खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा राखिएको बाँसको कुर्सी र सोफाले केही समयअघि निकै चर्चा पायो । चर्चा मात्र होइन, हामी त बाँसको प्रवर्धन गर्न चाहन्छौँ, बाँसबाट आम्दानी गर्न चाहन्छौँ । नगरपालिकाका मेयर (पङ्क्तिकार) र उपमेयरको कक्षमा बाँसको कुर्सी राखेका छौँ अर्थात् हामी बाँसको कुर्सीमा बस्छौँ । कार्यकक्षमा आउने सेवाग्राहीका लागि पनि बाँसकै बस्ने सोफा र बाँसकै टेबुल राखिएको छ । जुन कुराले चर्चा पाएको थियो ।
कुरा गरौँ थोरै विगतको, दोस्रो स्थानीय तहको निर्वाचनबाट म निर्वाचित भएपछि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नीलमकुमार न्यौपानेलाई नगर प्रमुख बस्ने सुविधायुक्त घुम्ने कुर्सी हटाएर स्थानीय बाँसबाट बनाइएको कुर्सी तयार गर्न टेलिफोनमार्फत निर्देशन दिएको थिएँ । सुरुमा अचम्मित भएका प्रमुख प्रशासकीय अधिकृत पछि बाँसको कुर्सी खोज्न लाग्नुभएको थियो तर जिल्लामा बाँसको कुर्सी कतै नपाइएपछि म काठको कुर्सीमा बसेँ । करिब छ महिनापछि जिल्ला कारागारमा कैदीहरूले बाँसको कुर्सी बनाउँछन् भन्ने थाहा पाएपछि अहिले म सोही बाँसको कुर्सीमा बस्छु । केही सयमपछि दोर्पामा बाँसबाट सामग्री निर्माण गर्ने तालिम आयोजना गरियो । सोही ठाउँमा निर्माण भएका बाँसका टेबुल र सोफा अहिले कार्यकक्षमा राखेको छु ।
मेयरको कार्यकक्षमा घुम्ने कुर्सी हटाएर बाँसको राख्दा धेरै प्रकारका टीकाटिप्पणी आए । कसैले सकारात्मक प्रतिक्रिया दिए, कसैले कमिसन खान गरिएको नाटकसम्म भन्न भ्याए । खै र यसलाई छाडौँ, लोकतन्त्रको सुन्दर पक्ष सोचौँ । एउटा कुरा चाहिँ बुझ्नै पर्छ कि स्वतन्त्रताको नाममा बढेको स्वच्छन्दताले समाज धुमिल गराउँछ ।
किन बाँसको सामग्री ?
खोटाङ जिल्ला बाँस प्रशस्त पाइने ठाउँ हो तर यसबाट नागरिकलाई आम्दानी चाहिँ खासै भएको छैन । अब यसको प्रवर्धन गर्नु पर्छ भन्ने सोचका साथ हामी सुरुबाटै यस काममा लागेका छौँ । दक्ष जनशक्ति उत्पादन गरेर नगरपालिका क्षेत्रभित्र मात्रै पनि बाँसको सामग्री प्रयोगमा ल्याउन सके स्थानीयवासीले रोजगारी पनि पाउँछन् र आयआर्जन पनि हुन्छ । फर्निचर खरिदमा जिल्ला र देशबाहिर लाखौँ बाहिरिने पैसा यही ठाउँमा रोक्न सक्छौँ भन्ने प्रयास हो ।
चौतर्फी प्लास्टिक र रेग्जिनको प्रयोगले भइरहेको मानवीय स्वास्थ्य समस्या र पर्यावरणीय प्रदूषण रोक्न बाँसका सामग्रीले सहयोग गर्छ । बाँसको कुर्सीमा बस्दा शरीरका विभिन्न भागमा थेरापी हुने चिकित्सक बताउँछन् । यो नगरबाट सुरु भएको यस्तो काम, अन्य कार्यालयसँगै जिल्लाका सबै स्थानीय तहसम्म पुग्ने छ । त्यसपछि राष्ट्रिय रूपमा दबाब पुग्छ र स्थानीयस्तरमा बाँसका सामग्री प्रयोगमा प्रभाव बढ्छ भन्ने आत्मविश्वास छ ।
कलाकार प्रभावित
चर्चित राष्ट्रिय चलचित्र कलाकार सुनील थापा (राते काइँला) सहितको कलाकारको टोली केही दिनअघि एउटा कार्यक्रममा भाग लिन दिक्तेल आएको थियो । उहाँलगायत अन्य राष्ट्रिय कलाकार अन्तरमनबाटै प्रफुल्लित भए स्थानीय सामग्रीको प्रयोग मेयर स्वयम्ले गरेको देखेर । त्यसपछि झनै यसको प्रवर्धन गर्न मनोबल उच्च भयो । कलाकार थापाले अन्तरमनबाटै खोटाङको बाँसको प्रवर्धनका लागि निःशुल्क दूत बन्ने उद्घोष गर्नुभएको छ । भित्रैबाट प्रभावित हुनुभयो र छचल्कियो उहाँको मन । उहाँको यो कदमले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकालाई धेरै फाइदा हुनेछ ।
बाँसको प्रचारको सुरुवात
अघिल्लो वर्ष जापान जाँदा जब बाँसबाट निर्मित किराँत सभ्यता र संस्कृतिसँग जोडिएका विभिन्न सामग्री तोचिगी नगरपालिकाका समकक्षी मेयर हिदेको ओकावालाई मैले औपचारिक रूपमा हस्तान्तरण गरेँ तब नेपालका राष्ट्रिय तथा स्थानीय मिडियाले अत्यन्तै प्राथमिकताका साथ समाचार प्रकाशन प्रसारण गरे । अनि बाँस र किराँत सभ्यता तथा संस्कृतिको राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा तीव्र गतिले प्रचार भयो । कतिपय खस समुदायको आलोचना पनि झेल्नु प¥यो तर मैले म निर्वाचित भएको भूगोल, संस्कार र संस्कृतिलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने सम्झिएँ दायित्व र गरेँ कर्म । हुन त मैले स्वतः दाबी गर्न त मिल्दैन तर सम्भवतः स्थानीय सामग्री र किराँत संस्कृति तथा सभ्यता झल्किने बाँसबाट निर्मित कोसेली लैजाने जनप्रतिनिधिको लेखाजोखा हुँदै गर्दा यस नगरपालिकाको नाम अग्रस्थानमा आउनेमा पक्कै पनि दुई मत छैन ।
बाँसैबासको रेड पान्डा
नगरपालिकाले धनु आर्ट स्टुडियोसँग सहकार्य गरेर ‘मुन्धुम’ अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी सम्पन्न ग¥यो । त्यसताका नगरपालिकाको वडा नं. ६ नेर्पा निवासी शम्भु राईले बाँसैबाँसबाट निर्मित रेड पान्डा बनाउनुभयो । प्रदर्शनी उद्घाटनमा आउनुभएका राष्ट्रपति रामचन्द्र पौडेल, समापनमा आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगै फरक फरक दिन अवलोकन गर्न आएका पूर्वप्रधानमन्त्रीहरू, सभामुख, कूटनीतिक नियोगका प्रमुखहरूले समेत बाँसबाट निर्मित रेड पान्डा राखिएको स्थानमा तस्बिर लिने इच्छा व्यक्त गर्नुभयो । रङ्गकर्मी, सञ्चारकर्मी, साहित्यकार, खेलप्रेमी, प्राध्यापक, व्यवसायी, प्रशासक, विद्यार्थी तथा आगन्तुक अन्य क्षेत्रका सबैको रोजाइ र आकर्षण पनि सोही बाँसैबाँसबाट निर्मित ‘रेड पान्डा’ भयो ।
चित्रकला प्रदर्शनीको प्रभाव
चित्रकला प्रदर्शनीले खोटाङ र यस नगरपालिकालाई विश्व समुदायमा त पु¥यायो नै सँगै धार्मिक, सांस्कृतिक, प्राकृतिक र पर्यावरणीय क्षेत्रको अति महत्वपूर्ण मानिएको बाँसलाई पनि अन्तर्राष्ट्रियकरण गराएको छ । यही प्रदर्शनीमा राखिएको बाँसैबाँसको रेड पान्डाले अहिले दिक्तेल र बाँस राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चाको विषय बनेको छ । सिप र क्षमताको विकास गर्दै अत्यधिक रूपमा पाइने बाँसको निर्यात गर्न सक्यौँ भने नगरवासीलाई आर्थिक समृद्धिमा जोड्न कोसेढुङ्गा साबित हुने छ ।
प्रथम राष्ट्रिय बाँस सम्मेलन
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाबाट बाँससम्बन्धी भएको विभिन्न गतिविधि र सिर्जनात्मक कामले गर्दा बाँसको राष्ट्रिय सम्मेलनका लागि विज्ञहरूद्वारा नै दिक्तेललाई छनोट गरिएको छ । राष्ट्रिय/अन्तर्राष्ट्रियविज्ञ व्यक्तित्वको उपस्थिति र सहभागितामा विज्ञहरूको राष्ट्रिय सम्मेलनको आयोजक हुने अवसर मिल्नु खोटाङका लागि गौरवको विषय हो ।
बाँसको विषयमा २०८१ जेठ २६ गते शनिबार काठमाडौँको बानेश्वरमा भएको विज्ञ, व्यवसायी, उद्यमी, अनुसन्धानकर्तालगायतको विशेष उपस्थितिमा व्यापक छलफल भएको थियो । केस्रा केस्रामा बहस भयो र प्रथम ऐतिहासिक बाँस सम्मेलन दिक्तेलमा नै गर्ने निष्कर्ष निकालियो । छलफलमा आएका सबैको साझा निष्कर्ष थियो– तथ्याङ्क अनुसार नेपालमा पाइने ८१ प्रजातिका बाँसको प्रचारप्रसार, आयआर्जनको बाटो बनाउन सचेतना, प्रवर्र्धन आदि गर्नका लागि पहिलो बाँस सम्मेलन सम्पन्न गर्ने । राष्ट्रिय बाँस सम्मेलन किन दिक्तेलमा नै गर्ने भन्ने विषयमा पनि लामो छलफल भयो । पहिलो कारण नगरप्रमुख आफैँ बाँसको प्रवर्धनमा लागेर कार्यकक्ष नै बाँसमय बनाउनु र दोस्रो कारण सभा, सम्मेलन, गोष्ठी र सेमिनार तारे होटलमा गर्ने तर परिणाम नआउने परिपाटीको अन्त्य गर्ने । माथिल्लो तहमा होइन, तल्लो तहमा भएका गतिविधि परिमाणमुखी हुने साझा निष्कर्ष निकालियो र तय भयो बाँस सम्मेलन दिक्तेलमा गर्ने ।
बाँसको प्रवर्धन र विकास
राष्ट्रिय बाँस अनुसन्धान तथा प्रवर्धन केन्द्रका अध्यक्ष कृष्णप्रसाद भट्टराईको अग्रसरतामा भएको भेलाले विज्ञान तथा प्रविधि पूर्वमन्त्री गणेश शाहको नेतृत्वमा ११ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । डा. विष्णुमाया केसी, डा. हिमलाल श्रेष्ठ, डा. चिरञ्जीवी भट्टराई, प्रणव प्रधान, सन्तोष दाहाललगायत सदस्य र रामहरि गिरीलाई सदस्यसचिव चयन गरेर औपचारिक रूपमा बाँस सम्मेलनको तयारी अगाडि बढेको छ ।
नेपालको इतिहासमा पहिलो पटक सन् १९९० मा बेलायतबाट विद्यावारिधि गर्न नेपाल आएका स्टेप लटनले नेपालमा बाँस अध्ययन सुरु गरेको देखिन्छ । नेपाल सरकारका पूर्वसचिव डा. अन्नपूर्ण दासले बेलायत गएर नेपालमा बाँसको सामाजिक, आर्थिक विकासको प्रभावका विषयमा विद्यावारिधि गर्नुभयो । सम्भवतः बाँसको विषयमा पहिलो विद्यावारिधि गर्ने डा. दास नै हुनुहुन्छ । सन् २००५ मा पुण्यप्रसाद गौतमले नेपालमा बाँसका ८१ प्रकारका प्रजाति पाइने कुरा सार्वजनिक गर्नुभएको थियो भने सन् २०२२–२४ मा डा. विष्णुमाया केसीले बाँसको कृषि र परम्परागत प्रयोगका विषयमा शोध पूरा गरी नयाँ आयाम थप्नुभएको छ । यसै गरी धेरै विज्ञ अहिले बाँसको प्रवर्धन र विकासका लागि व्रिmयाशील हुनुहुन्छ । सम्मेलनमा विभिन्न विश्वविद्यालयका बाँसविज्ञ प्राध्यापक, खोज अनुसन्धानकर्ता, उद्यमी, बाँस व्यवसायी, शिक्षक, विद्यार्थीलगायत विभिन्न क्षेत्रका विशिष्ट पाहुनाको आगमन हुने छ । यस सम्मेलनबाट खोटाङमा भएका बाँसलाई व्यावसायिक ढङ्गबाट कसरी प्रयोग गर्न सकिन्छ ? बाँसको वैज्ञानिक महìव र प्रयोग विधिलगायतमा तीन दिनसम्म छलफल गरी बाँस घोषणापत्र सार्वजनिक गरिने छ ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका तथा खोटाङ जिल्लाभित्र पाइने विभिन्न प्रजातिका बाँसको अवस्था, महत्व, उपयोगिता र प्रवर्धन गरेर स्थानीयवासीलाई आत्मनिर्भर, स्वरोजगार र स्वावलम्बी बनाउँदै नगरपालिकाको आर्थिक गतिविधि चलायमान हुने विश्वास छ । प्राकृतिक, पौराणिक र पर्यावरणीय, धार्मिक सांस्कृतिक हिसाबले समेत बहुमूल्य प्रमाणित भएको बाँसलाई व्यावसायिक रूपले स्थापित गराउन पहिलो बाँस सम्मेलन ऐतिहासिक रूपमा सफल हुने नै छ । यस सम्मेलनपछि यो नगरपालिका मात्र होइन, नेपालका अन्य भूभागमा पाइने बाँसको समेत महìव बढ्ने छ ।