
अक्ल्याण्ड । न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लुक्सनले आगामी नोभेम्बर ७ तारिखका लागि आम निर्वाचनको मिति घोषणा गरेका छन्। बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री लुक्सनले मुलुकको अस्थिर र अनिश्चित विश्व परिस्थितिमा 'स्थिर र बलियो सरकार' दिन सक्ने नेतृत्व छनोट गर्ने जिम्मा जनताको हातमा रहेको बताए।
अत्यन्तै लोकप्रिय नेत्री जसिन्डा आर्डनपछि सत्ता सम्हालेका लुक्सनको राजनीतिक यात्रा निकै छिटो र रोचक देखिएको छ। सन् २०२० मा सांसद बनेका पूर्व विमान सेवा कार्यकारी लुक्सन त्यसको एक वर्षमै नेसनल पार्टीको नेता र सन् २०२३ मा प्रधानमन्त्री बन्न सफल भएका थिए।
यद्यपि, सत्तामा रहँदा देशको अर्थतन्त्र सुस्त भएपछि पछिल्लो समय उनको लोकप्रियतामा भने केही गिरावट आएको छ। हाल न्युजिल्याण्डमा महँगी, आवास समस्या र बेरोजगारी दर ५ प्रतिशतभन्दा माथि पुगेको छ, जसलाई आगामी निर्वाचनको मुख्य एजेन्डा मानिएको छ।
सन् २०२३ देखि नेसनल पार्टी, न्युजिल्याण्ड फर्स्ट र एक्ट पार्टीको गठबन्धनले देश चलाइरहेको छ। पछिल्ला जनमत सर्वेक्षणहरूले आगामी चुनावमा नेसनल पार्टी र लेबर पार्टी नेतृत्वका गठबन्धनहरूबिच कडा प्रतिस्पर्धा हुने देखाएका छन्। लुक्सनले आफ्नो कार्यकालमा खस्किँदो अर्थतन्त्रलाई सही दिशामा ल्याउन कडा मिहिनेत गरेको दाबी गर्दै आर्थिक सुधारकै जगमा पुन: सत्तामा आउने विश्वास व्यक्त गरेका छन्।
‘हामीले सत्ता सम्हाल्दा स्थिति सुधार्न गाह्रो हुने थाहा थियो, तर पछिल्ला दुई वर्षमा नेसनल पार्टीले जगदेखि नै काम गरेको छ,’ लुक्सनले भने, ‘अहिले देश सही दिशामा अघि बढिरहेको छ र हाम्रो ध्यान भविष्य निर्माणमा केन्द्रित छ।’
संवैधानिक प्रावधान अनुसार आगामी डिसेम्बर १९ भित्र निर्वाचन गराइसक्नुपर्ने प्रावधान भए पनि लुक्सनले नोभेम्बरको सुरुवातलाई नै रोजेका हुन्।





