एस् ए टी भी १८ पौष,काठमाडौंः अमेरिकाको न्यु अर्लियन्समा नयाँ वर्ष मनाइरहेका मानिसहरूको भीडमा पिकअप ट्रक चलाइँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ। घटनामा दर्जनौं बढी घाइते भएका बीबीसीले जनाएको छ।
सहरको सबैभन्दा व्यस्त बोर्बोन स्ट्रिटमा हजारौं मानिसहरू उत्सव मनाइरहेका थिए। अचानक एउटा गाडी भीडलाई कुचल्दै अगाडि बढेको त्यहाँ उपस्थित मानिसकहरूले बताएका छन्।
यसपछि आक्रमणकारी पिकअप ट्रकबाट बाहिर आए र मानिसहरूमाथि गोली चलाउन थाले। जवाफी कारबाहीमा प्रहरीले पनि गोली चलाउँदा आक्रमणकारीको मृत्यु भएको थियो। भिडन्तमा दुई प्रहरी पनि घाइते भएका छन्।
आक्रमणकारीको पहिचान समसुद्दीन जब्बार (४२) रहेको छ। जब्बार टेक्सास राज्यका बासिन्दा र धेरै वर्षदेखि अमेरिकी सेनामा कार्यरत रहेको अनुसन्धान एजेन्सीहरूले बताएका छन्।
एबीसी न्युजले प्रहरी प्रवक्तालाई उद्धृत गर्दै यो हमला जानाजानी गरिएको जस्तो देखिएको बताएको छ। यो घटनापछि नयाँ वर्ष मनाउने वातावरण शोकमा परिणत भएको छ। प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ भने घाइतेहरूलाई सहरका ५ अस्पतालमा भर्ना गरिएको छ।
पिकअप ट्रकबाट इस्लामिक स्टेटको झण्डा, हतियार र आईईडी (इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस) बरामद गरिएको छ।