँछ । तर, मनै लोभ्याउने केही दृश्य अलि पछाडि भेटिन्छन् । जोगी पात्र र तुलेको 'टम एन्ड जेरी' दृश्यहरूलाई सिनेम्याटोग्राफर सुदिप बरालले मन लोभ्याउने गरी खिचेका छन् । दुई पात्रको गतिविधि मात्र नभएर यसले एउटा कलात्मक बान्कीमा कर्णालीका घर र बस्तीहरूलाई कैद गरेको छ । जटिलताका बाबजुद कर्णालीको भौगोलिक एवं प्राकृतिक सौन्दर्य त मन्त्रीज्यूले पनि दर्शकहरूलाई देखाएकै हुन् । तर, कर्णालीका बस्तीहरूमा निहित सौन्दर्यलाई बरालका क्यामेरा एंगलले दर्शकका अघि ल्याइदिएका छन् ।
लेखन-निर्देशन
लेखन र निर्देशन स्क्रिनसम्म आइपुग्दा जोडिएर आइपुगेका हुन्छन् । भलै, ती दुई, दुई फरक दिशातिर किन नहिँडेका हुन् !
लासको बाकसमा सुनको तस्करी ! विषय गम्भीर छैन त ? कर्णालीको गरिबीमाथि राजनीति । भोकमाथि व्यापार ! यसको संवेदनशीलता नै हेरौं । यति गम्भीर र संवेदनशील विषयवस्तुलाई फिल्मको लेखनले न्याय गर्न सकेको छ त ? दु:ख यहीँनेर लाग्छ । किनभने, फिल्मलाई यसको मर्म छाम्नभन्दा यसको संवेदनाको तड्का लगाएर सोनालालकै सुन पकाउनु छ ।
सुन व्यापारीको नाम सोनालाल ! सुन खोज्दै पुग्छ सोनापुर, हुलिया मिल्छ नेतासँग, बोल्छ दर्शकलाई हँसाउने प्रयासमा ! बस्, यस्तै सतही कुरामै फिल्म रमाएको छ । यति रमाएको छ कि यस्तो लाग्छ, फिल्मको खाँटी कथाभन्दा सोनालालको यही सतही कथामाथि बाँधिएको भूमिका ज्यादा छ । सोनालालकै पनि गहिराइको कथा आउँथ्यो त त्यसले दर्शकको धैर्यलाई न्याय नै गर्थ्यो कि ?
फेरि उता फिल्मले दिन खोजेको सन्देश छ- कर्णालीको गरिबी र भोक बेचेर नेताहरू डलर कमाउँछन् । आखिर, फिल्म आफैं पनि सोनालालजस्ता व्यापारी नेताहरूभन्दा कत्तिको भिन्न हुन सकेको छ ? के फिल्मले पनि कर्णालीको भोकलाई लोकप्रियता कमाउने बाटो मात्रै त बनाएन ? नत्र, खै त सन्देश धामीको परिवारको कथा ? उनीहरू त्यो अवस्थामा कसरी पुगे ? फिल्म आफैंले पनि कर्णालीको कथालाई ठूलो थालीका लागि एक पित्को चटनी चाहिएजस्तो गरी मात्रै लिएको छ । चटनी त आखिर भातै रुचाउनका लागि न हो !
जाँदाजाँदै, यति भनूँ यो फिल्म सुनको थालीमा भोकको चटनी हो । फिल्ममा कथा खोज्ने दर्शक हलबाट निस्किँदा भोकै निस्किनेछन् । न सुनको, न भातको उनीहरूलाई त बेस्सरी चटनीको भोक लागेको हुन्छ !