टर्कीको राजधानीनजिकै अवस्थित विमान निर्माण गर्ने एउटा कम्पनीको मुख्यालयमा बुधवार हमला हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको र २२ जना घाइते भएको अधिकारीहरूले बताएका छन्।
अधिकारीहरूका अनुसार उक्त घटनापछि टर्कीको सेनाले इराक र सिरियामा कुर्दिश विद्रोही समूह पीकेकेसँग सम्बन्धित स्थानमा हमला गरेको छ। टर्कीको रक्षा मन्त्रालयले एउटा विज्ञप्ति प्रकाशित गर्दै उक्त कारबाहीमा कुल ३२ स्थान ध्वस्त बनाइएको जनाएको छ।
टर्कीका अधिकारीहरूका अनुसार राज्यको स्वामित्वमा रहेको अस्त्र र विमान निर्माण कम्पनीमा बुधवार दुई जनाले हमला गरेका थिए। आन्तरिक मामिलामन्त्री अलि येर्लिकायाले आक्रमणकारीमध्ये एक महिला र एक पुरुष थिए। सुरक्षाकर्मीहरूले गरेको प्रत्याक्रमणमा दुवै जनाको मृत्यु भयो।
इन्टरनेटको सामाजिक सञ्जालमा राखिएको भिडिओमा सशस्त्र आक्रमणकारीले कारबाट बाहिर निस्किनासाथ गोली प्रहार गरेको देखिन्छ।
टर्कीका सरकारी निकायहरूले सञ्चारमाध्यमलाई उक्त भिडिओ प्रसारण गर्न प्रतिबन्ध लगाएका छन् भने सामाजिक सञ्जाल सञ्चालनमा पनि रोक लगाएका छन्।
कसरी भयो हमला
घटनास्थल अङ्काराबाट झन्डै ४० किलोमिटर टाढा छ।
टर्किश एअरोस्पेस इन्डस्ट्रिज (टीएआई)मा भएको आक्रमणका क्रममा खिचिएका भिडिओहरूमा कम्तीमा दुई व्यक्तिले उक्त कम्पनीको प्रवेशद्वारमा गोली चलाइरहेको देख्निन्छ।
टर्कीका आन्तरिक मामिलामन्त्रीले आक्रमणमा कुर्दिश विद्रोही समूह पीकेके संलग्न रहेको हुन सक्ने बताए।
यद्यपि सो आक्रमणको जिम्मेवारी कुनै पनि समूहले लिएको छैन।
टर्कीका उपराष्ट्रपति जेभेट यिल्माजले बुधवारको घटनामा परेर ज्यान गुमाउनेमध्ये चार जना टीएआईका कर्मचारी भएको जानकारी दिए। पाँचौँ व्यक्ति सवारीचालक हुन्।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार आक्रमणकारीहरूले ती चालकको हत्या गरेर आक्रमणमा उनको ट्याक्सी प्रयोग गरेका थिए।
कार्यालयमा कर्मचारीहरूको पालो फेरिन लागेको बेला विस्फोटन भएको थियो। स्थानीय सञ्चारमाध्यमका अनुसार त्यसपछि कर्मचारीहरूलाई सुरक्षित आश्रयस्थलमा लैजानुपरेको थियो।
येर्लिकायाले आक्रमणमा घाइते भएका २२ जनामध्ये सात जना विशेष फौजका सदस्यहरू रहेको जनाए।