काठमाडौँ — ९५ औं संस्करणको ओस्कर (एकेडेमी अवार्ड) पुरस्कार अन्तर्गत विभिन्न विधामा विजेता घोषणा भइरहेको छ । सोमबार बिहान भएको ओस्कर अवार्ड समारोहमा एडवर्ड बर्गर निर्देशित 'अल क्वाइट अन द वेस्टर्न फ्रन्ट' ले तीन विधाको अवार्ड आफ्नो पोल्टोमा पारेको छ । यो फिल्म यसपटकको ओस्करको उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म घोषणा गरिएको छ । यस फिल्मले उत्कृष्ट सिनेम्याटोग्राफी र बेस्ट ओरिजिनल स्कोरको अवार्ड समेत पाएको छ ।
फिल्मले विश्वयुद्धका बेला एक जर्मन युवा सैनिकको भोग्ने त्रासदीपूर्ण अनुभवलाई पर्दामा उतारेको छ । यो फिल्मले गत फेब्रअरीमा सम्पन्न बाफ्टा (ब्रिटिश एकेडेमी अफ फिल्म एन्ड टेलिभिजन आर्टस्) अवार्डको उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट गैरअंग्रेजी फिल्म, उत्कृष्ट सिनेम्याटोग्राफी लगायतका सात प्रमुख विधामा पुरस्कार पाएको थियो ।
यस्तै, उत्कृष्ट सहअभिनेता र उत्कृष्ट सहअभिनेत्रीको अवार्ड 'एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स'बाट के ह्ये क्वान र जेमी ली कर्टिसले उचालेका छन् ।
यस्तै, एनिमेटेड फिचर फिल्मका लागि 'ग्विलेर्मो डेल ट्रोज पिनोकियो' ले ओस्कर अवार्ड पाएको छ । डकुमेन्ट्री फिचरको अवार्ड 'नाभल्नी' र डकुमेन्ट्री सर्टको अवार्ड 'द एलिफेन्ट विस्परर्स'ले पाएको छ ।
हेयर एन्ड मेकअप स्टाइलिङको अवार्ड 'द ह्वेल' ले पाएको छ ।
सर्ट फिल्म (एनिमेटेड)को अवार्ड 'द ब्वोई, द मोल, द फक्स एन्ड द हर्स' र सर्ट फिल्म (लाइभ एक्सन)को अवार्ड एन आइरिस गुडबाई'ले पाएको छ ।
अन्य विधाको अवार्डको केहीबेरमा घोषणा जारी छ ।