एस् ए टी भी मङ्सिर ५, काठमाण्डौँः गएका २० वर्षको तुलनामा अहिलेका सिनेमाले सिनेमा हलमा ओगट्ने अवधि क्रमशः घट्दै जान थालेको एउटा अध्ययनले देखाएको छ। पहिलेका सिनेमाहरूको तुलनामा अहिलेका फिल्महरू कम्तीमा २.९ हप्ता कम हलमा प्रदर्शन हुने गरेका छन्। सन् २००५ मा कुनै फिल्म लाग्दा ४.६ हप्तासम्म हलमा हेर्न पाइन्थ्यो। बक्स अफिस मोजोले जारी गरेको तथ्यांकअनुसार, सन् २००५ ताका कम्तीमा एक सय सिनेमा हलहरूमा एउटा फिल्म चल्दा कम्तीमा एक महिना चल्थे। अहिले ती फिल्महरूको आयु बढीमा एक महिना हुन थालेको छ।
भ्यू इन्टरटेन्मेन्टका संस्थापक तथा प्रमुख कार्यकारी टिम रिचर्ड्सले पछिल्लो समय दर्शकको सिनेमा हेर्ने बानी परिवर्तन हुँदै जाँदा फिल्मले हल ओगट्ने अवधि पनि घट्दै जान थालेको बताए।
यस्तै पहिले सामाजिक सञ्जालमा फिल्मका कथानकहरू हालेर ‘स्प्वाइल’ गर्ने चलनसमेत हराउँदै जान थालेको छ। सामाजिक सञ्जालमा मुख्य कथानकहरू, सस्पेन्स र मुख्य थ्रिलजस्ता कुराहरूलाई ख्याल राख्न थालिएको छ। कसैले सामाजिक सञ्जालमा फिल्मका बारेमा लेख्दा पहिले ख्याल राखिदैनथ्यो।
बेलायती सिनेमा हलहरूमा जतिसुकै रुचाइएको फिल्म भए पनि तिनले लामो समयसम्म सिनेमा हलमा ठाउँ नपाउने पनि देखिएको छ। गत वर्ष ओपनहाइमर १०० वटा सिनेमा हलमा १७ हप्तासम्म चलेको थियो। बार्बी भने १६ हप्ता चलेको थियो। यस्तो दृश्य निकै दुर्लभ हुने गरेको छ।
केही फिल्म त यति छोटो अवधिका लागि चलाइन्छन् कि ती कुन बेला हलमा आए र कुन बेला गए भन्ने जानकारी हुन छाडेको छ। नाम कम चलेका वा मुख्यधाराभन्दा बाहिरका फिल्महरू दुई साताभन्दा बढी हलमा टिक्नै छाडेका छन्। जबकि मुख्यधाराका चर्चित फिल्महरूको आयु निकै लामो हुने गरेको छ। गत वर्ष अवतारः द वे अफ वाटर सिनेमा हलमा छ महिनासम्म चलेको थियो।
२० वर्षअघि ठूला फिल्महरू एकादुई हलमा लामो समयसम्म चल्थे। अचेल त्यस्तो दृश्य निकै गायब नै भएको छ। वार्विक विश्वविद्यालयका मेडिया एन्ड कम्युनिकेसनका प्राध्यपाक पेटारी कापा भन्छन्, ‘अहिले अधिकांश फिल्मको मुख्य आम्दानी नेटफ्लिक्स तथा अन्य स्ट्रिमिङ साइटहरू हुन थालेका छन्। चर्चाका लागि मात्र सिनेमा हलमा लगाइन्छ। सिनेमा हलमा चर्चा बटुलिसकेपछि हलबाट निकालेर हतारहतार स्ट्रिमिङ गरिन्छ।’