वर्षभरकै सबैभन्दा धेरै सार्वजनिक बिदा हुने समय हो दसैँ । दसैँको परम्परागत शैली अनुसार टीका जमरा लगाउनेबाहेक यही बिदाको मेसोमा नयाँ ठाउँ र नौलो परिवेशको घुमघाम गर्ने चलन एकदमै बढ्दो छ । दसैँको अवसरमा सबै परिवारजनको भेटघाट हुने हुँदा पारिवारिक घुमघाम संस्कृति पनि फस्टाएको छ ।
दसैँ आसपासको मौसम नेपाल घुम्ने सबैभन्दा उत्तम मौसम पनि हो । यो नेपालमा सबैभन्दा धेरै पर्यटक भित्रिने समयमा पर्छ । यसरी नेपाल घुम्न आउने पर्यटकबाटै नेपालीमा पनि विस्तारै घुम्ने संस्कृति विकास भएको देखिन्छ ।
वर्षभर आफ्नो कामले व्यस्त हुनेहरूलाई यो घुमघामका लागि उपयुक्त समय पनि हुने गरेको छ । दसैँतिहार र छठ पर्वको लामो बिदामा परिवारसँग घुम्ने प्रचलनले धेरै गन्तव्य स्थलमा भिडभाड पनि हुने गर्छ । त्यसैले पनि कतिपय पर्यटकीय स्थानमा सवारी तथा होटल पाउनै मुस्किल पर्छ । कतिपय दसैँको समय पारेर विदेश भ्रमणमा समेत जाने गर्छन् ।
दसैँको समयमा घुम्ने योजनामा हुनुहुन्छ राजधानीमा बसेर स्नातक अध्ययनरत कैलालीका हेमांश ओझा । वर्ष दिनमा एक पटक भए पनि घुम्नु पर्छ भन्दै साथीहरूसँग मुस्ताङ जाने योजनामा रहनुभएका उहाँसहितको टोली पोखरा, जोमसोम, कागबेनी, मुस्ताङलगायतका पर्यटकीय गन्तव्य घुमेर यस वर्षको दसैँलाई अवस्मरणीय बनाउने तयारीमा हुनुहुन्छ । “सानो हुँदा स्कुलबाट वार्षिक रूपमा एक दिन आयोजना हुने वनभोज, शैक्षिक भ्रमणलगायतका यात्रामा मात्रै जान पाइन्थ्यो । उच्च शिक्षाका लागि राजधानी भित्रिएको दुई वर्षमा घुमघाम र रैथाने खानाका बारेमा अलि अलि बुझ्दै गएकाले नयाँ ठाउँको भ्रमण, नौला मान्छेसँगको भेटघाट र नयाँ परिकारको स्वाद लिने हुटहुटीले यो वर्ष साथीहरूसँग घुम्ने योजना बनेको छ,” उहाँले भन्नुभयो ।
त्यस्तै अर्घाखाँचीका यमकुमार श्रेष्ठ पनि साथी र परिवारसँग समूहमा वैदेशिक भ्रमणको योजनामा रहनुभएको छ । बैङ्किङ क्षेत्रमा कार्यरत उहाँ दसैँको बिदाको सदुपयोग गर्दै यसपालि थाइल्यान्ड जाने तयारीमा रहनुभएको छ ।
पदयात्रामा रमाउँदै पर्यटक
विदेशी पर्यटकको रोजाइमा मात्र पर्ने पदयात्रा अहिले नेपाली पर्यटकको रोजाइमा पनि पर्न थालेको छ । दसैँको समयमा हुने बिदाको समय पारेर अन्नपूर्ण पदमार्ग क्षेत्र, धौलागिरि चक्रीय पदमार्ग, सगरमाथा आधार शिविर, कञ्चनजङ्घा, मर्दी हिमाल पदमार्ग, गोसाइँकुण्ड तथा लाङटाङलगायत तामाङ सम्पदा क्षेत्रमा पदमार्गमा जानेको सङ्ख्या बढ्न थालेको छ । यसले ती क्षेत्रमा छुट्टै रौनकता पनि थप्ने गर्छ । वर्षा घट्दै गएको, मौसममा क्रमशः सुधार आउँदा पैदल यात्रा सहज र रोमाञ्चक पनि हुने गर्छ । खास गरी उच्च भागबाट हिमालको अवलोकन गर्न सहज तथा अर्गानिक उत्पादनको भोजनका लागि पदयात्रामा रमाउन चाहने पर्यटक बढ्दै गएका छन् । पछिल्लो समय एकल पदयात्रामा कडाइ गरिएपछि समूहमा पदयात्रामा जानेको सङ्ख्यासमेत बढ्दै गएको लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले बताउनुभयो । उहाँका अनुसार हिमाली पदयात्रा अन्तर्गत गत साउनदेखि यही असोज २० गतेसम्म १० हजार सात सय ७० जना आन्तरिक एवं बाह्य पर्यटकले लाङटाङ तथा पवित्र तीर्थ गोसाइँकुण्ड क्षेत्रको भ्रमण गरेका छन् ।
तीमध्ये सार्क राष्ट्रका ६२ जना, अमेरिका, अस्ट्रेलिया, जर्मनलगायत विभिन्न देशका एक हजार छ सय ५२ पर्यटकले उक्त पदमार्गमा पदयात्राको अनुमति लिएको उहाँले बताउनुभयो । उक्त निकुञ्ज क्षेत्रको भ्रमण गर्ने पर्यटकबाट प्रवेश शुल्कबापत ४५ लाख रुपियाँ आय भएको निकुञ्जका अभिलेखकर्ता रेन्जर सुनील राउतले जाकारी दिनुभयो ।
यस्तै चालु आर्थिक वर्षको साउनदेखि यही असोज २० सम्म लाङटाङ राष्ट्रिय निकुञ्जले पदयात्राका लागि दिएको अनुमतिबाट एक करोड राजस्व आर्जन गरेको छ । उक्त रकम पर्यटक शुल्कका साथै निकुञ्जमा सञ्चालित होटलको बक्यौता तथा गत आर्थिक वर्षमा हेलिकोप्टर अवतरणसमेतका विविध स्रोतबाट राजस्व हो ।
त्यस्तै म्याग्दीको रघुगङ्गा गाउँपालिका–७, चिमखोलामा अवस्थित धौलागिरि आइसफल पदमार्गमा समेत आन्तरिक पर्यटकको आगमन बढ्दै गएको छ । धौलागिरि आइसफल पदमार्ग अन्तर्गत सोवाङ धुरी एकै ठाउँबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खला अन्तर्गतका दर्जनौँ हिमाललाई एकै ठाउँबाट अवलोकन गर्न सकिने यस पदमार्ग पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइ बन्दै गएको रघुगङ्गा गाउँपालिका–७, चिमखोलाका वडाध्यक्ष थकप्रसाद पाइजाले जानकारी दिनुभयो ।
चक्रीय अन्नपूर्ण पदमार्गमा जाने पर्यटकको सङ्ख्यामा समेत वृद्धि हुँदै गएको छ । सेप्टेम्बर महिनाको सुरुवातसँगै दैनिक सयदेखि डेढ सय पर्यटक बेँसीसहर हुँदै अन्नपूर्ण पदमार्ग भित्रिन थालेकोमा अहिले दैनिक दुई सयभन्दा बढी पर्यटक यो पदमार्गमा भित्रिन थालेका छन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङ–धारापानी चेकपोस्टका अनुसार अन्नपूर्ण पदमार्गमा विशेष गरी बेलायत, इजरायल, चीन, जर्मनी, अमेरिका, फ्रान्स, जापान, अस्ट्रेलियालगायत देशका नागरिकसँगै आन्तरिक पर्यटकको मुख्य आकर्षण रहने गरेको छ । यो सिजनमा मनाङका खर्क अनि घाँसेमैदान हरियो हुने तथा फापर र उवा फुलेको दृश्यावलोकनसँगै मनाङ जाने पर्यटकले विशेष गरी थोराङपास, लार्केपास र कालापास साथसाथै विश्वको अग्लो स्थानमा रहेको तिलिचो तालको अवलोकन गर्न यो पदमार्ग रोज्ने गरेका छन् ।
विदेशी पर्यटकको रोजाइमा मात्र पर्ने पदयात्रा अहिले नेपाली पर्यटकको रोजाइमा पनि पर्न थालेको छ । दसैँको समयमा हुने बिदाको समय पारेर अन्नपूर्ण पदमार्ग क्षेत्र, धौलागिरि चक्रीय पदमार्ग, सगरमाथा आधार शिविर, कञ्चनजङ्घा, मर्दी हिमाल पदमार्ग, गोसाइँकुण्ड तथा लाङटाङलगायत तामाङ सम्पदा क्षेत्रमा पदमार्गमा जानेको सङ्ख्या बढ्न थालेको छ ।
नेपालमा पदयात्रा पर्यटनका लागि मनासलु, कञ्चनजङ्घा, माथिल्लो मुस्ताङ, थ्री पास ट्रेक, धौलागिरि र अन्नपूर्ण क्षेत्र, रारा ताल, सगरमाथा र मकालु आधार शिविर, माथिल्लो डोल्पा, लाङटाङ उपत्यका उत्कृष्ट गन्तव्य मानिन्छन् । विश्वका उत्कृष्ट पदमार्गमा नेपालको गोक्यो, सगरमाथा आधार शिविर र मनासलु, भुटानको स्नोमेन मार्ग, पेरुको इन्का ट्रेल र हिउयेच, तान्जानियाको माउन्ट किलिमान्जरो, चिलीको टोरेस्ट डेल पेन, स्विट्जरल्यान्डको हेउट मार्ग र अस्ट्रेलियाको ओभरल्यान्ड पदमार्गहरू पर्छन् ।
घुम्नलायक १० गन्तव्य
घुमफिर गर्नका लागि यति बेलाको मौसम निकै उपयुक्त मानिन्छ । दसैँमा धेरैले घुम्न जाने योजना बनाए पनि घुम्ने ठाउँका बारेमा जानकारी नहुँदा अलमलिइरहेका हुन्छौँ । घुम्न जाने ठाउँबारे पर्याप्त पूर्वसूचना नहुँदा रमाइलो गर्न जाँदा सास्ती खेप्नुपर्ने अवस्थासमेत आउँछ ।
मुक्तिनाथ : प्रकृतिप्रेमीका लागि मुस्ताङको जोमसोम र त्यस वरिपरिको क्षेत्र विश्वमा नै प्रसिद्ध छ भने धार्मिक पर्यटकका लागि मुक्तिनाथ चर्चित छ । केही वर्षपहिलेसम्म विदेशी पर्यटकको मात्र रोजाइमा पर्ने जोमसोम–मुक्तिनाथ अहिले नेपालीको रोजाइमा पनि पर्न थालेको छ । पोखराबाट जोमसोम–मुक्तिनाथका लागि सहज यातायात उपलब्ध रहेको र एकल यात्राका लागि समेत विभिन्न ट्राभल एजेन्सीले दसैँ बिदा विशेष प्याकेज ल्याउने भएकाले यो गन्तव्य सहज हुन सक्छ । यहाँ खान र बासका लागि सुविधासम्पन्न होटल भेट्न सकिन्छ ।
स्वर्गद्वारी : स्वर्गद्वारी धार्मिक हिसाबले जति महìव रहेको छ, प्राकृतिक सुन्दरता पनि त्यति नै भरिपूर्ण छ । प्युठान जिल्लाको सदरमुकाम खलङ्गाबाट करिब २६ किलोमिटर पश्चिममा रहेको यो ठाउँबाट आठ हजार मिटरभन्दा अग्ला तीन वटा हिमालसहित धौलागिरि, नीलगिरि, माछापुच्छ«े, अन्नपूर्ण, लमजुङ, हिमचुली, मनासलु, चुरेन, पुथालगायत हिमशृङ्खला देख्न सकिन्छ ।
पोखरा : चाडबाडको छेको पारेर परिवार तथा साथीहरूसँग घुम्नका लागि धेरैको रोजाइमा पर्दै आएको गन्तव्य हो पोखरा । प्राकृतिक सुन्दरताले भरिपूर्ण पोखराको नाइट लाइफ उस्तै आकर्षक हुन्छ । लाइभ म्युजिक, डिस्को डान्स, गजल–दोहोरीले पनि पर्यटकलाई भुलाउने गर्छन् । तालमा रमाउन मात्र नभई साहसिक खेलकुद प्याराग्लाइडिङ, जिप फ्लायर, केबलकार, अल्ट्रालाइट, प्याराग्लाइडिङले बसाइ लम्ब्याउन सकिन्छ ।
लुम्बिनी : गौतम बुद्धको जन्मभूमि लुम्बिनी आन्तरिक पर्यटकका लागि रोजाइको गन्तव्य हो । बुटवल–भैरहवा हुँदै बढीमा डेढ घण्टामै पुग्न सकिने लुम्बिनी विभिन्न शैलीमा निर्माण भएका चैत्य तथा गुम्बाले स्वदेशी तथा विदेशी पर्यटकलाई लोभ्याउने गर्दछ । अशोक स्तम्भ शिलालेख, पुष्करिणी अर्थात् पोखरी, बुद्ध जन्मेको सङ्केत ढुङ्गा, बुद्ध जन्मेको मूर्ति, मायादेवी मन्दिर, विभिन्न स्तूपा, तेलार नदी, शान्तिदीप र मायादेवी मन्दिर तथा लुम्बिनी गाउँको भग्नावशेष लुम्बिनीका प्रमुख पुरातात्त्विक आधार हुन् ।
रारा : वर्षभरिको तनाव, धपेडी भुलेर उन्मुक्त रमाउन चाहनुहुन्छ भने दसैँको फुर्सदमा राराको यात्रा स्मरणीय हुन सक्छ । १०.८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको छिनभरमै बदलिने गाढा निलो पानीले अद्भुत अनुभव गराउन सक्छ । पाँच किलोमिटर लम्बाइ र ३.२ किलोमिटर चौडाइ रहेको राराको गहिराइ १६७ मिटर रहेको छ । तालको वरिपरि घुम्नका लागि पदमार्ग पनि छ । सफा पानीमा स्नो ट्राउट माछा तथा हाँस, जलेवाजस्ता चरा डुबुल्की मारेको दृश्यले राराको वातावरण नै भिन्न छ । दिनभरिमा आफ्नो रूप फेरिरहने रारा तालबाट करिब तीन घण्टाको पैदल यात्रापछि यसको पश्चिमतर्फ रहेको मुर्माटपमा पुग्न सकिन्छ । जहाँबाट रारा तालको मनमोहक दृश्यका साथै सैपाल हिमालको शृङ्खलाको मनोरम अवलोकन गर्नसमेत सकिन्छ । त्यस्तै रारा राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तुको समेत अवलोकन गर्न सकिन्छ ।
इलाम : दसैँको बिदामा घुमघाम गर्ने एउटा प्रमुख गन्तव्यमध्ये इलाम छुटाउनै नहुने गन्तव्य हो । नागबेली डाँडामा चियाका बगान रहेको इलाम चिसो हावापानी, चिया बगानको रमणीयतामा हराउनेलाई इलाम रमणीय गन्तव्य हुन सक्छ । थुम्का थुम्कामा लगाइएको चिया बगान र नागबेली सडकले निकै सुन्दर रहेको इलाममा श्रीअन्तुदेखि सूर्योदय दृश्यावलोकनका लागि पनि थुप्रै आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।
डोल्पा : घुमघामका लागि लामो समय भएकाहरू डोल्पाको शे–फोक्सुन्डो ताललाई गन्तव्य बनाएर डोल्पा यात्रामा जान सक्छन् । ४.८ किलोमिटर लामो र एक दशमलव आठ किलोमिटर चौडाइ भएको यो ताल छ सय ५० मिटर गहिरो छ । हरियो र निलो रङको अनुपम मिश्रणले रङ्गिन शे–फोक्सुन्डो ताल पुग्न नेपालगन्जबाट डोल्पाको जुफाल विमानस्थल र त्यहाँबाट तीन घण्टाको पैदल यात्रामा डोल्पाको सदरमुकाम दुनै पुगिन्छ । दुनैबाट वास्तविक पदयात्राको आनन्दसहित शे–फोक्सुन्डोको यात्रा सुरु हुन्छ ।
घलेगाउँ होमस्टे : ग्रामीण जनजीवनमा रमाउने पर्यटकका लागि लमजुङको घलेगाउँ उपयुक्त गन्तव्य बन्न सक्छ । यहाँ गुरुङ समुदायसँगै बसेर दसैँको फरक अनुभव लिन सकिन्छ । साथै यहाँको गुरुङ संस्कृति, रोधी, स्थानीय अर्गानिक खानाले पर्यटकलाई लोभ्याउने गर्दछ ।
खप्तड : पुराना शैलीका आकर्षक घर र ग्रामीण जनजीवनको आनन्द लिँदै भूस्वर्गका नामबाट चिनिने खप्तड डोटी, अछाम, बाजुरा र बझाङका विभिन्न क्षेत्रबाट पुग्न सकिन्छ । २५ मैदान र वरिपरि ५३ वटा थुम्का रहेको खप्तड क्षेत्र धुवाँ, धुलो, फोहोरजस्ता प्रतिकूल वातावरणबाट टाढा रहेको छ । ग्रामीण पर्यटकीय वातावरण रुचाउन चाहने पर्यटकले खासगरी यहाँ नेपालको धर्म, संस्कृति, प्रकृति र परम्परा र प्राकृतिक जडीबुटीको अध्ययन गर्न सक्छन् । डोटीको सिलगढीबाट खप्तड उक्लने पदमार्ग अरू वैकल्पिक पदमार्गको तुलनामा निकै सजिलो पदमार्ग पर्दछ । सिलगढीबाट पैदलयात्रा थालेको तेस्रोे दिनमा खप्तड पुगिन्छ ।
रुबी भ्याली : धादिङ जिल्लामा रहेको यो स्थानमा थोरै खर्च र समयमा पुग्न सकिन्छ । तामाङ समुदायको मौलिक मेन्दोमायासँगै लाखेनाच, मानेनाच, पारुनाचका लागि प्रख्यात रुबी भ्याली यात्राको अर्को विशेषता यहाँको दसैँको माहोल पनि हो । स्थानीय भाषामा ‘मार हान्ने’ भन्ने चलन अनुसार युवाले दसैँमा राँगा काट्ने गर्छन् । यस बेला ठुलै मेला लाग्छ । रुबी भ्याली पदयात्राका क्रममा गणेश हिमालको आकर्षक दृश्यावलोकन गर्न सकिन्छ ।