नेभिगेसन मेनु

‘मेरिटोक्रेसी’ र चिनियाँ समाज
सम्पादक:南亚网络电视
समय:2024-06-10 12:26

WeChat Screenshot_20240610101045

गत वर्ष चीन भ्रमणका क्रममा एक चिनियाँ परिवारले डिनरका लागि निम्तो दिएका थिए । गफ चलिरहँदा चिनियाँ दाइले आफ्ना दुई छोरीको कुरा गर्दै भने, मेरी जेठी छोरी डाक्टरी पढ्दै छिन्, अब अर्को वर्ष डाक्टर बन्छिन् । कान्छी छोरीका लागि कति खर्च गर्छु तैपनि उनी पढ्न खासै मन गर्दिनन्, साहै्र चिन्ता लाग्छ । मैले भनेँ, भरखर ५–६ मा पढ्दै छिन्, किन धेरै पढाइको दबाब दिन्छौ ? बिस्तारै पढिहाल्छिन् नि, दबाब नदेऊ । माध्यमिक तहसम्मको पनि अध्ययन नगरेका ती दाइले भने— यहाँ चीनमा मान्छेको पढाइले मात्र तिनीहरूको भविष्य निर्धारण गर्छ । अहिले त झन् यति प्रतिस्पर्धा बढेको छ, राम्रो पढेन भने त यहाँ कामै छैन । हामीजस्तो मध्यम वर्गीयसँग त झन् अरू कुनै विकल्प नै बाँकी रहँदैन ।

हुन पनि ऐतिहासिक रूपमा चीन मेरिटोक्रेसी, यानि सामाजिक हैसियत आर्थिक र पारिवारिक पृष्ठभूमिले नभई व्यक्तिगत योग्यताले निक्र्योल गर्ने पद्धति भएको राज्यका रूपमा रहेको छ । यो योग्यतामा आधारित व्यवस्थाको इतिहास दुई हजार वर्षभन्दा पनि पुरानो हो । निजामती सेवाको सुरुवात गर्ने पहिलो राष्ट्र चीनले सुरु गरेको प्रतिस्पर्धात्मक र निष्पक्ष निजामती सेवाको परीक्षा ‘केजू’को उद्देश्य नै राज्यलाई शासन गर्न उत्कृष्ट कर्मचारीको छनोट गर्नु रहेको थियो ।

ऐतिहासिक चीनको प्रमुख आविष्कारमध्येको एक मानिने केजू मात्र यस्तो एउटा मार्ग थियो, जसबाट साधारण चिनियाँले पनि कुलीन वर्गको हैसियत बनाउन सक्थे । यसकारण मेरिटोक्रेसीमा चिनियाँ जनताको विश्वास उनीहरूको संस्कृति र संस्था दुवैमा निहित रहेको छ । चिनियाँ मेरिटोक्रेसीको एउटा उत्कृष्ट उदाहरण हो ‘काओखाओ’, अर्थात् चिनियाँ राष्ट्रिय उच्च शिक्षा प्रवेश परीक्षा, जसलाई केजूकै प्रणालीका रूपमा लिइन्छ । चीनजस्तो विशाल जनसंख्या भएको देशमा अधिकांश चिनियाँका लागि काओखाओ प्रतिभाको स्क्रिनिङ गर्ने र उच्च शिक्षामा बराबर अवसर र पहुँच सुनिश्चित गर्ने सबैभन्दा राम्रो र निष्पक्ष तरिका साबित भएको छ ।

शिक्षित चीनले चिनियाँ समुदायलाई मात्र प्रतिनिधित्व गर्नेछैन, प्रमुख विश्व शक्तिका रूपमा स्थापित शिक्षित चीनले समग्र ग्लोबल साउथको आवाजको समेत प्रतिनिधित्व गर्नेछ

काओखाओलाई चिनियाँ विद्यार्थीको सबैभन्दा महत्वपूर्ण परीक्षाका रूपमा लिइन्छ । यो महत्वपूर्ण यसकारण छ किनभने यसले हरेक चिनियाँ विद्यार्थीको भविष्य निर्धारण गर्न ठूलो भूमिका खेल्छ । ग्रामीण ठाउँ र आर्थिक हिसाबले कमजोर विद्यार्थीका लागि काओखाओ ठूला सहर र उत्कृष्ट विश्वविद्यालय आएर आशाजनक भविष्य निर्माण गर्नका लागि एक प्रमुख ढोका बन्न सक्छ ।

हरेक विश्वविद्यालयको न्यूनतम ‘इनटेक स्कोर’ हुन्छ र विद्यार्थीले काओखाओ परीक्षामा प्राप्त गरेको अंकले तिनीहरू कुन विश्वविद्यालय जाने, त्यसको निक्र्योल गर्छ । उच्च स्कोर, मतलव उत्कृष्ट विश्वविद्यालय, अनि जति उत्कृष्ट विश्वविद्यालय उति नै राम्रो भविष्यको ‘क्यारियर’ र सम्भावना । एक विद्यार्थीले कुनै पनि विद्यालयका आवश्यकता पूरा नगरेको खण्डमा उसले त्यस शैक्षिक वर्षका लागि कलेजमा प्रवेश गर्ने मौका पूर्ण रूपमा गुमाउँछ । उसले या त अर्को वर्षका लागि पर्खनुपर्छ या अध्ययनका लागि व्यावसायिक शिक्षाजस्ता अन्य विकल्प खोज्नुपर्छ । युरोप, अमेरिका र अस्ट्रेलियाका विभिन्न शैक्षिक संस्थाले पनि आफ्नो भर्ना मापदण्डमा काओखाओको अंकलाई मान्यता दिएका छन् ।

चिनियाँ हाई स्कुलको अन्तिम वर्ष नै काओखाओको तयारीमा बित्छ । हरेक विद्यार्थीको एउटै ध्याउन्न हुन्छ, उच्च अंक प्राप्त गर्ने । जसका लागि दैनिक १४ देखि १६ घन्टाको अध्ययन सामान्य बनाउँछ । बालबालिकाको स्कोरलाई कुनै पनि कुराले असर नगरोस् भन्ने सुनिश्चित गर्न सम्पूर्ण परिवार नै परिचालित हुन्छ भने परीक्षार्थीलाई कुनै प्रकारको असहजता नहोस् भनेर पूरै देशले ध्यान दिन्छ ।

ग्रामीण क्षेत्रका विद्यार्थीको तुलनामा सहरी क्षेत्रका विद्यार्थीको शैक्षिक स्रोतमा पहुँच बढी हुने भएकाले त्यस्ता विद्यार्थीले ‘काओखाओ’ परीक्षामा राम्रो अंक हासिल गर्ने सम्भावना बढी रहन्छ

उदाहरणका लागि, परीक्षा केन्द्रहरूमा जाने विद्यार्थी र अभिभावकका लागि सबवे स्टेसनमा विशेष “प्राथमिकता लेन” बनाइएका हुन्छन् भने धेरैजसो ठाउँमा परीक्षार्थीलाई बाधा नहोस् भनेर परीक्षा अवधिभर परीक्षास्थलको निश्चित दायराभित्र कुनै पनि प्रकारको ध्वनि निषेध गरिएको हुन्छ । बाटामा हजारौँ स्वयंसेवक र प्रहरी खटिएका हुन्छन् भने कतिपय ठाउँमा परीक्षार्थीलाई सहज बनाउन ट्याक्सीचालकले निःशुल्क सेवा प्रदान गर्छन् । निष्पक्ष प्रतिस्पर्धा सुनिश्चित गर्न परीक्षाका प्रश्नपत्र र अन्य कागजातलाई राज्यकै शीर्ष गोप्य दस्तावेजका रूपमा वर्गीकृत गरिएको हुन्छ र प्रहरीको उच्च सुरक्षा र जिपिएस ट्र्याकरको निगरानीमा ढुवानी गरिन्छ । ठगी रोक्न परीक्षा केन्द्रमा कडा सुरक्षा व्यवस्था अपनाइन्छ । 

समय र प्रविधिको विकाससँगै अनुहार पहिचान, बौद्धिक सुरक्षाद्वार र ड्रोनजस्ता उन्नत प्रविधि व्यापक प्रयोगमा आएका छन् । काओखाओलाई चिनियाँहरू एउटा लकडीको पुल मान्छन् जसमा हजारौँ सेना र दसौँ हजार घोडाबीच भागदौड चलिरहेको छ । हरेक वर्ष जुनमा आयोजना हुने काओखाओ यसपालि ७ र ८ जुनमा सम्पन्न भएको छ । चिनियाँ शिक्षा मन्त्रालयका अनुसार यस वर्ष एक करोड ३४ लाखभन्दा बढी विद्यार्थीले काओखाओका लागि आफ्नो आवेदन दर्ता गरेका छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा पाँच लाखभन्दा बढी हो र अहिलेसम्मकै उच्च ।

काओखाओलाई लिएर आलोचना नभएको होइन । यीमध्ये एउटा आलोचना हो— सामाजिक र क्षेत्रीय असन्तुलनको मुद्दा । ग्रामीण क्षेत्रका विद्यार्थीको तुलनामा सहरी क्षेत्रका विद्यार्थीको शैक्षिक स्रोतमा पहुँच बढी हुने भएकाले सहरी क्षेत्रका विद्यार्थीले काओखाओ परीक्षामा राम्रो अंक हासिल गर्ने सम्भावना बढी रहन्छ । यो एक वास्तविक चिन्ता हो । यस मुद्दालाई सम्बोधन गर्न चिनियाँ सरकारले पिछडिएको क्षेत्रका विद्यार्थीलाई उच्च शिक्षामा प्रवेश गर्ने अवसर उपलब्ध गराउन विभिन्न नीति अघि सारेको छ ।

उदाहरणका लागि सन् २००४ मा चीन सरकारले पश्चिमी क्षेत्रका लागि “दुई आधारभूत आवश्यकता”का रूपमा नौ वर्षको अनिवार्य शिक्षा, युवा र मध्यम उमेरका मानिसमा निरक्षरता उन्मूलन गर्ने नीति र बोर्डिङ स्कुल निर्माण परियोजना ल्याएको थियो । सन् २०१४ मा गरिबी प्रभावित क्षेत्रका बालबालिकाको विकासका लागि राष्ट्रिय योजना (२०१४–२०२०)ले गरिबीग्रस्त क्षेत्रमा बालबालिकाको अधिकार संरक्षण र विकासको प्रस्ताव गरेको थियो । चीन सरकारले आफ्नो १३औँ पञ्चवर्षीय योजनामा शिक्षासम्बन्धी गरिबी उन्मूलन गर्न लडाइँ सुरु गर्ने जनाएको थियो भने मध्य र पश्चिमी क्षेत्रमा समान शैक्षिक सुधार र विकासलाई बढावा दिन मार्गनिर्देशन जारी गरेको थियो ।

सन् २०१८ मा जारी भएको गरिब क्षेत्रमा शिक्षा गरिबी उन्मूलनका लागि योजना (२०१८–२०२०) ले यस्ता क्षेत्रमा व्याप्त शिक्षाका समस्यालाई सम्बोधन गरेको छ भने २०२० मा चीन सरकारले शिक्षाका माध्यमबाट समग्र गरिबीविरुद्धको अन्तिम लडाइँमा विजय हासिल गर्ने भन्दै योजना परिचालन गरेको छ । यसका अतिरिक्त शैक्षिक विकासमा क्षेत्रीय असमानतालाई प्रभावकारी रूपमा कम गर्न शैक्षिक रूपमा विकसित र अविकसित क्षेत्रका शैक्षिक संस्थाबीच सहयोगको एक संयन्त्र स्थापित गरिएको छ, जसबाट पिछडिएको क्षेत्रका संस्थाले आफ्नो गुणस्तर वृद्धि गर्न विकसित क्षेत्रका राम्रा शैक्षिक संस्थाबाट स्रोत र साधन सहयोग प्राप्त गर्छन् । विभिन्न अध्ययनले विगत दुई दशकमा चीनको शैक्षिक विकासमा क्षेत्रीय असमानता, विशेषगरी सहरी र ग्रामीण क्षेत्रबीचको असमानता निरन्तर संकुचित हुँदै गएको देखाएको छ ।

काओखाओमा असफल हुनु जीवनसँग नै हार्नु अवश्य होइन । हामी सबैले सुनेको नाममा यून अर्थात् अलिबाबा समूहका ज्याक माले तेस्रो प्रयासमा सो परीक्षा उत्तीर्ण गरेका थिए । चीनको प्रतिष्ठित न्यु ओरिएन्टल एजुकेसन एन्ड टेक्नोलोजी ग्रुपका संस्थापक र चीनको सबैभन्दा धनी शिक्षकका रूपमा चिनिने यु मिन्होङ पनि दुईपटक असफल भएका थिए । चियाङसु प्रान्तको ग्रामीण र पिछडि़एको क्षेत्रमा कृषक परिवारमा जन्मेका यु मिन्होङले तेस्रो प्रयासमा उच्च अंक हासिल गर्दै पेकिङ विश्वविद्यालयमा अध्ययन गर्ने मौका पाएका थिए । 

६ जून, २०१६ मा काओखाओमा सहभागी हुने विद्यार्थीलाई शुभकामना दिँदै भौतिकशास्त्री स्टिफन हकिङले आफ्नो वेइबो अकाउन्टमा लेखेका थिए– म तपाईंहरू, वैज्ञानिक दिमागका नयाँ पुस्तालाई, शैक्षिक प्रयासमा सफलताको कामना दिन चाहन्छु । ... तपाईंहरू अर्को पुस्ताको दार्शनिक वा नेता हो जसले आगामी दिनमा आउने पुस्ताको भविष्यलाई आकार दिनेछ । अवश्य पनि शिक्षित चीनले चिनियाँ समुदायलाई मात्र प्रतिनिधित्व गर्नेछैन, प्रमुख विश्व शक्तिका रूपमा स्थापित शिक्षित चीनले समग्र ग्लोबल साउथको आवाजको प्रतिनिधित्व गर्नेछ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर