नेभिगेसन मेनु

भेनेजुएलामा अमेरिकी आक्रमण, राष्ट्रपति दम्पती पक्राउ
सम्पादक:南亚网络电视
समय:2026-01-04 11:37

 

 333

काठमाडौँ, पुस २० गते । अमेरिकाले भेनेजुएलामाथि सैन्य आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलस मदुरो र उहाँकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत मदुरो र उहाँकी पत्नीलाई पक्राउ गरिएको जानकारी दिनुभएको छ । 

फक्स समाचारलाई अन्तर्वार्ता दिँदै अमेरिकाका राष्ट्रपति ट्रम्पले मदुरो र उहाँकी पत्नीलाई अमेरिकाको युद्धपोत इवो जिमामा चढाएर न्युयोर्क ल्याउँदै गरिएको बताउनुभएको छ । “हो, उनीहरू एउटा इवो जिमा जहाजमा छन्,” टेलिफोनमार्फत लिइएको अन्तर्वार्तामा उहाँले भन्नुभएको छ, “उनीहरूलाई न्युयोर्क ल्याइँदै छ । हेलिकोप्टरमार्फत उनीहरूलाई बाहिर ल्याइयो र एउटा सुखद उडानका साथ उनीहरूले हेलिकोप्टरमै यात्रा गरे । मलाई लाग्छ, उनीहरूले त्यो यात्रा मन पराए तर उनीहरूले धेरै मानिसको हत्या गरेका छन् ।” न्युयोर्कमा मदुरोमाथि लागुऔषधको मुद्दा चलाइने बताइएको छ । 

यता भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोद्रिगेजले राष्ट्रपति मदुरो जीवित रहेको प्रमाण दिन आग्रह गर्नुभएको छ । मदुरो दम्पतीलाई अमेरिकी सेनाको डेल्टा फोर्सले विशेष सैन्य कारबाही गर्दै पक्राउ गरेको हो । डेल्टा फोर्स अमेरिकाको एक विशिष्ट प्रतिआतङ्कवादविरुद्धको सैन्य टुकडी हो । राष्ट्रपति पक्राउ गर्ने क्रममा आफ्नातर्फ कुनै मानवीय क्षति बेहोर्नु नपरेको अमेरिकाले जनाएको छ । अब भेनेजुएलामा थप आक्रमण नहुने सम्भावना रहेको बताइएको छ । 

मदुरोलाई पक्राउ गरिए पनि भेनेजुएलाको सकार भने उनकै नेतृत्वमा रहेका नेताहरूले सञ्चालन गरिरहेका छन् । भेनेजुएलाका विदेशमन्त्री इभान गिल पिन्टोले राष्ट्रपतिमा मदुरो नै रहने र संविधानले अझ मजबुद ढङ्गले काम गर्ने प्रतिक्रिया दिएका छन् । राष्ट्रपति पद कसैले नहडप्ने उहाँले अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई बताउनुभएको छ । 

अमेरिकी राष्ट्रपति ट्रम्पले भने मदुरोको पक्राउपछि त्यहाँको सरकार सञ्चालन अब अमेरिकाले गर्ने बताउनुभएको छ । 

पक्राउ पर्नुअघि भेनेजुएलाको राजधानी काराकसमा शृङ्खलाबद्ध विस्फोट गरिएको थियो । लगत्तै राष्ट्रपति मदुरोले राष्ट्रिय सङ्कटकाल घोषणा गर्नु भएको बिबिसीले जनाएको छ । मदुरोलाई पक्राउ गरिएपछि राजधानी काराकसका सडक पूर्ण रूपमा खाली देखिएको बताइएको छ । भेनेजुएलाका सेनाले खाली सडकमा गस्ती गरिरहेका छन् । अहिले त्यहाँको सडकमा मदुरोका समर्थकले प्रदर्शन सुरु गरेका छन् । 

राष्ट्रपति ट्रम्पको एक महिना लामो दबाब अभियानपछि शनिबार राजधानी काराकसमा विस्फोट भएको उल्लेख गर्दै भेनेजुएलाले अमेरिकालाई गम्भीर सैन्य आक्रमण गरेको आरोप लगाएको छ । शनिबार बिहान २ बजेदेखि सहरमा उड्ने विमानको आवाज जस्तै सुनिने गरी विष्फोटहरू भएको एएफपीले जनाएको छ । राजधानीको उत्तरमा रहेको ला गुइरामा पनि विस्फोटको आवाज सुनिएको जनाइएको छ, जहाँ काराकसका विमानस्थल र बन्दरगाह अवस्थित छ । 

यसैबिच संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले अमेरिकाको यो कदमले ‘खतरनाक नजिर स्थापना गर्ने’  बताउनुभएको छ । उहाँका प्रवक्ताले जारी गर्नुभएको विज्ञप्तिमा महासचिवले संयुक्त राष्ट्र सङ्घको चार्टरसहित सम्पूर्ण अन्तर्राष्ट्रिय कानुनको पूर्ण सम्मान हुनुपर्ने बताउनुभएको छ । 

अमेरिकाको कदमप्रति गम्भिर चिन्ता व्यक्त गर्दै छिमेकी कोलम्बियाका राष्ट्रपतिले आक्रमणको विषयलाई लिएर संयुक्त राष्ट्रसङ्घको आपत्कालीन बैठक बोलाउन आग्रह गर्नुभएको छ । वामपन्थी नेता गुस्ताभो पेट्रोले सामाजिक सञ्जाल एक्समा भेनेजुएलामा भएको आक्रमणका बारेमा सम्पूर्ण विश्वलाई सचेत गराइरहेको बताउनुभएको छ । रुस र क्युवाले भेनेजुएलामाथि गरिएको अमेरिकी आक्रमणको विरोध गरेका छन् । बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले यस घटनामा आफ्नो संलग्नता नरहेको स्पष्ट पार्दै ‘यसबारे सबै तथ्य स्पष्ट पार्नुपर्ने बताउनुभएको छ । पछिल्लो निर्वाचनदेखि नै मदुरोको वैधताबारे प्रश्न उठाउँदै आएको युरोपियन युनियनले अमेरिकाको कदमलाई ‘अत्यधिक शक्ति प्रयोग’ का रूपमा व्याख्या गरेको छ । 

यसअघि सोमबार ट्रम्पले अमेरिकाले भेनेजुएलाका कथित लागुऔषध डुङ्गाहरू आक्रमण गरी नष्ट गर्ने बताउँदै नियन्त्रण अभियानको पहिलो प्रयास आक्रमण हुने बताउनुभएको थियो । ट्रम्प प्रशासनले मदुरोलाई लागुऔषध ओसारपसारको नेतृत्व गरेको आरोप लगाएको छ ।  मदुरोले लागुऔषध कारोबारमा आफ्नो संलग्नतालाई अस्वीकार गर्दै वासिङ्टनले आफूलार्ई सत्ताच्युत गर्न खोजिरहेको बताउँदै आउनुभएको थियो । 

वासिङ्टनले पछिल्लो समयमा अनौपचारिक रूपमा भेनेजुएलाको हवाई क्षेत्र बन्द गरी थप प्रतिबन्ध लगाएको छ । भेनेजुएलाको तेलले भरिएका ट्याङ्करहरू जफत गर्न आदेश दिएको छ ।

अमेरिकी सेनाले सेप्टेम्बरदेखि क्यारेबियन सागर र पूर्वी प्रशान्त महासागरमा डुङ्गाहरूमा धेरै आक्रमण गरेको छ, जसलाई वासिङ्टनले लागुऔषध तस्करहरू भनेको छ । अमेरिकी सेनाका अनुसार आक्रमणमा कम्तीमा १०७ जनाको मृत्यु भएको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर