नेभिगेसन मेनु

काबुलबाट काठमाडौं आइपुगेका नेपाली भन्छन्- दूतावासले रेस्क्यु नगरेको भए...
समय:2021-08-18 03:56

अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि त्यहाँस्थित अमेरिकी दूतावासमा रहेका १२७ जना नेपालीलाई अमेरिकी सरकारले उद्धार गरेर नेपाल पठाएको हो। उनीहरु अफगानिस्तानको राजधानी काबुलबाट दोहा, कुबेत हुँदै मंगलबार बिहान काठमाडौं आइपुगेका हुन्।

अफगानिस्तानबाट स्वदेश फर्किएका नागरिकहरुले अमेरिका दूतावासमा रहेका कारण आफूहरुलाई समस्या नभएको प्रतिक्रिया दिएका छन्। धनगढीका कृष्ण तामाङका अनुसार बाहिर समस्या भए पनि अमेरिकी दूतावासमा कुनै समस्या नभएकाले गाह्रो नभएको बताए। 

उनले अमेरिकी दूतावासमा अन्य स्थानको भन्दा सुरक्षित रहेको बताए। 'बाहिर-बाहिर समस्या थियो होला, हामी सेभ थियौँ, अमेरिकी एम्बेसी भएकाले यहाँको भन्दा सेभ थियौँ,' उनले भने।

त्यस्तै अफगानिस्तानमा ३ वर्षदेखि काम गरिरहेका र आजै स्वदेश फर्किएका अर्का नेपाली प्रकाश श्रेष्ठले बाहिरको अवस्था असहज रहेको बताए। उनले दूतावासमा रहेकालाई स्वदेश फर्किउन्जेल केही नगर्ने भनिएकाले त्यति गारो असहज नभएको बताए।

'बाहिरी एरियामा अहिल गाह्रो छ, भित्र एम्बेसीमा केही गर्दैनौ तपाईहरु स्वदेश फर्किउन्जेल भनेको थियो, युएस एम्बेसीमा रहेका सबै नेपाली आयौँ, अफगानिस्तनामा अझै कति नेपाली हुनुहुन्छ त्यो यकिन थाहा छैन, हामीलाई यूएस एम्बेसीले नै ल्याएको हो, नेपालीहरु सबै सुरक्षित नै छन्, यूएस आर्मीको हेलिकप्टरले रेस्क्यू गरेर एयरपोर्टसम्म ल्याउने काम गरिहेको छ,' उनले भने।

त्यस्तै स्याङ्जाका इन्द्र पौडेलले आफू एम्बेसीमा रहेकाले बाहिरका नेपाली साथीहरुको बारेमा खासै जानकारी नरहेको बताए। उनले नेपाल सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई स्वदेश ल्याउने पहल गरिदिए राम्रो हुने बताए। त्यहाँको अहिलेको अवस्था एकदमै दर्दनाक र सुन्नै नसकिने रहेको जानकारी दिए।

'बाहिरका साथीहरुको बारेमा खासै जानकारी भएन, तपाईँहरुले पहल गरिदिए उहाँहरुलाई सजिलो हुन्थ्यो, कोही किड्न्याप भएको भन्ने कुराहरु पनि आएको छ, आधिकारिक रुपमा सुनेको छैन, एकदमै दर्दनाक, सुन्नै नसकिने र देख्नै नसकिने अवस्था छ, त्यहाँबाट फर्किंदा नै धेरै राम्रो छ,' उनले भने।

अमेरिकी दूतावासले उद्धार गरेर नेपाल फर्काएका १२७ जना नेपाली नेपाली सेनाले क्वारेन्टाइनका लागि सामाखुसीस्थित राधास्वामी सत्संग लगेको छ। त्यहाँ आरटीपीसीआर परीक्षणपछि क्वारेन्टाइनको अवधि सकिएसँगै उनीहरुलाई घर पठाउने सरकारको योजना छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर