नेभिगेसन मेनु

अमेरिकी डलर भाउ १२४.६८ रुपैयाँ
समय:2022-06-09 04:24

नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ (विनिमय दर) हालसम्मकै बलियो बनेको छ । बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १२४.६८ रुपैयाँ (बिक्री दर) तोकेको छ । यसअघि गत जेठ ६ मा डलर भाउ १२४.६७ रुपैयाँ पुगेको थियो । करिब तीन सातामा डलरको भाउमा सामान्य कमी भएकोमा पछिल्ला दिनमा लगातार बढिरहेको छ । सोही क्रममा बिहीबार नयाँ उचाइमा पुगेको हो ।

गत असारको तुलनामा चैतसम्म डलरसँग रुपैयाँ २.०४ प्रतिशतले कमजोर (अवमूल्यन) भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षको सोही अवधिमा रुपैयाँ ०.४८ प्रतिशतले बलियो (अधिमूल्यन) भएको थियो । पछिल्ला साढे ४ वर्षमा डलर भाउ करिब २३ रुपैयाँले बढेको छ । सन् २०१७ डिसेम्बरमा १ डलरको भाउ १०२ रुपैयाँ मात्रै थियो । विश्व बजारमा डलरको माग अकासिएपछि भाउ पनि बढ्दै गएको हो । पछिल्लो समय गत वैशाख २७ देखि डलरले हरेक दिनजसो नयाँ रेकर्ड बनाउन थाल्यो । त्यसअघि गत फागुन २४ मा १ डलरको विनिमय दर १२३.४४ रुपैयाँ र २०७७ वैशाख १० मा १२३.२४ रुपैयाँसम्म पुगेको थियो ।

पछिल्ला केही महिनायता डलरको मूल्य उकालो लाग्दा त्यसको असर भारतीय मुद्रा (भारु) हुँदै नेपाली मुद्रासम्म आइपुगेको छ । नेरु र भारुबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । अहिले पनि त्यही भएको हो । बुधबार साँझसम्म एक डलरको विनिमय दर भारु ७७.७२ छ । दुई दिनअघि (जुन ६) यो दर हालसम्मकै उच्च भारु ७८.०६ पुगेको थियो ।

पछिल्ला महिनामा अमेरिकी अर्थतन्त्रको सुधार तीव्र गतिमा भइरहेको छ । गत वैशाखमै अमेरिकामा डलरको भाउले २ दशकयताकै नयाँ उचाइ प्राप्त गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका थिए । हेज फन्डलगायतको मूल्य धेरैले बढेपछि डलरको भाउले पनि त्यतिबेला नयाँ रेकर्ड कायम गरेको थियो । विश्वका मुख्य मुद्राहरूमध्ये डलरको भाउ सबैभन्दा धेरै १०४.१९ मा पुगेको थियो । यो सन् २००४ यताकै उच्च भएको र पछिल्लो एक वर्षमा डलरको भाउ ९ प्रतिशतले बढेको रोयटर्सले जनाएको छ । करिब २ महिनाअघि अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५ प्रतिशत बिन्दुले ब्याजदर बढाएको थियो । यो निर्णयपछि पनि डलर बलियो बन्दै गएको हो । केही महिनायता अमेरिकामा मूल्यवृद्धिले पनि ४० वर्षयताकै नयाँ उचाइ कायम गरेको छ ।

डलर बलियो बन्दा नेपाल आउने रेमिट्यान्समा सकारात्मक प्रभाव पर्छ । डलरको भाउ बढेको समयमा विदेशमा रहेका नेपालीले ठूलो मात्रामा रेमिट्यान्स पठाउने गरेको सरकारी तथ्यांकले पुष्टि गर्छ । यस्तै, डलर बलियो हुँदा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा पनि सकारात्मक प्रभाव पार्छ । यसरी रेमिट्यान्स र एफडीआईमा आएको सुधारले मुलुकको भुक्तानी सन्तुलन बचतमा राख्न ठूलो मद्दत पुग्छ । नेपालले पर्यटन र निर्यातमा राम्रो सुधार गरेर पनि डलर बलियो हुनुको लाभ लिन सक्थ्यो । अहिले पर्यटक बढ्ने र निर्यात बढाउने सम्भावना पनि छैन । यसकारण डलरको मूल्य बढ्दा पनि नेपालले ती क्षेत्रबाट लाभ लिन सकेको छैन ।

बरु नेपाललाई नोक्सान भने भएको छ । सबैभन्दा बढी नोक्सानी वस्तु तथा सेवाको आयातबापतको भुक्तानीमा भएको देखिन्छ । आयात बढ्दो गतिमा रहेकाले त्यसबापत भुक्तानी गर्नुपर्ने दायित्व पनि बढिरहेको छ । रुपैयाँ कमजोर हुँदा वैदेशिक ऋण लगानी भुक्तानीको दायित्व बढ्छ भने विदेशबाट लिएको ऋणको साँवाब्याज भुक्तानीका लागि पनि धेरै बढी रकम तिर्नुपर्छ । विदेशमा औषधोपचार, अध्ययन, भ्रमणलगायत जानेहरूको लागत महँगो पर्छ । अहिले त्यही भएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर