नेभिगेसन मेनु

कर्णाली करिडोर कालोपत्र गर्न ४ अर्बको ठेक्का
सम्पादक:南亚网络电视
समय:2025-02-25 12:01

karnali cooridor

एस् ए टी भी १३ फाल्गुण, काठमाडौँः बजेट अभाव र काममा ढिलासुस्तीले ट्र्याक खुल्नै डेढ दशक लागेको बहुचर्चित कर्णाली करिडोरको खुलालु–हिल्सा सडकअन्तर्गत ५० किलोमिटर सडक कालोपत्र गर्न ४ अर्बभन्दा बढीको बहुवर्षीय ठेक्का प्रक्रिया सुरु भएको छ ।

खुलालु–सल्लीसल्ला खण्डको स्तरोन्नतिसहित कालोपत्र गर्न कर्णाली करिडोर खुलालु–सल्लीसल्ला सडक योजना कालीकोटले फागुन २ मा ४ अर्ब २३ करोडको बहुवर्षीय ठेक्का आह्वान गरेको हो । बाजुराको लैफूदेखि हुम्ला सिमानासम्म ५० किमिका लागि दुई खण्डमा ठेक्का खुलाइएको हो । कालीकोटको खुलालुदेखि हिल्सासम्म ३ सय ४७ किलोमिटर पर्छ । तर जमुनाहदेखि चीनको हिल्सासम्म ५ सय ८ किलोमिटर दूरी पर्छ ।

कर्णाली करिडोरमा हालसम्मकै बढी रकमको ठेक्का लागेको शर्माले सुनाए । कर्णाली करिडोरमा पर्ने नदी तथा खोलामा पक्की पुल निर्माण गर्न गत वर्ष १ अर्बभन्दा बढीको ठेक्का भइसकेको छ । कालीकोट, बाजुरा, मुगु र हुम्लाका १३ वटा स्थानीय तहसहित भारत र चीनलाई जोड्ने कर्णाली करिडोरको स्तरोन्नति भएपछि यस क्षेत्रको जीवनस्तरमा सुधार हुने स्थानीयको विश्वास छ । यो सडक सुधार भए मानसरोवर जान भारतीय पर्यटकको संख्या बढ्ने स्थानीयको आशा छ ।भारतको जमुनाहदेखि चीनको हिल्सासम्म त्रिदेशीय सडक कर्णाली करिडोरलाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको छ । तीन वर्षभित्र स्तरोन्नतिसहित कालोपत्रको काम सकिने गरी बहुवर्षीय ठेक्का भएको कर्णाली करिडोर खुलालु–सल्लीसल्ला सडक योजना प्रमुख तुलाराम शर्माले बताए ।

उत्तर–दक्षिण लोकमार्ग कर्णालीको विकासको मेरुदण्ड भएको कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले जनाए । संघीय सरचनाअनुसार केन्द्र सरकारले प्रदेशलार्ई अधिकार नदिएको गुनासो गर्दै आएका कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल राष्ट्रिय गौरवका आयोजनामा महत्त्वका साथ सरकारले बजेट दिन थाल्नु पनि उपलब्धि भएको बताउँछन् । ‘संघ सरकार पनि प्रदेशलाई अधिकार दिने सवालमा सकारात्मक देखिएको छ । उपलब्ध स्रोतसाधनको अधिकतम परिचालन गर्न हामी पनि चुक्नु हुँदैन,’ उनले भने ।

कर्णाली करिडोरअन्तर्गत हालिएका सबै बेलिब्रिज विस्थापन गरेर पक्की पुल निर्माणका लागि काम भइरहेको छ । कालीकोटको खुलालु, सान्नीगाड, फुगाड, जुडडी, कुवाडी खोला, गल्फागाड, सल्लीसल्लालगायत ठाउँमा पक्की पुल निर्माण भइरहेका छन् । केही ठाउँमा काम सुरु भइसकेको र केहीमा यसै वर्षभित्र सुरु हुने आयोजनाले जनाएको छ । कालीकोटको खुलालुदेखि बाजुराको पिलुचौरसम्म गत वर्षदेखि ठेक्कामार्फत सडक स्तरोन्नतिसहित पुलको काम भइरहेको छ भने थप ५० किलोमिटरका लागि सवा ४ अर्बको ठेक्का लागेको हो ।

गत वर्ष खुलालुदेखि बाजुरासम्म ६० किलोमिटरका लागि सडक सुधार, केही ठाउँमा मर्मतसम्भार, ग्याबिन पर्खाल, ग्राभेललगायत कामका लागि ६० करोडमा ६ वटा ठेक्का भएर काम भइरहेको छ । खुलालुदेखि पिलुचौरसम्मको कालेपत्रका लागि बजेट सुनिश्चितता भएपछि अर्को आर्थिक वर्षमा ठेक्का हुने योजना प्रमुख शर्माले बताए । कालीकोट खण्डमा फुकोट जलविद्युत्का कारण डुबान हुने ठाउँमा सडकको लाइन परिवर्तन गर्नुेपर्नेबारे छलफल भइरहेको उनले सुनाए ।

बाजुराको पिलुचौरदेखि हुम्लाको कुवाडी खोला हुँदै सल्लीसल्ला सडकखण्ड स्तरोन्नतिका लागि चालु आर्थिक वर्षका लागि १ अर्ब १२ करोड ४८ हजार बजेट विनियोजिन भएको छ । यो ठेक्काको काम ३ वर्षभित्र सम्पन्न गर्ने योजना छ । ठेक्का ४ अर्ब २३ करोडको भए पनि कन्सन्जेन्सी र भ्याट कटाएर ३ अर्ब ८ करोडको मात्र काम हुने सडक विभागका अधिकारीको भनाइ छ ।

कर्णाली करिडोरको सलीसल्लादेखि हिल्सासम्मको १ सय ४६ किमि सडक मर्मत–सुधारका लागि पनि ३४ करोडको ठेक्का लागेर काम भइरहेको छ । हिल्साबाट हुम्लाको सदरमुकाम सिमकोट जोड्न ७ जग्गा विवादले हुम्ला सदरमुकामनजिकै ७ सय मिटर सडक बन्न बाँकी छ । ‘घुमाउरो बाटोबाट त हिल्सा सिमकोट सडक जोडिएको छ,’ हुम्लास्थित हिल्सा–सिमिकोट आयोजना प्रमुख बेलबहादुर नेपालीले भने, ‘स्थानीयले विवाद गरेकाले ७ सय मिटर सडक खन्न बाँकी छ ।’ वर्षामा हुम्लाको खार्पुनाथस्थित चुवा खोला तर्न नसकेर गाडी सिधै सुर्खेत जान सक्ने अवस्था छैन । उक्त ठाउँमा हाल नेपाली सेनाले बेलिब्रिज निर्माण गरिरहेको छ ।

खुलालुबाट हुम्ला सदरमुकाम सिमकोट जोड्ने सडक एक वर्षअघि सम्पन्न भएर स्थानीय रूपमा गाडी गुडिरहेका छन् । कडा चट्टान, बजेट अभाव र निकासमा हुने ढिलासुस्तीले राष्ट्रिय गौरवको आयोजना भनिए पनि ट्र्याक खुल्ने डेढ दशक लागेको नागरिक समाज हुम्लाका अगुवा गोविन्दबहादुर शाहीले बताए । कर्णाली करिडोरमा सडकको दुरवस्थाका कारण गाडी भाडा पनि अचाक्ली महँगो भएको हुम्ला सर्केगाडका नवराज रोकायाको गुनासो छ । ‘गाडी त आयो, भाडामा अचाक्ली छ । सर्केगाडबाट सुर्खेत पुग्न ४ हजार तिर्नुपर्छ,’ उनले भने, ‘सडक स्तरोन्नति भए गाडी भाडा पनि घट्ला भन्ने आशा छ ।’

२०७१ चैत ५ को मन्त्रिपरिषद् बैठकले खुलालु–सिमकोट सडक विशेष परिस्थितिको भन्दै निर्माणको जिम्मा नेपाली सेनालाई दिएपछि कामले केही गति लिएको थियो । कालीकोटको खुलालुदेखि हुम्लाको सदरमुकाम सिमकोटसम्म १ सय ९६.३ किमि लामो कर्णाली करिडोर ५ वर्षभित्र सक्ने गरी नेपाली सेनाले जिम्मा लिएर सम्पन्न गर्न ७ वर्ष लगाएको थियो । सेनाले बजेट अभाव र कोभिडको कारण देखाउँदै म्याद थपेको थियो ।

सेनाले चट्टानी भाग रहेको कालीकोटको घाटपारी चौरबाट भुक्काखोलासम्म ११ किमि सडकको विस्फोटनसहित निर्माण कार्य गरिरहेको छ । अघिल्लो आर्थिक वर्षको अन्तिमसम्म घाटपारी चौर भुकका खोला खण्डको ३.५ किमि ट्र्याक खोलेको छ भने यो आर्थिक वर्षमा सरकारले सेनालाई दिएको १० करोडबाट साढे २ किमि सडकको ट्र्याक खोल्ने लक्ष्य छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर