नेभिगेसन मेनु

निगमले ३ अर्ब लगानीमा भैरहवामा डिपो बनाउने, डिपिआरका लागि भयो सम्झौता
सम्पादक:南亚网络电视
समय:2024-11-29 13:42

bhairahawa-dipo1-1732698706

एस् ए टी भी १४ मङ्सिर, काठमाण्डौंः नेपाल आयाल निगमले भैरहवामा इन्धन डिपो बनाउने प्रक्रिया सुरू गरेको छ।

बुधबार एक कार्यक्रम गर्दै निगमले अत्याधुनिक प्रविधि सहितको डिपो निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन (डिपिआर) गर्न काठमाडौं विश्वविद्यालय (केयु) सँग सम्झौता गरेको हो।

उक्त सम्झौता पत्रमा निगमका तर्फबाट परियोजना प्रमुख इ. प्रदीप यादव र केयुका तर्फबाट कन्सल्टेन्सी विभाग प्रमुख इ. विवेक बरालले हस्ताक्षर गरेका छन्।

डिपिआर बनाउन दुई संस्थाबीच एक करोड ९५ लाख रूपैयाँमा सम्झौता भएको हो। डिपिआर ६ महिनाभित्र सम्पन्न हुनेछ भने तीन वर्षभित्र डिपो निर्माण कार्य सम्पन्न गरिने छ।

पूर्वाधार डिजाइनको काम काठमाडौं विश्वविद्यालयले गर्ने तय भएको छ।

उक्त अत्याधुनिक डिपो निगमको आफ्नै २१ बिगाहा जमिनमा बन्नेछ।

उक्त डिपो बनिसकेपछि भैरहवाको भलवारीस्थित डिपो त्यहाँ स्थानान्तरण गरिने डिपो निर्माण परियोजना संयोजक यादवले बताए।

'भलवारीको डिपो ४० वर्ष पुरानो हो। जुनसुकै बेला आगो लाग्ने अवस्था भइसक्यो,' उनले भने, '१० वटा गाडीका लागि बनाएको डिपोमा अहिले सयभन्दा बढी गाडी छन्।'

भलवारी डिपो करिब पाँच बिगाहा जमिनमा बनेको छ।

बस्तीको बीचमा रहेकाले पनि डिपो स्थानान्तरण गर्न आवश्यक रहेको उनले बताए।

अहिले बन्ने नयाँ डिपो पुरानो डिपोबाट आठ किलोमिटर पर छ। यो डिपो भैरहवाको ओमसतिया गाउँपालिका–५ र रोहिणी गाउँपालिका–३ मा बन्नेछ।

डिपोमा तीन हजार किलोलिटरका तीन वटा डिजेल ट्यांकी, सात सय ६० किलो लिटरको तीन वटा पेट्रोल ट्यांकी, दुई सय ५० किलोलिटरको दुइटा मट्टितेल ट्यांकी र तीन हजार किलोलिटरको दुइटा पानी ट्यांकी बन्नेछ।

त्यस्तै, डिपोभित्र १५० ओटा ट्रक आवतजावत गर्न सक्ने ठूलो क्षमताको पार्किङ स्थल बन्नेछ।

डिपो निर्माणको काम दुई चरणमा सकिने छ।

पहिलो चरणमा खोलाको किनारमा जग्गा भएकाले पानी आउन नदिन जग्गा सम्याउने र रिटेनिङ वाल (पर्खाल) लगाउने काम हुन्छ।

'जग्गा सम्याएर दुई मिटर उचाइको पर्खाल लगाउँछौं,' इञ्जिनियर यादवले भने, 'त्यो काम भइरहेको छ।'

खोला किनारमा डिपो बन्ने भए पनि त्यसलाई खोलाले कुनै असर नगर्ने उनले बताए।

'हामीले सिभिल इञ्जिनियरको समूहलाई अध्ययन गर्न लगाएका थियौं। उनीहरूले गरेको अध्ययनले खतरामुक्त देखाएको छ,' यादवले भने, 'समूहले यहाँ बाढी आएकोबारे ५० वर्षको अध्ययन गरेर निगमलाई प्रतिवेदन दिएको थियो।'

डिपोमा ६६ सय किलोलिटर डिजेल, ३२ सय किलोलिटर पेट्रोल र २ सय १० किलोलिटर मट्टीतेल भण्डार हुनेछ।

यो क्षमताको डिपोले लुम्बिनी प्रदेशको २० दिनको माग धान्न सक्ने यादवले जानकारी दिए।

पुरानो डिपोले सात दिनको मात्रै माग धान्दै आएको छ। हाल यहाँ पाँच सय १९ किलोलिटर क्षमताको पेट्रोल ट्यांकी, तीन हजार चार सय किलोलिटरको डिजेल र एक सय ४० किलोलिटरको मट्टीतेलको ट्यांकी छ। पेट्रोलियम पदार्थको ढुवानीको लागि ७० देखि ८० वटा ट्रकहरू सञ्चालनमा छन्।

परियोजना उप-संयोजक रामहरि निरौलाले भविष्यको ऊर्जा सुरक्षाको लागि नयाँ  डिपो आवश्यक छ रहेको बताए। उनले यो डिपो छिट्टै सम्पन्न गर्ने जानकारी दिएका छन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर