नेभिगेसन मेनु

सधैँ त्रासमा सिन्धुपाल्चोकवासी
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-08-12 12:48

Untitled-1-(1)

सिन्धुपाल्चोक जिल्ला प्राकृतिक विपत्को उच्च जोखिममा छ । यो वर्षायाममा हालसम्म बाढीपहिरोले ठुलो विपत्ति ननिम्त्याए पनि विपत्जन्य घटना हुन सक्ने त्रासले सिन्धुवासी पीडामा छन् । 

जिल्ला विपत् व्यवस्थापन समितिका अनुसार बितेको एक दशकमा सिन्धुपाल्चोकमा ठुल्ठुला आठ वटा विपत्जन्य घटना भए । २०७१ साल साउन १७ गतेको जुरे पहिरोदेखि अहिलेसम्म सिन्धुपाल्चोकमा विपत्जन्य घटनाबाट चार हजारले ज्यान गुमाउनु परेको छ भने सयौँ परिवार विस्थापित भएका छन् । कमजोर र जीर्ण भौगोलिक बनोट, अव्यवस्थित बस्ती, नदी किनारमा घर निर्माण, गरिबी, पिछडिएका वर्गको बसोबासका कारण बाढीपहिरोले सिन्धुवासीलाई  उच्च जोखिममा पारेको छ ।

बर्सेनि जसो ठुला घटना

२०७१ साल साउन १७ गते इटिनी पहाड खसेर भीषण जुरेमा पहिरो जाँदा बलेफी गाउँपालिका–८ को ड्यामसाइट, कागुने, इटिनी गाउँका १५३ घर पुरिँदा १४५ जनाको ज्यान गयो । सुनकोशी नदी १२ घण्टाभन्दा बढी समय थुनियो । २०७२ साल वैशाख १२ गते र त्यसपछिका परकम्पले सिन्धुपाल्चोकमा तीन हजार ५७१ जनाको ज्यान गयो, एक हजार ५६५ घाइते भए र ९३ हजारभन्दा बढी घर पूर्ण ध्वस्त भए । 

२०७३ साल असार २१ गतेको भोटेकोशी नदीको बाढीले भोटेकोशी गाउँपालिकाको लिपिङका ३० घर र तातोपानीका ३० घर गरी ६० घर बगायो । बाह्रबिसे–कोदारी राजमार्ग बाढीले तानेको थियो । २०७४ साल साउन ८ गतेको पहिरोले लार्चा मोटरेबल पुल बगायो । यसले गर्दा बाह्रबिसे–तातोपानी लिपिङ सडक सम्बन्धविच्छेद भएको थियो । 

२०७५ साल भदौ २ गतेको बाह्रबिसे नगरपालिका–३ र ४ को साँधीखोल्सा बाढीपहिरोले मोटरेबल पुल बगायो र बाह्रबिसे बजारका २२ घरमा बाढी पसेको थियो । २०७७ साल असार २४ गतेको भोटेकोशी बाढीले बाह्रबिसे नगरको जम्बुबजारका दुई जनाको मृत्यु भयो भने १७ जना बेपत्ता बनायो । यसले २२ घर बगाएको थियो ।  

२०७७ साल साउन ३० गते बिहान ५ बजे जुगल गाउँपालिका–२ मा बस्ती माथिबाट आएको लिदी पहिरोले ३९ जनाको ज्यान लियो, ३७ घर पुरिए, एक सयभन्दा बढी घरपरिवार विस्थापित भए । २०७८ असार १ गते मेलम्ची बाढीले ठुलो जनधनको क्षति ग-यो । हेलम्बुको भेमाथाङ पहाड सोरिएर आएको उक्त बाढीले नदी आसपास बसोबास गर्ने १८ जनाको मृत्यु भयो । बाढीले बगाएर आधा दर्जन बेपत्ता बनायो । सो बाढीले हेलम्बु, मेलम्ची क्षेत्रका ३०८ घर बगायो भने छ सयभन्दा बढी परिवार विस्थापित भए । यो बाढीले १३ वटा पक्की र झोलुङ्गे पुल बगायो भने सात हजार रोपनी खेतीयोग्य जमिनमा क्षति पुग्यो । 

दुई सय पचास बस्ती उच्च जोखिममा

सिन्धुपाल्चोकमा २५० बस्ती उच्च जोखिममा रहे पनि ती बस्ती स्थानान्तरण गर्ने काममा सुस्तता देखिएको छ । जिल्ला विपत् व्यवस्थापन समितिले विपत् न्यूनीकरण गर्न उद्धार, राहतलगायतका पूर्वतयारी गरे पनि उच्च जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा सार्न कुनै कार्य गरेको छैन । 

भौगर्भिक अध्ययन भई बस्ती सार्नुपर्ने भनिएका जुगल गाउँपालिकाको चार बस्ती गोल्चे, सेलाङ, बाँसखर्क, लिदी, भोटेकोशी गाउँपालिकाको ५३ बस्ती लार्चा, धनपाल, मिलन बस्तीलगायतका बस्ती, बाह्रबिसे नगरपालिकाका ८३ बस्ती टङ्सार, नाकपुजे, खाग्दललगायतका बस्ती, बलेफी गाउँपालिका, चौतारा–साँगाचोकगढीका बस्ती स्थानान्तरण हुन सकेका छैनन् । स्थानान्तरण हुन नसक्दा जोखिम मोलेर प्रभावित उक्त बस्तीमै बस्दै आएका छन् । 

सुस्त व्यवस्थापन

लिदी पहिरोका विस्थापित अहिले चौतारा साँगाचोकगढीको देउराली, जुगलको बाँसखर्क, चनौटे, सेलाङलगायतका क्षेत्रमा बसोबास गर्दै आएका छन् । जिल्ला विपत् व्यवस्थापन समितिका अधिकृत रवि धितालले २०७७ सालमा आएको लिदी पहिरोपीडित ६८ परिवारलाई जुगल गाउँपालिका–१, सेलाङमा सरकारले जग्गा खरिद गर्ने कार्य अगाडि बढाएको छ भने १७ परिवारलाई सोही गाउँपालिका–५ मा जग्गा खरिद भएको, ४२ परिवार जुगल–४ देउरालीमा जग्गा खरिद गरिएको र २० घरपरिवारलाई चौतारा साँगाचोकगढीको देउरालीमा जग्गा खरिद गरी आवास निर्माण गरेर बसेको जानकारी दिनुभयो । 

दुई वर्षअघिको मेलम्ची बाढीपीडितले जोखिमयुक्त भए पनि आआफ्नै जग्गामा घर बनाउँदै आइरहेका छन् । ४० पीडित परिवारले आफँैले निजी आवास बनाइसके भने धेरै जना बनाउने क्रममा रहेका छन् । पाँचपोखरी गाउँपालिकाका बाढीपीडितलाई सरकारले जग्गा खरिद गरी आवास बनाउने कार्य अगाडि बढेको छ । सो गाउँपालिकाका ११ पीडित परिवारलाई  भोताङ जग्गा खरिद गरी आवास निर्माण कार्य अगाडि बढेको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर