नेभिगेसन मेनु

नेपालको पाँच वर्षमा बंगलादेशसँगको व्यापार घाटा साढे २९ अर्ब
सम्पादक:南亚网络电视
समय:2024-07-25 13:43

Artha_Main-Saun-102024-07-25-08-54-16

३२ अर्ब ६६ करोडको आयात हुँदा नेपालबाट तीन अर्ब १८ करोडको निर्यात 

बंगलादेशसँगको व्यापारमा नेपाललाई एक दशकयता घाटामै छ । पछिल्लो पाँच वर्षमा मात्र नेपालले बंगलादेशसँग २९ अर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेको छ । आर्थिक वर्ष ०७६/७७ देखि ०८०/८१ सम्म बंगलादेशसँग व्यापार घाटा २९ अर्ब ४७ करोड ५० लाख पुगेको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ । यो अवधिमा ३२ अर्ब ६६ करोड ३३ लाखबराबरको सामग्री बंगलादेशबाट आयात हुँदा नेपालबाट तीन अर्ब १८ करोड ८२ लाखबराबरको निर्यात भएको भन्सारको तथ्यांकमा उल्लेख छ ।

गत आर्थिक वर्ष ०८०/८१ मा मात्र बंगलादेशसँग तीन अर्ब ३७ करोड ३६ लाखबराबरको व्यापार घाटा रहेको तथ्यांक छ । आर्थिक वर्ष ०८०/८१ मा नेपालबाट ४६ करोड ३१ लाखबराबरको निर्यात हुँदा बंगलादेशबाट तीन अर्ब ८३ करोड ६८ लाखबराबरको आयात भएको छ । नेपाल–बंगलादेश व्यापार सहजीकरण गर्ने नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी काँकडभिट्टा कार्यालयका प्रमुख सुवास पाण्डेका अनुसार बंगलादेशबाट ब्याट्री, खाद्यान्न, औषधिलगायत २० प्रकारका सामग्री आयात हुन्छ । नेपालबाट जडीबुटी, च्यावनप्रास, मुसुरोको दाललगायत ६ प्रकारका सामग्री निर्यात हुने गरेको छ । ‘बंगलादेशमा नेपालको उत्पादन कम जान्छ,’ उनले भने, ‘आयात धेरै छ । जसले गर्दा व्यापार असन्तुलन छ ।’

एक दशकअघिसम्म नेपाल–बंगलादेशको व्यापारमा नेपाल नाफामा रहेको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख रामप्रसाद रेग्मी बताउँछन् । तर, क्रमशः बंगलादेशसँगको व्यापार घाटामा गएको उनको भनाइ छ । ‘बंगलादेशसँग नाका खुलेको समयमा बंगलादेशसँग हाम्रो व्यापार नाफामा थियो । गहुँ, दाललगायत कृषि उत्पादन नेपालबाट निर्यात हुँदै आएको थियो । बंगलादेशबाट नेपाल आउने सामान कम थियो,’ उनले भने, ‘तर, एक दशकयता बंगलादेशसँगको व्यापार घाटा छ ।’

नेपालबाट बंगलादेशसँग व्यापार हुने एउटै मात्र नाका हो, पूर्वीनाका काँकडभिट्टा । यहाँबाट भारतीय स्थलमार्गको प्रयोग गर्दै करिब ५२ किलोमिटरमा भारतको फूलबारी र बंगलादेशको बंगलाबन्ध नाका पुग्न सकिन्छ । 

बंगलादेशमा चियाको सम्भावना 

पूर्वीनाका काँकडभिट्टाबाट निर्यात हुने कृषिउपजमध्ये एक हो, चिया । नेपाली चियामा भारतीय बजारको एकाधिकार भएका कारण भारतले वेला–वेला झमेला गर्ने गर्छ । बंगलादेश पनि चियाका लागि राम्रो सम्भावना हुन सक्ने नेपाल चिया उत्पादन संघका अध्यक्ष आदित्यराज पराजुली बताउँछन् । तर, बंगलादेशमा भन्सार ड्युटी महँगो हुँदा नेपाली चिया पठाउन समस्या रहेको उनको भनाइ छ । ‘बंगलादेशमा चियाको सम्भावना धेरै छ । बंगलादेशमा हामी करिब तीन अर्बको चिया दिन सक्छौँ । बंगलादेशमा हाम्रो नमुना गएर पास पनि भएको छ । बंगलादेशमा हाम्रो चिया जाने हो भने भारतको सीमामा हामीले भोग्नुपरेको समस्या पनि सामाधान हुन्छ,’ उनले भने, ‘तर, बंगलादेशमा चियाको भन्सार ड्युटी धेरै छ । जसले गर्दा हामीले निर्यात गर्नै सक्दैनौँ । यो हाम्रो सरकारी तहबाट समाधान गर्नुपर्ने विषय हो । हामीले बारम्बार सरकारको ध्यानाकर्षण पनि गराएका छौँ ।’ 

पारवहन तथा गोदाम व्यवस्थापन कम्पनीका काँकडभिट्टा कार्यालयका प्रमुख सुवास पाण्डेका अनुसार बंगलादेशमा चियाको सम्भावना धेरै छ । जसले नेपाल–बंगलादेशको व्यापारमा सन्तुलन पनि ल्याउन सक्छ । यसका लागि आफूले चिया उत्पादकसँग पनि छलफल गरेको उनले बताए । यद्यपि, भन्सार ड्युटीका कारण बंगलादेश चिया निर्यात गर्न नसकिएको उद्यमीले बताएको पाण्डे बताउँछन् । ‘चिया निर्यातमा ड्युटी घटाउन उच्चस्तरीय पहल आवश्यक पर्छ,’ उनले भने, ‘नेपालबाट सिमेन्ट पनि निर्यातको सम्भावना छ ।’

आन्दोलनयता व्यापार ठप्प

बंगलादेशमा आरक्षण खारेजीको माग गर्दै भइरहेको आन्दोलनको प्रभाव नेपाल–बंगलादेशको व्यापारमा समेत परेको छ । बंगलादेशसँग भारत, भुटान र नेपालको त्रिदेशीय व्यापार नाका फूलबारी–बंगलाबन्ध नाका करिब १० दिनदेखि बन्द रहेको पारवहन तथा गोदाम व्यवस्थापन कम्पनीका काँकडभिट्टा कार्यालयका प्रमुख सुवास पाण्डेले बताए । जसका कारण बंगलादेशसँगको व्यापार ठप्प भएको उनको भनाइ छ । ‘नेपालबाट उखुको खुदो बोकेर गएका ६ वटा गाडी फूलबारी नाकामा रोकिएका छन् । यस्तै, उखुको खुदो लोड भएका ६ वटा गाडी काँकडभिट्टा नाकामा रोकिएका छन्,’ पाण्डेले भने ।

बंगलादेशमा आरक्षण आन्दोलनको असर : ४० मेगावाट विद्युत् निर्यात गर्न १३ साउनमा हुने सम्झौता स्थगित

बंगलादेशमा जारी आरक्षणसम्बन्धी आन्दोलनका कारण १३ साउनमा हुने भनिएको नेपाल–बंगलादेश विद्युत् बिक्री सम्झौता (पिएसए) स्थगित भएको छ । नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्ने सम्बन्धमा १३ साउनमा काठमाडौंमा नेपाल, बंगलादेश र भारतबीच त्रिपक्षीय सम्झौता गर्ने तयारी थियो ।  साथै, १४ र १५ साउनमा पोखरामा हुने भनिएको द्विपक्षीय ऊर्जा बैठक पनि स्थगित गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले जानकारी दिए । ‘बंगलादेशमा जारी आन्दोलनका कारण यो स्थगित गर्नुपरेको हो । बंगलादेशले मंगलबार मात्रै उक्त मितिमा विद्युत् खरिद–बिक्री सम्झौता र द्विपक्षीय बैठक गर्न नसकिने भनेर पत्र पठाएको छ । त्यहाँको आन्दोलन साम्य भएपछि नयाँ मिति तोक्ने जानकारी बंगलादेशले गरेको छ,’ उनले भने, ‘अब हामीले भारतलाई पनि यो जानकारी गराउनेछौँ ।’ उनका अनुसार बंगलादेशको आन्दोलन साम्य भएपछि यो विषयमा नयाँ निर्णय गरिनेछ । 

१३ साउनमा काठमाडौंमा एक कार्यक्रम गरी नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी) र भारतको एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन)बीच त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको हो । यी तीनै संस्थासम्बन्धी देशका विद्युत् व्यापार गर्ने सरकारी कम्पनी हुन् । 

नेपालको ४० मेगावाट विद्युत् भारतीय प्रसारणलाइनमार्फत बंगलादेश पुर्‍याइनेछ । तसर्थ, भारतलाई समेत समावेश गरेर त्रिपक्षीय सम्झौता गर्न लागिएको थियो । हस्ताक्षर समारोहमा बंगलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिद आउने पक्का भएको थियो । यस्तै, भारतीय ऊर्जामन्त्री मनोहर लाललाई पनि हस्ताक्षर समारोहमा उपस्थित हुन निम्तो पठाइएको थियो । उनीहरूको उपस्थितिमा प्राधिकरण, बिपिडिबी र एनभिभिएनका कार्यकारी प्रमुखहरूले सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय गरिएको थियो । तर, बंगलादेशमा जारी आन्दोलनका कारण त्यहाँका राज्यमन्त्री र बोर्डका अधिकारीहरू आउन सम्भव नभएको मन्त्रालयको भनाइ छ । 

१३ साउनमा काठमाडौंमा विद्युत् खरिद–बिक्री सम्झौता गरेर १४ र १५ साउनमा पोखरामा नेपाल–बंगलादेश ऊर्जा सहसचिव र सचिवस्तरीय बैठक गर्ने पक्का भएको थियो । तर, आन्दोलनकै कारण उक्त बैठक पनि स्थगित भएको प्रवक्ता सिंहले बताए । 

गत २४ असारमा बंगलादेशले नेपालबाट ४० मेगावाट विद्युत् किन्ने सम्बन्धमा सम्झौता गर्न पत्र पठाएको थियो ।  त्यसपछि प्राधिकरणले बोलपत्र स्वीकृत गरेर बंगलादेशलाई जानकारी दिइसकेको थियो । त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर सम्झौता गर्न लागिएको थियो । तर, बंगलादेशको आन्दोलन साम्य भएपछि तत्काल सम्झौता हुने प्रवक्ता सिंहले बताए । ‘सबै तयारी पूरा भएको छ । बंगलादेशको अवस्था साम्य भएपछि यो सम्झौता भइहाल्छ । तसर्थ, यसमा आत्तिनुपर्दैन,’ उनले बताए । 

बंगलादेशले नेपालबाट पाँच वर्षसम्म बर्खाको समयमा ४० मेगावाट विद्युत् किन्न १६ पुस ०८० मा टेन्डर आह्वाान गरेको थियो । त्यसमा प्राधिकरणले बोलपत्रसम्बन्धी कागजात पेस गरेपछि यसको प्रक्रिया अघि बढेको थियो । पाँच वर्षसम्म हरेक वर्षको १५ जुन–१५ नोभेम्बरसम्म ४० मेगावाट विद्युत् बंगलादेश बिक्री गर्ने गरी सम्झौता हुँदै छ । बंगलादेशबाट डलरमा भुक्तानी पाउने गरी सम्झौता गरिनेछ । नेपालले विद्युत् निर्यात गर्दा प्रतियुनिट ६.४० सेन्ट प्राप्त गर्नेछ । यसमा प्राधिकरणले भारतको मुजफ्फरपुर विन्दुसम्म विद्युत् पुर्‍याउनेछ । बंगलादेश निर्यात हुने विद्युत्को मिटर पनि मुजफ्फरपुरमा रहनेछ । त्यसकै आधारमा प्राधिकरणले भुक्तानी पाउनेछ । ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारणलाइनको प्राविधिक चुहावट प्राधिकरणले नै व्यहोर्नेछ । 

मुजफ्फरपुरबाट उता बहरामपुर (भारत)–भेरमारा (बंगलादेश) चार सय केभी प्रसारणलाइन हुँदै बंगलादेश विद्युत् पुर्‍याइनेछ । बंगलादेशमा सीमासम्म पुग्दा विद्युत्को लागत प्रतियुनिट करिब ७.६ सेन्ट पुग्नेछ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर