नेभिगेसन मेनु

चार वर्षदेखि अस्पताल निर्माण अलपत्र ठेकेदार सम्पर्क विहीन
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-11-18 13:14

XZvbzxb

मङ्सिर २ गते । पर्वतको विहादी गाउँपालिकामा ठेकेदारको चरम लापरबाहीका कारण अस्पताल निर्माणको कार्य अलपत्र बनेको छ । विहादी गाउँपालिकाको वडा २ स्थित उपल्लो बर्रा चौरमा निर्माणाधीन १५ शय्याको प्राथमिक अस्पताल भवन चार वर्षदेखि अलपत्र पारिएको छ ।

स्थानीयवासीले अस्पताल भवन निर्माणका लागि भनी ९ रोपनी ४ आना क्षेत्रफल बराबरको जग्गा निःशुल्क उपलब्ध गराएका थिए । जग्गादाताहरूमा स्थानीयवासी डोलेन्द्र गिरी, राम गिरी, कृष्ण गिरी, भूपेन्द्र पौडेल, भूमिश्वर पौडेल, अर्जुन भट्टराई लगायत छन् । साउदी सरकारको पुनर्निर्माणको साउदी फन्ड अन्तर्गत ६ करोडको आर्थिक सहयोगमा बन्दै गरेको भवन निर्माणको सम्झौता भ्याली कन्स्ट्रक्सन कम्पनी प्रालिले लिएको हो । कम्पनीले निर्माणको कामलाई बेवास्ता गरी वर्षौँदेखि अलपत्र पार्दै आएको छ ।

नजिकमा अस्पताल स्थापना गरेमा स्वास्थ्य सेवा सहज होला भनी पसाउँदै गरेको धान बाली नष्ट गरी जग्गा सम्म पार्न भनी डोजर लगाउन दिइयो तर अहिले ४ वर्ष बितिसक्दा समेत भवनको जग स्थापना गर्ने काम समेत पुरा नभएको स्थानीयवासीको गुनासो छ । सङ्घीय आयोजना कार्यान्वयन इकाई पोखराका इन्जिनियर रामकृष्ण गिरी अस्पताल भवन निर्माणमा भएको ढिलाइबारे भन्नुहुन्छ–“भवन निर्माणमा ढिलाइ व्यवसायीकै कमजोरीका कारण भएको हो । नियमानुसार भवनको डिपीसी निर्माण सम्मको पाउनुपर्ने रकम भुक्तानी लिएर पनि काममा ढिलाइ भइरहेको छ । यस कार्यालयमा आएर काम थालेको भर्खरै मात्रै भएको हुँदा पनि मैले धेरै कुरा बुझ्न बाँकी छ । हामी छिटै नै फिल्डमै गएर बुझ्दै छौँ ।”

निर्माण व्यवसायी रमेश पौवालेले निर्माण कार्यमा ढिलाइबारे भन्नुभयो–“जग्गा सम्म बनाउन समय लागेको कारण ढिलाइ भएको हो । बिचमा निर्माण व्यवसायीको जिम्मेवारी परिवर्तनले पनि कामलाई अगाडि लैजान सकिएन । निर्माणको म्याद थप भएको छ । आगामी चैत भित्र निर्माण सम्पन्न हुन्छ ।”

भवन निर्माणका लागि तोकिएको १७ महिनाको अवधिमा निर्माण पुरा नगरी ४ वर्ष बिताउने निर्माण व्यवसायीको भनाइमा भने स्थानीयवासीको विश्वास छैन । वडा २ का पूर्व अध्यक्ष ओम कुँवर भन्नुहुन्छ–“निर्माण व्यवसायीले मुखले काम गर्छु भन्ने तर व्यवहारमा नगर्ने देखिएको छ । दुर्गम क्षेत्रमा अस्पताल निर्माणको काम छिटो सम्पन्न हुने हो भने स्वास्थ्य सेवाको अभावमा बसाइसराई गरी बाहिर जाने मानिसको सङ्ख्यामा कमी हुने थियो । गाउँलेलाई स्वास्थ्य सेवा सहज हुने थियो ।”

सङ्घीय आयोजना कार्यान्वयन इकाई पोखराका अनुसार भ्याली कन्स्ट्रक्सन कम्पनीले स्याङ्जा आरु चौरमा आयुर्वेदिक अस्पताल र सेती दोभानमा प्राथमिक अस्पतालको भवन निर्माणको सम्झौता समेत गरी करिब १९ करोडको प्याकेजमा निर्माण सम्झौता गरेको हो । स्थानीयवासीले आफूले अस्पताल भवन निर्माण गर्न भनी निःशुल्क जग्गा दान दिँदा पनि सरोकारवाला पक्षको बेवास्ता र ठेकेदारको लापरबाहीका कारण निर्माणको काम अगाडि बढ्न नसकेको भनी गुनासो गरेका छन् । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर