अमेरिका — राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सुरु भएको २ सय दिनको अवधिमा १६ लाख गैरकानुनी आप्रवासीले अमेरिका छाडेका छन् ।
ट्रम्पले गैरकानुनी आप्रवासी निष्कासितलाई कडाइका साथ कार्यान्वयन गरेपछि २ सय दिन अवधिमा स्वतस्फूर्त, पक्राउपछि निष्कासित र भिसा अवधि सकिएका १६ लाख (१.६ मिलियन)ले अमेरिका छाडिसकेको अमेरिकी अध्यागमनसम्बन्धी उच्च निकाय होमल्यान्ड सेक्युरिटीले दाबी गरेको छ ।
होमल्यान्ड सेक्युरिटीकी सचिव क्रिष्टी नोएमले सूचना जारी गर्दै ट्रम्प प्रशासनले अघि बढाएको योजना र आइसको सक्रियताका कारण स्वतस्फूर्त अमेरिका छाड्नेको संख्या वृद्धि भएको बताएकी छन् । ‘२ सय दिनमा १६ लाख गैरकानुनी आप्रवासीहरुले अमेरिका छाडेका छन्, यो हाम्रो ठूलो सफलता हो । धेरै संख्या गैरकानुनी आप्रवासीले अमेरिका छाड्दा रोजगार बढेको छ । विद्यालय, अस्पतालमा दबाब घटेको छ । हामी राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिन चाहन्छौं,’ होमल्यान्ड सेक्युरिटीको सूचनामा उल्लेख छ ।
ट्रम्प प्रशासनले नेपाललगायत मुलुकको टेम्प्रोररी प्रोटेक्ट स्टाटस (टीपीएस) खारेज गरेसँगै अमेरिका छाड्नेको संख्या अझै वृद्धि हुने अनुमान गरिएको छ । २०२५ जनवरीसम्म १ करोड ५८ लाख (१५.८ मिलियन) गैरकानुनी आप्रवासी रहेको अमेरिकामा २ सय दिन अर्थात् सात महिनामा १६ लाख घटेपछि १ करोड ४२ लाख मात्र रहेको होमल्यान्ड सेक्युरिटीले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । विगत चार वर्षदेखि निरन्तर बढेको गैरकानुनी आप्रवासीको संख्या सात महिना अवधिमै घटाउन सफल भएको होमल्यान्ड सेक्युरिटीकी सचिव नोएमको दाबी छ ।
तथ्यांकअनुसार सन् २०२१ मा १ करोड २ लाख (१०.२ मिलियन), २०२२ मा १ करोड १४ लाख (१०.४ मिलियन), २०२३ मा १ करोड २६ लाख (१२.६), २०२४ मा १ करोड ४० लाख (१४ मिलियन र २०२५ को जनवरीमा १ करोड ५८ लाख (१५.८ मिलियन) गैरकानुनी आप्रवासी रहेको र अहिले घटेर १ करोड ४२ लाख (१४.२ मिलियन) रहेको नोएमले घोषणा गरेकी छन् ।
गैरकानुनी आप्रवासी नियन्त्रण र निष्कासनका लागि ट्रम्प प्रशासनले ७४ बिलियन अमेरिकी डलर बजेट विनियोजन गरिसकेको छ । ट्रम्पको कार्यकालभरका लागि विनियोजन गरेको बजेट आइसले गैरकानुनी आप्रवासीलाई अमेरिकाबाट निष्कासनमा खर्च गरिरहेको छ । जसमध्ये हिरासत केन्द्र विस्तारमा करिब ४४ बिलियन र पक्राउ, निष्कासन अभियानका लागि करिब ३० बिलियन बजेट छुट्याइएको छ ।
राष्ट्रपति ट्रम्पको कार्यकाल सुरु भएयता सात महिना अवधिमा अमेरिकाबाट निष्कासित हुनेमध्ये ३३ प्रतिशत आपराधिक गतिविधिमा संलग्न रहेको दाबीसमेत गरिएको छ । अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन विभाग युनाइटेड स्टेट्स इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आईस)ले २०२५ जनवरी तेस्रोदेखि अगस्ट तेस्रो सातासम्म सात महिना अवधिमा अमेरिकाबाट निष्कासित गरिएका २ लाख ७९ हजार गैरकानुनी रुपमा आएका आप्रवासीमध्ये ३३ प्रतिशत आपराधिक गतिविधिमा संलग्न देखिएको दाबी गरेको हो ।
आइसको तथ्यांकअनुसार आपराधिक गतिविधिमा संलग्न पुष्टि भएकामध्ये ४७ हजार ८ सय ८५ अपराधी करार भई सजाय पाएका, १६ हजार ५ सय ५२ यौन अपराधमा संलग्न, २ हजार ६ सय ९९ हत्यामा संलग्न र २ सय ३७ जना आतंकवादी क्रियाकलापमा संलग्न रहेकाहरु निष्कासित भएका हुन् ।
सात महिना अवधिमा आइसद्वारा पक्राउ परेका र अमेरिकाबाट निष्कासित भएका २ लाख ७९ हजार गैरकानुनी आप्रवासीमध्ये ३३ प्रतिशत आपराधिक गतिविधिमा संलग्न रहेको पाइएको आइसको उच्च निकाय होमल्यान्ड सेक्रेटरीकी सचिव क्रिष्टी नोएमले अमेरिकी सञ्चारमाध्यमहरुसँग बताएकी छन् ।