काठमाडौं । कतार एयरवेजले बोइङ ७७७ विमानमा एलन मस्कको स्टारलिङ्क स्याटलाइट सेवा जोड्ने भएको छ । मङ्गलबार दुई कम्पनीबीच स्याटलाइट इन्टरनेट जोड्ने विषयमा सहकार्य भएको हो । यससँगै कतार एयरवेजका विमानमा २०२५ को सुरुवातदेखि उच्च गतिको इन्टरनेट उपलब्ध हुने बताइएको छ ।
कतार एयरवेजका सीईओ बद्र अल मीरले दोहाबाट लण्डनतर्फ ३५ हजार फिटको उचाइमा उड्दै गर्दा स्टारलिङ्कका संस्थापक मस्कसँग भिडिओ कल गरेका थिए । “हामी अहिले स्टारलिङ्कमार्फत कुरा गरिरहेका छौं । यो साँच्चै नै अद्भुत छ,” कतार एयरवेजले रेकर्ड गरी सार्वजनिक गरेको कलमा मस्कले आफ्नो घरबाट भने, “यो स्टारलिङ्क सेवा स्याटलाइटको लेजर लिङ्कमार्फत तपाईंको विमानसम्म पुगेको छ ।”
कतार एयरवेजले आफ्ना विमानमा निःशुल्क उच्च-गतिको इन्टरनेट सेवा सुरु गर्ने निर्णयले प्रतिद्वन्द्वी एयरलाइन्सहरूलाई सिधा चुनौती दिएको बताइएको छ । “यो अझ राम्रो हुँदै जानेछ । हामीले नयाँ स्याटलाइट प्रक्षेपण गरेका छौं र सफ्टवेयरलाई निरन्तर सुधार गर्दैछौं,” मस्कले भनेका छन्, “समयसँगै तपाईंले यो सेवा अझ राम्रो हुँदै गएको पाउनुहुनेछ ।”
कतारी राष्ट्रिय वायुसेवाले २०२४ को अन्त्यसम्ममा १२ वटा बोइङ ७७७-३०० विमानलाई यो सेवा जडान गर्ने योजना बनाएको छ । २०२५ सम्ममा सबै बोइङ ७७७ विमानहरूलाई कभर गर्ने लक्ष्य राखेको छ । एयरबस ए ३५० फ्लिटमा २०२५ को गर्मीमा यो सेवा उपलब्ध गराइने बताइएको छ ।
स्टारलिङ्क स्याटलाइट इन्टरनेट कन्स्टेलेसनको रूपमा सञ्चालन हुन्छ, जसअन्तर्गत करिब छ हजार स्याटलाइट मार्फत उच्च गति र कम ल्याटेन्सी भएको इन्टरनेट प्रदान गरिरहेको मस्कले जनाएका छन् ।
प्रयोगकर्ताले यो इन्टरनेटको सहायताले विमानमा भिडिओ स्ट्रिमिङ गर्न, सन्देशहरू पठाउन तथा कल गर्न सक्छन् ।