नेभिगेसन मेनु

चैती छठको दोस्रो दिन : आज खरना पर्व मनाइँदै
सम्पादक:南亚网络电视
समय:2025-04-02 13:59

chhatt

एस् ए टी भी २० चैत्र, काठमाडौँः सूर्य उपासनाको चारदिने महापर्व चैती छठअन्तर्गत आज दोस्रो दिन खरना पर्व मनाइँदै छ।  

मिथिलाञ्चलमा मङ्गलबारदेखि धार्मिक विधिअनुसार सुरु भएको यो पर्वको दोस्रो दिन आज साँझ घरघरमा कुलदेवताको पूजा गरी सूर्यदेव र छठी मातालाई चैती छठ स्वीकार गर्न निम्तो दिँदै खरना मनाइन्छ। जलेश्वर नगरपालिका–१ स्थित जलेश्वरनाथ महादेव मन्दिरका सहायक पूजारी कामेश्वर पाठकले बताएअनुसार यो दिन व्रतालुले सूर्यदेव र छठी माताको आगमनको निमन्त्रणा गर्छन्।  

जलेश्वर–८ की व्रतालु सुमिन्त्रा देवीका अनुसार खरनाको दिन मिथिलानी व्रतालु दिनभर निर्जल र निराहार उपवास बस्छन्। साँझ खीर, पूरी, लरु (लड्डु), केरा र तुलसीको पातको प्रसाद तयार गरी कुलदेवताको पूजा गरेर सूर्यदेव र छठी मातालाई निमन्त्रणा दिइन्छ। प्रसाद (नेउज) चढाएपछि व्रतालुले राति अरवा अरबाईन (नुन नहालेको) खानेकुरा मात्र खान्छन्, जसमा खीर, पूरी र केरा समावेश हुन्छ।  

यो चारदिने पर्व मिथिलाञ्चलका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत भारतको मिथिला क्षेत्रमा धुमधामसँग मनाइन्छ। जलेश्वर–५ का संस्कृतिविद् ध्रुव रायका अनुसार यो पर्वले सत्य र अहिंसाप्रति रुचि बढाउँछ र सबै जीवप्रति सहानुभूति राख्न प्रेरित गर्छ। पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगमुक्ति र मनोकामना पूरा गर्न श्रद्धापूर्वक मनाइने यो पर्वमा पोखरी, नदी, तलाउ र जलाशयमा भक्तजनको भीड लाग्छ।  

पर्वको पहिलो दिन मङ्गलबार व्रतालुले नहा खा (नुहाएर जीउ चोख्याउने) गरे। दोस्रो दिन आज बुधबार खरना मनाइँदै छ। तेस्रो दिन बिहीबार षष्ठी तिथिमा मुख्य पूजा हुन्छ। यो दिन गहुँ र चामल ओखल, जातो वा ढिकीमा कुटेर बनाइएको पिठोबाट ठकुवा, भुसवा, खजुरीया, पेरुकिया जस्ता गुलियो पकवान र मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिर, नरिवल, सुन्तला, केरालाई नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती र ठूलो ढाक्कीमा राखेर परिवारका सदस्य भक्ति र लोकगीत गाउँदै छठ घाट पुग्छन्। साँझ पानीमा पसेर अस्ताउँदो सूर्यलाई पिठार, सिन्दुर, अक्षेता र फूलसहित अर्घ चढाइन्छ।  

चौथो दिन शुक्रबार सप्तमीमा बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर पर्व सम्पन्न हुन्छ। पौराणिक कथनअनुसार अज्ञातवासमा रहेका पाण्डव र द्रौपदीले मिथिलाको किरात राजाको क्षेत्रमा बसेर सूर्यदेवको आराधना गरेका थिए। लोककथनअनुसार त्यहीँबाट छठको परम्परा सुरु भएको हो।  

सूर्य पुराणमा अनुसुइयाले छठ व्रत गरेर अटल सौभाग्य र प्रेम पाएको उल्लेख छ। हिन्दु र मुस्लिम दुवैले मनाउने यो पर्व सामाजिक सद्भावको प्रतीक बनेको छ। यसमा ७० वस्तु चढाउने चलन छ, तर सामर्थ्य नहुनेले गम्हरी धानको चामल मात्र चढाए पनि देउता प्रसन्न हुने जनविश्वास छ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर