नेभिगेसन मेनु

०८०/८१ को तेस्रो त्रैमासमा २.२ प्रतिशत मात्रै आर्थिक वृद्धि
सम्पादक:南亚网络电视
समय:2024-07-18 14:43

उत्पादन, खानी, निर्माण र व्यापार क्षेत्र ऋणात्मक हुँदा समग्र अर्थतन्त्र प्रभावित  

सत्तासीन राजनीतिक नेतृत्व तथा नीति निर्माण तहमा रहेका कर्मचारीले अर्थतन्त्रमा क्रमिक सुधार आएको बताउँदै आएका छन् । तर, सरकारी तथ्यांकले भने उनीहरूका दाबीलाई इन्कार गरेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको प्रतिवेदनले आर्थिक वर्ष ०८०/८१ को तेस्रो त्रैमासमा आर्थिक गतिविधि अझ खुम्चिएको देखाएको हो । 

आव ०८०/८१ का अघिल्ला दुई त्रैमास र आव ०७९/८० को तेस्रो त्रैमासको तुलनामा गत आवको तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर अझ खस्किएको छ । तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर २.२ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालयको  अनुमान छ । जुन आव ०८०/८१ को दोस्रो त्रैमासको तुलनामा १.६ प्रतिशत विन्दु र पहिलो त्रैमासको तुलनामा ०.८ प्रतिशत विन्दुले न्यून हो । आव ०८०/८१ को तेस्रो त्रैमासको यो वृद्धिदर अघिल्लो आव ०७९/८०को तेस्रो त्रैमासको तुलनामा ०.३ प्रतिशत विन्दुले न्यून हो ।   

कार्यालयका अनुसार आव ०८०/८१ को पहिलो त्रैमासमा ३ प्रतिशत र दोस्रो त्रैमासमा ३.८ प्रतिशतको आर्थिक वृद्धि भएको प्रारम्भिक अनुमान छ । निर्माण र  खानी क्षेत्र अझ बढी ऋणात्मक हुँदा वृद्धिदर खुम्चिएको देखिन्छ । आव ०८०/८१ को दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा कुल १८ वटामध्ये ४ वटा औद्योगिक क्षेत्रमा आएको संकुचनको प्रभाव समग्र कुल गार्हस्थ्य उत्पादनमा देखिएका कारण अर्थतन्त्रमा सामान्य वृद्धि भएको कार्यालयले औँल्याएको छ । 

यद्यपि, कार्यालयले भने धनात्मक वृद्धिले समग्र अर्थतन्त्र सकारात्मक वृद्धितर्फ उन्मुख रहेको दाबी गरेको छ । कार्यालयले आफ्नो प्रतिवेदनमा भनेको छ, ‘यो त्रैमासिकमा अर्थतन्त्रको धनात्मक वृद्धि हुनुमा गहुँ, आलु, नगदे बाली तथा फलफूल उत्पादनमा भएको वृद्धि तथा पर्यटन आगमनमा भएको वृद्धिसँगै होटेल क्षेत्रको कुल मूल्य अभिवृद्धिमा भएको बढोत्तरी प्रमुख कारक रहेका छन् । अन्य क्षेत्रहरूको धनात्मक वृद्धिले गर्दा समग्र अर्थतन्त्र सकारात्मक वृद्धितर्फ उन्मुख रहेको हो ।’ 

१८ मध्ये ४ क्षेत्र ऋणात्मक

तेस्रो त्रैमासमा अर्थतन्त्रका कुल १८ वटा क्षेत्रमध्ये चारवटा ऋणात्मक देखिएका छन् । १४ वटा औद्योगिक क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर भने धनात्मक रहेको छ । जसमध्ये विद्युत् तथा ग्यास उद्योगसँग सम्बन्धित क्रियाकलापको वृद्धिदर सबैभन्दा धेरै अर्थात् ३७.१ प्रतिशत रहेको छ । आवास तथा भोजन सेवाको वृद्धिदर १९.१ प्रतिशत, यातायात तथा भण्डारण क्षेत्रको १५.० प्रतिशत र  अन्य सेवाका क्रियाकलापहरू (कला, मनोरञ्जनलगायतका क्रियाकलाप) को वृद्धिदर ८.३ प्रतिशत रहेको कार्यालयले उल्लेख गरेको छ । त्यस्तै, निक्षेप तथा कर्जामा भएको वृद्धिसँगै वित्तीय तथा बिमासेवाको वृद्धिदर ६.१ प्रतिशत भएको कार्यालयको विश्लेषण छ । 

यस अवधिमा सबैभन्दा बढी ऋणात्मक वृद्धिदर निर्माण क्षेत्रको ११.२ प्रतिशत हुने कार्यालयको अनुमान छ । त्यस्तै, खानी तथा उत्खनन क्षेत्रको वृद्धिदर ४.८ प्रतिशतले, उत्पादन क्षेत्रको वृद्धिदर २ प्रतिशतले र होलसेल तथा खुद्रा व्यापारको वृद्धिदर २.७ प्रतिशतले ऋणात्मक रहेको छ ।

बाह्य क्षेत्र बलियो, आन्तरिक अर्थतन्त्र कमजोर

आव ०८०/८१ को ११ महिनामा नेपालको चालू खाता दुई खर्ब ३९ करोडले बचतमा छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति चार खर्ब २५ अर्ब ६७ करोडले बचतमा छ । विदेशी विनिमय सञ्चिति १९ खर्ब ६७ अर्ब पुगेको छ, जसले साढे १२ महिनाको वस्तु तथा सेवाको आयात धान्न सक्छ । अहिले बाह्य क्षेत्र बलियो भयो भनेर खुसी हुने अवस्था नरहेको अर्थविद् नरबहादुर थापा बताउँछन् । ‘खासमा आन्तरिक अर्थतन्त्र कमजोर भएर बाहय क्षेत्र बलियो हुन पुगेको हो, यता आर्थिक गतिविधि भएन जसका कारण आयात घट्यो, आयात घट्दा भुक्तानी सन्तुलन भयो, विदेशी मुद्रा जोगियो,’ उनले भने, ‘हाम्रो अर्थतन्त्र रेमिट्यान्स र आयातमा आधारित भएको छ, आयात बढेको भए अर्थतन्त्रको बाह्य क्षेत्र यति बलियो हुँदैनथ्यो ।’  राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता डा. हेमराज रेग्मीले अर्थतन्त्रको बाह्य क्षेत्र बलियो देखिए पनि आन्तरिक अर्थतन्त्र भने अझै कमजोर देखिएको बताए । खासगरी पुँजीगत खर्च कमजोर हुँदा आन्तरिक अर्थतन्त्र कमजोर हुन पुगेको उनको भनाइ छ ।

आन्तरिक अर्थतन्त्र अझै कमजोर देखिएको छ : डा. हेमराज रेग्मी प्रवक्ता, तथ्यांक कार्यालय

आर्थिक वर्ष ०८०/८१ का आधारभूत मूल्यमा ३.५४ प्रतिशतको आर्थिक वृद्धिदर हुने कार्यालयले यसअघि नै प्रक्षेपण गरिसकेको छ । तेस्रो त्रैमाससम्म आईपुग्दा वृद्धिदर धनात्मक नै छ । तेस्रो त्रैमासमा २.२ प्रतिशत वृद्धि हुने देखिएको छ । आकार बढी भए पनि वृद्धिदर भने अघिल्ला त्रैमासको तुलनामा कम देखिएको  छ । खासगरी पुँजीगत खर्च बढ्न नसक्दा वृद्धिदर बढी हुन नसकेको हुनुपर्छ । अर्थतन्त्रको बाह्य क्षेत्र बलियो देखिए पनि आन्तरिक अर्थतन्त्र भने अझै कमजोर देखिएको छ । 

पुँजीगत खर्च नबढ्दा आन्तरिक अर्थतन्त्र कमजोर : नरबहादुर थापा, अर्थविद्

सरकारले खर्च बढाउन नसक्दा आन्तरिक अर्थतन्त्र कमजोर भएको हो । भर्खरै सकिएको आर्थिक वर्षमा पनि पुँजीगत खर्चमा सुधार हुन सकेन । सरकारले विकास निर्माण गर्न सकेन । जसका कारण निर्माण क्षेत्र र यससँग जोडिएका अन्य क्षेत्र ऋणात्मक हुन सके । निजी क्षेत्रमा जाने कर्जा घट्दै गएको छ । यसले निजी क्षेत्रले पनि पुँजी निर्माण गर्न नसकेको देखाउँछ । विदेशी लगानी घटेको छ, विदेशी अनुदान घटेको छ । यी सबै कारणले आर्थिक गतिविधि बढ्न सकेका छैनन् । यो त मन्दीको संकेत हो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर