नेभिगेसन मेनु

चार सिटको उड्ने कार
सम्पादक:南亚网络电视
समय:2023-01-11 12:20

thumb

वासिङ्टन — अमेरिकी कम्पनी अस्काले विश्वकै पहिलो ४ सिट क्षमताको उड्ने विद्युतीय कार ‘अक्सा–ए ५’ को डिजाइन सार्वजनिक गरेको छ । सडकमा गुडाउन मिल्ने कार एक पटकको चार्जमा २ सय ५० माइलसम्म उडाउनसमेत सकिनेछ ।

मालिकले आवश्यकताअनुसार कार सिधै माथि उडाउन र सिधा तल झारेर पृथ्वीको सतहमा अवतरण गर्न सक्ने कम्पनीले जनाएको छ ।

‘हामीले विश्वमै हालसम्म नभएको र मानव समुदायले दशकौंदेखि चाहेको केही नयाँ कुरा ल्याउने सार्वजनिक गरेका छौं,’ कम्पनीका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत गाई काप्लिन्सकीले भनेका छन् । उनका अनुसार ‘अक्सा–ए ५’ हेलिकोप्टर जस्तै सानो स्थानबाट सिधै माथि उडाउन सम्भव हुनेछ । यसका साथै कार जहाजजस्तै रनवेबाट उडाएको खण्डमा यसले कम ऊर्जा खपत गर्ने जनाइएको छ ।

पछिल्लो समय विश्वका अधिकांश मुख्य सहरहरूमा बढिरहेको ट्राफिक जामबाट बच्नका लागि कार निकै उपयोगी हुने ठानिएको छ । ‘छोटो समयमै रेलमार्गहरू निकै व्यस्त भएका छन् । ट्राफिकको समस्या उस्तै छ । मानिसहरूले ट्राफिक जाममै लामो समय खर्च गर्नु परिरहेको छ,’ कम्पनीले भनेको छ, ‘यी समस्याबाट बच्न परिवर्तन आवश्यक छ ।’ यसका साथै, आपत्कालीन सेवा तथा सैनिक तथा प्रहरीको क्षेत्रका लागि पनि नयाँ कार निकै प्रभावकारी हुने अक्साको भनाइ छ ।

कार विभिन्न स्थानमा पार्क गर्न मिल्ने र घर वा विद्युतीय कार चार्जिङ स्टेसनमा चार्ज गर्न सकिने काप्लिन्सकीले बताए । तर कारका पखेटा केही फराकिला भएका कारण पार्किङका लागि भने सामान्य गाडीका लागिभन्दा केही फराकिलो स्थानको आवश्यकता पर्नेछ ।

कार उच्च सुरक्षा मापदण्ड अपनाएर निर्माण गरिएको कम्पनीले जनाएको छ । कार सञ्चालनका लागि इन्जिन तथा ब्याट्रीको प्रयोग गरिएको छ । यसलाई उडाउनका लागि ६ वटा पंखा हुने जनाइएको छ । कम्पनीका अनुसार आपत्कालीन अवस्थामा कारलाई सुरक्षित राख्नका लागि बलिस्टिक प्यारासुटको व्यवस्थासमेत हुनेछ । कार सन् २०२६ सम्म विश्वका प्रमुख सहरहरूमा उपलब्ध भइसक्ने अक्साले जनाएको छ । अक्साले सन् २०२० मा अमेरिकी अन्तरिक्ष एजेन्सी नासासँग हवाई आवतजावतका क्षेत्रमा नयाँ कार्य गर्नका लागि एक सम्झौता गरेको थियो । त्यसअन्तर्गत विभिन्न कार्यहरू भइरहेको जनाइएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर