नेभिगेसन मेनु

नगरकी छोरीलाई पाँच हजार
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-12 12:45

mina-darji-Galyang

मङ्सिर २६ गते । आठ दिनको नवजात शिशुको स्याहार गरिरहेकी मीना दर्जी बैङ्कका कर्मचारी, स्वास्थ्यकर्मीसहित नगर उपप्रमुख घरमा देखेपछि झसङ्ग हुनुभयो । एकै पटक धेरै जनालाई देखेपछि मीनाको मनमा अनेक कुरा खेल्न थाल्यो । छोराको आशामा आधा दर्जन छोरी जन्माएकी मीनालाई सबैले सोध्ने प्रश्न सोध्न र सम्झाउन आएका होलान् भनेर चिन्ता पनि पर्‍यो । उहाँले हाँस्दै भन्नुभयो, “सुरुमा एकै पटक कोठाभित्र पस्दा म अलमल परेकी थिएँ, कुरो बुझेपछि भने खुसी भएँ ।” 

गल्याङ नगरपालिकाले सुरु गरेको ‘नगरकी छोरी’ कार्यक्रम लिएर उपप्रमुख हेमा न्यौपाने तिमिल्सिनासहितको टोली मीनाको घर पुगेको हो । पालिकाले नगरभित्र जन्मिएका छोरीहरूलाई पाँच हजार रुपियाँ दिने कार्यक्रम सुरु गरेको छ । नगरपालिकाले महिला सशक्तीकरणका लागि छुट्याइएको बजेटबाट नगरकी छोरी कार्यक्रम सुरु गरेको हो । मीनाको घरमा पुगेका बैङ्कका कर्मचारीले नवजात शिशुको नाममा रहने गरी खाता खोलिदिए भने स्वास्थ्यकर्मीले आमा र नवजात शिशुको स्वास्थ्य परीक्षण गरे । 

योभन्दा अगाडि पाँच छोरी जन्माइसक्नुभएकी मीनाले छोरी पाएबापत पुरस्कार पाउनुभएन तर यस पटक भने पुरस्कार पाएपछि उहाँलाई नौलो लाग्यो । उहाँ भन्नुहुन्छ, “पीडालाई भुल्न सजिलो हुने भयो ।” छोराको आशामा छोरी धेरै भएको त होला भन्ने प्रश्नमा मीना मुस्कुराउनु मात्र भयो केही बोल्नुभएन । मीनाका पति ढकेन्द्र रोजगारीका लागि आठ महिनाअगाडि मलेसिया जानुभएको छ । सुत्केरीको स्याहार उहाँकै अन्य छोरीले गरिरहेका छन् । गल्याङ बजारमा सिलाइबुनाइको पसल चलाउँदै आउनुभएकी मीनाकी एक छोरीको भने विवाह भइसकेको छ ।

चालु आर्थिक वर्षको साउनयता जन्मिएका छोरीका लागि नगरपालिकाले पाँच हजार रुपियाँसहित बैङ्कको खाता खोलिदिन सुरु गरेको छ । पालिकाले खाता खोलेर छोरीका नाममा राखिदिएको पाँच हजार रुपियाँ छोरी १८ वर्ष पुगेपछि मात्रै झिक्न मिल्ने व्यवस्था मिलाइएको नगर उपप्रमुख न्यौपानेले बताउनुभयो । अभिभावकले पालिकाले दिएको नगदमा त्यति नै वा त्योभन्दा धेरै नगद जम्मा गर्न सक्ने उहाँले बताउनुभयो । संविधानले महिला अधिकारका क्षेत्रमा धेरै काम गरे पनि व्यावहारिक रूपमा छोरीलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन ल्याउन यस्तो नौलो कार्यक्रम सुरु गरिएको न्यौपानेको भनाइ छ । उपप्रमुख न्यौपानेले भन्नुभयो, “पालिकाले महिलाका लागि लक्षित गरी गर्भावस्थामा अन्डा वितरण, सुत्केरी भेटघाटसहित कार्यक्रम चलाइरहेको छ ।”

मीनाको घर पुग्नुभएकी गरिमा विकास बैङ्ककी कर्मचारी कोपिला भट्टराईले दर्जीकी छोरीको नामकरण पछि नामसहितका कागजी प्रक्रिया पूरा हुने र खाता सञ्चालन हुने बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर