एस् ए टी भी २५ पौष, काठमाडौंः जुम्लाको खस सभ्यता र मौलिक संस्कृतिको भैलो खेलिएको छ। परम्परागत रूपमा खेलिँदै आएको खस संस्कृतिको भैलोको यस बेला रौनक छ।
पुस १५ गतेबाट जुम्लामा सुरु भएको ठुली भैलो अहिले जुम्लाका गाउँबस्तीहरूमा चलिरहेको छ। अहिले महिला, पुरुषहरूले गाउँ-गाउँसहित सरकारी कार्यालयमा समेत भैलो खेल्न थालेका छन्। पुस महिनाको औँसी वा प्रतिपदाका दिनदेखि खेलिने ठुली भैलोको चर्चा अहिले भइरहेको छ।
'ए आउसी बार भैलो, दर बुधबार भैलो' लगायतका चुट्किलासहित भैलो खैल्ने चलन रहेको स्थानीय बताउँछन्। तातोपानी गाउँपालिका-१ का पहलमान कुँवरका अनुसार यस वर्ष पनि परम्परागत भैलो खेल्ने काम गरिएको छ। उनका अनुसार गाउँका बुढापाकादेखि युवाहरूको टिमले पनि खस संस्कृतिको भैलो खेल्दै आएका छन्। यो भैलो कर्णालीमा पनि ठाउँ अनुसार विभिन्न पोसाकमा सजिएर खेल्ने गरिन्छ।
यस समयमा महिला, बुढाबूढीहरू स्थानीय गीतहरू गाएर भैली भन्दै हरेक आफन्तको घरको आगनमा जाने र भैलो माग्ने चलन छ। यता जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यका अनुसार अहिले भैलो खेल्न कार्यालयमा समेत थालिएको छ। उनका अनुसार पुरानो परम्परा अनुसार साथीसंगीहरू भैलो खेल्ने र त्यहाँबाट प्राप्त चामल, दाल र नगदपछि पाटेभात (वनमा गएर खाने भोज ) खाने चलन रहेको उनको भनाइ छ। भैलो खेल्न भने खस सस्कृंतिका पोशाकहरू पहिरन गर्ने चलन पनि छ।
जानकार रमानन्द आचार्यका अनुसार बाह्रौँ शताब्दीतिर जुम्लाका राजा बलिराजको पालादेखि सुरु भएको हिउँदे भैली खेल्ने चलन जोगाएमा मौलिक संस्कृति प्रवर्द्धन हुनेमा जोड दिइएको छ। दशकअघिसम्म हिउँद महिनामा खेलिने भैलोलाई स्थानीय स्तरको महत्वपूर्ण पर्वभन्दा अझै बढी मानिन्थ्यो। जुम्लाका महिला र पुरुषहरूमा खस परम्परा अनुरूप छुट्टाछुट्टै भैलो खेल्ने चलन अनुसार अहिले पुन: जागरण हुन थालेको छ।
फुर्सदको हिउँदे मौसमलाई मध्यनजर गर्दै मंसिर पूर्णिमामा सानी भैलो सकाएर पुस औँसी वा कृष्ण प्रतिपदाबाट ठुली भैलो सुरु हुने गर्दछ। भैलो एक प्रकारको मनोरञ्जन गर्ने साधन भए पनि यसको आफ्नै मौलिक महत्व रहेको र हिउँद महिनामा कुनै पनि चाडपर्व नहुने भएकाले न्याश्रो पनालाई हटाउन हिउँदै भैली खेल्ने चलन भएको जानकारहरू बताउँछन्।
जानकारहरूका अनुसार पछिल्लो समयमा भैलेरा भैलेरीले पोशाकमा महिलाले फरिया लगाउने, आँचला हाल्ने, गृह लठ्ठी हातमा लिएर भैली खेल्ने चलन छ। भैलो खेलेर संकलन गरेको रकम भैलो समाप्तिका बेला भोज खाएर मनोरञ्जन गर्ने प्रचलन रही आएको छ।
परम्परागत रूपमा राजा रजौटाका पालामा बाज (चल) समात्ने र बाज पालेर बेच्ने, युद्धकला सिकाइ एक अर्काको देशका बाज लडाएर मनोरञ्जन गर्ने हिसाबले भैलो सुरु गरिएको किम्बदन्तीमा उल्लेख रहेको जानकार रमानन्द आचार्यको भनाइ छ