नेभिगेसन मेनु

एआई भर्सेस हलिउड
सम्पादक:南亚网络电视
लेखक:कान्तिपुर
समय:2023-09-16 15:22

thumb

कस्तो संयोग ! परमाणु बम निर्माणको ऐतिहासिक घटना र त्यसका प्रमुख पात्रबारे निर्देशक क्रिस्टोफर नोलानले बनाएको बहुप्रतीक्षित बायोपिक ‘ओपनहाइमर’ को लन्डन प्रिमियर सो पनि ऐतिहासिक नै बन्न पुग्यो । किलियन मर्फी, रोबर्ट डाउनी जुनियर, एमिली ब्लन्ट, म्याट डेमन, केनेथ ब्रानगजस्ता सो फिल्मका विख्यात कलाकारहरू ओडियन लक्स लेस्टर स्क्वायर सिनेमाहलको रेड कार्पेटबाट एकाएक बाहिरिएपछि कलाकार बेगर नै फिल्म देखाउनुपर्ने अवस्था आइलाग्यो ।

जुलाई १३ मा ‘ओपनहाइमर’ को लन्डन प्रिमियरकै दिन हलिउड कलाकारहरूको संगठन (स्याग–आफ्ट्रा) ले ४० वर्षपछि पहिलोपटक हडतालमा उत्रिने निर्णय गरेको थियो । करिब १ लाख ६० हजार सदस्य रहेको संगठनमा यस विषयमा मतदान भएर बहुमतले हडताल गर्ने पक्षमा भोट खसालेको खबर ओपनहाइमर कास्टसम्म पुगेपछि प्रिमियर सोका लागि सजिएर आएका कलाकार हलभित्र प्रवेशै नगरी हिँडे । त्यसयता संगठनमा आबद्ध कलाकारहरूले कुनै पनि फिल्मको प्रचारप्रसार र प्रवर्द्धन गरेका छैनन् न त नयाँ फिल्मको कामै सुरु गरेका छन् । बरु, केहीलाई टेलिभिजन स्टुडियो र फिल्म निर्माण कम्पनीका गेटबाहिर, पिकेट लाइनमा प्लाकार्डसहित धर्नामा उभिएको देखिन्छ । स्ट्रिमिङ प्लाटफर्म र फिल्म तथा टेलिभिजन स्टुडियोले आफ्ना माग पूरा गर्नुपर्ने उनीहरूको भनाइ छ ।

‘हामीले उहाँहरूलाई कदर गर्नैपर्छ, तपाईंहरूले उहाँहरूलाई अघि रेड कार्पेटमा त देखिहाल्नुभयो,’ फिल्म सुरु हुनुअघि निर्देशक नोलानले हलभित्रका दर्शकलाई भनेका थिए, ‘उहाँहरू हाम्रो संगठन, लेखकहरूको संगठनसँगै जोडिएर स्याग (कलाकारको संगठन) ले गरेको हडतालमा भाग लिन जानुभएको छ । संगठनमा आबद्ध सदस्यहरूले आफ्ना कामबाट पाउनुपर्ने उचित पारिश्रमिक, आर्थिक लाभांश र एआर्ईको प्रयोग बढेसँगै कामको सुनिश्चितताका लागि यो हडताल गरिएको हो ।’ ओपनहाइमर टोलीको यो खबर सुनेपछि ‘द वाल्ट डिज्नी’ का प्रमुख कार्यकारी अधिकृत बब आइजरले भने लेखक र कलाकारहरू आफ्ना अपेक्षाहरूलाई लिएर ‘व्यावहारिक’ नभएको प्रतिक्रिया दिएका थिए ।

विगत चार महिनादेखि निरन्तर धर्ना र हडतालमा उत्रिएका हलिउडका लेखकहरूलाई दुई महिनायता त्यहाँका कलाकारहरूले पनि साथ दिएपछि माहोल व्यापक तातिएको छ । कतिले त हलिउडमा संकटको कालो बादल नै मडारिएको बताउन थालेका छन् । कलाकारहरूको संगठन स्याग–आफ्ट्रा (स्क्रिन एक्टर्स गिल्ड–अमेरिकन फेडेरेसन अफ टीभी एन्ड रेडियो आर्टिस्ट) र करिब १२ हजार सदस्य रहेको लेखकहरूको संगठन डब्लूजीए (राइटर्स गिल्ड अफ अमेरिका) ले ६३ वर्षपछि यस्तो संयुक्त हडताल गरेको हो । यसले हलिउड लगभग ठप्प पारेको छ । साथै, फिल्म उद्योग र अन्ततः अमेरिकी अर्थतन्त्रमा अर्बौं डलरको क्षति पुर्‍याइसकेको छ ।

टेलिभिजन, रेडियो, फिल्म प्रोडक्सन र स्ट्रिमिङ प्लाटफर्मले नयाँ कार्यक्रम उत्पादन गर्न सकेका छैनन् । रेडियो, टेलिभिजनले पुरानै कार्यक्रम दोहोर्‍याई–तेहर्‍याई देखाइरहेका छन् भने प्रोडक्सन कम्पनीहरूले हडतालअघि नै बनेका फिल्महरू प्रदर्शन गरिरहेका छन् । नेटफ्लिक्स, हुलु, अमेजन प्राइमजस्ता ओटीटी प्लाटफर्म भने हलिउडबाहिरका कन्टेन्टले धानिएका छन् । नेटफ्लिक्सले त दक्षिण कोरियाली मनोरञ्जन क्षेत्रमा २ अर्ब ५० करोड अमेरिकी डलर लगानी गर्ने घोषणा नै गरेको छ । हलिउडबिना पनि भारत, जापान, इन्डोनेसियाजस्ता क्षेत्रीय उद्योगबाट आफ्नो उत्थान हुने नेटफ्लिक्सले ठानेको छ ।

प्रोडक्सनका क्रममा रहेका ‘अवतार ३, ४’, ‘गोस्टबस्टर्स ४’, ‘द लाइन किङ’, ‘बिटलजुस २’, ‘हाउस अफ ड्रागन २’ जस्ता कैयौं फिल्म, सिरिज, सिक्वेल र टेलिभिजन कार्यक्रमहरूको काम रोकिएको छ । बनिसकेका फिल्महरूको पनि प्रचारप्रसार, रेड कार्पेट, प्रिमियर सो र कार्यक्रमपछिका रमझमहरूमा हलिउड कलाकार उपस्थित हुन नपाउँदा फिल्मी गतिविधि नै नीरस बन्न पुगेको छ । अमेरिकाको प्रख्यात इन्टरटेन्मेन्ट कम्पनी वार्नर ब्रोजले आउँदो नोभेम्बरमा रिलिज गर्ने तयारी गरेको आफ्नो बिग–बजेट सिक्वेल ‘ड्युन’ अब मार्चपछि मात्रै रिलिज गर्ने बताएको छ । हडतालका बेला कलाकारहरूले फिल्मको प्रचार गर्न नपाउने भएकाले कम्पनीले प्रदर्शन मिति पछि सारेको हो ।

हालै सम्पन्न भएको भेनिस फेस्टिभल र जारी टोरोन्टो इन्टरनेसनल फिल्म फेस्टिभलमा हलिउड सेलेब्रिटीको कमी खड्किएको प्रतिक्रियाहरू आइरहेका छन् । यसले गर्दा प्रदर्शनीमा रहेका वा प्रदर्शनोन्मुख हलिउड फिल्मको मार्केटिङमा पनि धक्का लागेको छ । हलिउड हडताल लम्बिँदै गए अमेरिकी रेडियो, टीभीमा समाचार र रियालिटी सोबाहेक अन्य कुनै कार्यक्रम नआउने अवस्था सन्निकट रहेको आकलन गरिएको छ ।

किन भइरहेको छ हडताल ?

हलिउड फिल्म, टेलिभिजन, समाचार र न्यु मिडियाका लेखकहरूको संगठन डब्लूजीए र त्यहाँका प्रखुम फिल्म तथा टेलिभिजन स्टुडियोहरूको संगठन एएमपीटीपी (अलायन्स अफ मोसन पिक्चर एन्ड टेलिभिजन प्रोड्युसर्स) बीच गत मे १ भित्र नयाँ करार सम्झौता गरिसक्नुपर्ने थियो । तर, दुईबीच विभिन्न मुद्दामा समझदारी हुन नसकेपछि डब्लूजीएले विरोध सुरु गर्‍यो । आफ्ना माग पूरा नभएसम्म लेखकहरूले एएमपीटीपीविरुद्ध हडताल गर्ने निर्णय गरे । डब्लूजीएका ९७ प्रतिशत सदस्यहरूले पारिश्रमिक वृद्धि, उचित आर्थिक लाभांश, आफूहरूको काममा आर्टिफिसियल इन्टेलिजेन्स (एआर्ई) द्वारा हुने हस्तक्षेपमा रोक लगाइनुपर्नेजस्ता माग अघि सारेका छन् ।

एएमपीटीपीले लेखक तथा कलाकारले भनेजति नै पारिश्रमिक वृद्धिलगायत माग पूरा गर्न व्यावहारिक रूपमा सहज नहुने बताउँदै आएको छ । स्ट्रिमिङ सेवा तुलनात्मक रूपमा नयाँ रहेकाले यसबाट धेरै रकम दिन गाह्रो हुने उनीहरूको राय छ । यद्यपि, हालको वेतनमा केही थप गर्न सक्ने बताएका छन् । तर, लेखक तथा कलाकारले त्यो स्विकारेका छैनन् । एआर्ईको प्रयोगका विषयमा भने एमपीटीपीले लेखकहरूसँग मिलेर एउटा नीतिगत निर्देशिका बनाउन सकिने प्रतिक्रिया दिएको छ । एआर्ईले अनुसन्धान, छाँटकाटजस्ता स्क्रिप्ट लेखनका केही पक्षलाई स्वचालित गर्ने क्षमता राख्ने भए पनि लेखकहरूको रचनात्मक सीप प्रतिस्थापन गर्न नसक्ने एएमपीटीपीको पत्रमा उल्लेख छ ।

लेखकहरूले गत मे २ देखि काम बन्द गरेका थिए । त्यसको पहिलो प्रभाव अमेरिकी टेलिभिजन विधामा चर्चित स्याटर्डे नाइट लाइभ, जिमी किम्मेल लाइभ, द टुनाइट सो स्टारिङ जिमी फलोन र द लेट सो विद स्टेफन कोल्बर्टजस्ता लेट नाइट सोहरूमा पर्‍यो । स्क्रिप्ट नै नभएपछि कार्यक्रम बन्द भए । यसबाट सबैभन्दा कठिनाइ भने लेखकहरू स्वयंलाई परेको छ । केही महिनाअघिसम्म ओस्कारका लागि स्क्रिप्ट लेखिरहेका जेस्सी म्याकलरेन हिजोआज सिसाभित्र हिउँका घरहरू बनाएर गिफ्ट आइटमका रूपमा बिक्री गरी गुजारा चलाउनुपर्ने स्थितिमा आइपुगेका छन् ।

‘हाम्रो हडताल सुरु हुनासाथ मैले आफ्नो रुचिका लागि बनाउने यस्ता गिफ्ट आइटमबाट पैसा कमाउनुपर्छ भन्ने निर्णय गरेँ,’ पत्रकार म्यान्डलिट डेल बार्कोसँग उनले भनेका छन्, ‘प्रतिगोटा २९९ डलरमा अनलाइनबाट बेच्दै आएको छु ।’ ‘किलिङ इट’ नामक कमेडी सिरिजकी सो रनर सहायकबाट निकालिएकी बेकी पोर्टम्यान हिजोआझ बालबालिकाहरूलाई हिब्रु पढाउन थालेकी छन् । ‘यस्तो अस्थिर जागिर खाएर बस्नु मेरा लागि जटिल कुरा हो,’ उनी भन्छिन्, ‘तर, हाम्रो हडताल कतिसम्म लम्बिन्छ, ठ्याक्कै ठेगान नभएकाले बाँच्नका लागि केही त गर्नैपर्‍यो ।’ टीभी कार्यक्रम र फिल्मका काम रद्द भएपछि हजारौं बेरोजगार बनेका छन् ।

हात–मुख जोर्नै धौधौ पर्ने अवस्था आइसक्दा पनि लेखकहरूले आखिर किन हार मानेका छैनन् त ? यसमा कलाकारहरू पनि किन जोडिन आइपुगे ? उनीहरूका मुख्य मागमध्ये एउटा हो, ज्याला वृद्धि । स्ट्रिमिङ प्लाटफर्महरूको संख्या र कन्टेन्ट बढिरहँदा आफूहरूको पारिश्रमिक भने बर्सेनि घटिरहेको लेखकहरू बताउँछन् । डब्लूजीएका अनुसार, दस वर्षअघि टीभी कार्यक्रमका ३३ प्रतिशत लेखकहरू न्यून तलबमा काम गर्थे भने अहिले ४९ प्रतिशत लेखक कम ज्यालामा काम गर्न बाध्य छन् । पछिल्लो पाँच वर्षमा लेखकहरूको पारिश्रमिक १४ प्रतिशतले घटेको छ ।

अर्को माग हो, स्ट्रिमिङ प्लाटफर्मबाट हुने आयको उचित लाभांश लेखकहरूले पनि पाउनुपर्ने । पहिले–पहिले फिल्म वा टीभी कार्यक्रमहरू पुनः प्रसारण एवं विदेशमा प्रदर्शन अधिकार बिक्री गर्दा लेखकहरूले राम्रो लाभांश प्राप्त गर्थे । अहिले स्ट्रिमिङ प्लाटफर्ममा अपलोड भएपछि दुनियाँले ती कन्टेन्ट त हेर्छन्, तर त्यसका लेखकहरू न्यायोचित हिसाबले लाभान्वित हुने गरेका छैनन् । स्ट्रिमिङ प्लाटफर्महरूले भ्युअरसिप डाटा नदेखाउने भएकाले आफ्ना कार्यक्रम र फिल्म कतिले हेरे भन्नेबारे फिल्ममेकर र लेखक अनविज्ञ रहने गरेका छन् । तसर्थ, उनीहरूले एकमुस्ट शुल्क वा नियमित आर्थिक लाभांशको माग गरेका छन् ।

टेलिभिजन कार्यक्रममा निश्चित अवधिका लागि निश्चित संख्यामा लेखकहरू अनुबन्धित गर्नुपर्ने माग पनि अघि सारिएको छ । समाचार संस्था एपीका अनुसार, पछिल्लो समय हलिउडका स्टुडियोहरूले लागू गरेको ‘मिनी रुम’ अवधारणाविरुद्ध यो हडताल जारी छ । सकेसम्म थोरै लेखक राख्ने गरी स्टुडियोमा लेखकहरूको कोठाको आकार घटाउन थालिएको र त्यसले गर्दा कम ज्यालमा थोरै मानिसले धेरै काम गर्नुपर्ने अवस्था आएको लेखकहरूको गुनासो छ ।

साथै, टीभी कार्यक्रमका लेखकहरूसम्बन्धी अधिकांश नीति–नियम पुरानो मोडेलमा आधारित भएको एपीले उल्लेख गरेको छ । कुनै बेला एक सिजनमा २२ देखि २५ शृंखलासम्म बन्ने गरेकोमा अहिले ‘ब्रिजरटन’ जस्ता ८ वटा मात्रै शृंखलाका कार्यक्रम बन्न थालेका छन् । यस्तोमा लेखकहरूलाई अनुबन्धन गर्ने सम्झौता भने लामो अवधिको हुँदा उनीहरूले अन्य कम्पनी र कार्यक्रममा काम गर्न नपाउने अवस्था छ । तसर्थ, छोटा अनुबन्धनका लागि पनि माग भइरहेको छ । लेखकहरूले सेवानिवृत्त योजना र स्वास्थ्य कोष स्थापनाको आवश्यकतासमेत औंल्याइरहेका छन् ।

एआईको भय

पहिले लेखकहरू र पछि अभिनयकर्मीहरू सामेल भएको हडतालको सबैभन्दा प्रमुख पक्षचाहिँ आर्टिफिसियल इन्टेलिजेन्स (एआर्ई) प्रविधिले ल्याएको भय पनि हो । गएको एक वर्षयता आक्रामक रूपमा बढेका एआर्ई प्लाटफर्महरूले स्क्रिप्ट लेखिदिने, स्वरांकन गरिदिने, चलचित्र सम्पादन र मिश्रण गरिदिने मात्रै नभएर जीवित र स्वर्गीय अभिनेताहरूलाई पर्दामा उभ्याइदिनेसम्मका काम गर्न थालेपछि हलिउडकर्मीहरू आत्तिएको देख्न सकिन्छ । पत्रकार एन्ड्र्यु डाल्टनको विश्लेषणमा हलिउडकर्मीहरू एआर्ईले समस्या उत्पन्न गरिसक्नुभन्दा अघि नै कानुनी र अन्य नियन्त्रणका लागि अग्रसर हुन चाहन्छन् ।

डाल्टनका अनुसार, अहिलेकै गतिमा अघि बढ्दा एआर्ईले निकट भविष्यमै लेखक, कलाकार वा अन्य प्राविधिकलाई विस्थापित गरिहाल्न कठिन छ । तर, हलिउड क्षेत्रसँग सम्बन्धितहरू आफूले कुनै मेसिनसँग कामको श्रेय बाँड्नुपर्ने वा एआर्ई प्लाटफर्महरूले आफूहरूको कामबाटै तुलनात्मक रूपमा केही फरक सिर्जना गरेर आफूलाई श्रेय नदिने भयले त्यो समस्या आउनुअघि नै यसको व्यवस्थापन गर्न चाहिरहेको उनको विश्लेषण छ ।

कसैलाई चित्त बुझे पनि, नबुझे पनि फिल्म तथा टीभी कार्यक्रमहरूको निर्माणमा एआर्ई प्लाटफर्म र साधनहरूको प्रयोग तीव्र गतिमा बढ्दो छ । पछिल्लो ‘इन्डियाना जोन्स’ फिल्ममा अभिनेता ह्यारिसन फोर्डको उमेर कम देखाउन होस् वा ‘सेक्रेट इन्भेजन’ को आगामी शृंखलामा अभिनेता स्यामुअल ज्याक्सन लगायत एलियनहरूको एनिमेटेड रूप निर्माण गर्न होस्, एआर्ईले चलचित्र तथा टीभी कार्यक्रम निर्माणमा दरिलो उपस्थिति देखाउन थालिसकेको छ । सेक्रेट इन्भेजनको सम्पूर्ण ओपनिङ क्रेडिटसमेत एआर्ईले नै बनाएको थियो । एआर्ई प्रयोग गरेर कलाकारको डिजिटल रूप र आवाजसमेत बनाउने तर त्यसबापत कलाकारलाई कुनै पारिश्रमिक वा रोयल्टी नदिने परम्परा तोडिनुपर्ने कलाकारहरूको माग छ । लेखकहरूले चाहिँ आफ्ना स्क्रिप्टहरूमा एआर्ईको प्रयोग गर्दा आफूहरूसँग पनि सल्लाह गर्नुपर्ने बताउँदै आएका छन् । साथै, पुराना स्क्रिप्टहरू फिड गरेर एआर्ई विकास गर्न नपाइने वा त्यसका लागि अनुमति लिनुपर्ने उनीहरूको भनाइ छ । धर्नामा उभिएका लेखक तथा कलाकारहरूले ‘नो एआर्ई’, ‘एआर्ई इट्स ब्रेन’, ‘एआर्ई ह्याज नो सोल’, ‘एआर्ई इज नट आर्ट’, ‘रोट च्याटजीपीटी दिस’ जस्ता नारा लेखिएका प्लाकार्ड बोक्ने गरेका छन् ।

एआर्ई प्रविधिको चुस्तता बढ्दै जाँदा ठूला र प्रमुख कलाकार वा लेखक तुरुन्तै प्रभावित नभइहल्लान्, तर सानातिना भूमिका र छोटकरी लेखाइका काममा निर्माताहरूले एआर्ईको सहयोग लिन सुरु गरेमा आफ्नो अस्तित्व संकटमा पर्ने लेखक र कलाकारहरूको बुझाइ देखिन्छ । ‘टर्मिनेटर’, ‘स्टार वार्स’, ‘म्याट्रिक्स’, ‘लर्ड अफ द रिंग्स’ जस्ता फिल्मले मात्रै प्रयोग गर्ने प्रविधि साना र मझौला निर्माताका लागि पनि सजिलै उपलब्ध हुँदा त्यसले हलिउडको दीर्घकालीन भविष्यमा उल्लेख्य असर गर्ने उनीहरूको आकलन छ ।

हडतालको व्यावसायिक पाटो

क्यालिफोर्निया लगायत अमेरिकाका कैयौं प्रमुख राज्यहरूले हलिउडका फिल्महरूका कारण मनग्गे आम्दानी र रोजगारीको अवसर सिर्जना गर्ने गरेका छन् । एक अनुमानअनुसार, कोभिड–१९ महामारी सुरु हुनुअघि अमेरिकाको फिल्म उद्योग झन्डै ९२ अर्ब अमेरिकी डलर बराबरको थियो । महामारीका कारण केही सुस्ताएको भए पनि अमेरिकाको फिल्म उद्योगले देशको कुल गार्हस्थ्य उत्पादनमा झन्डै ५०० अर्बभन्दा बढीको योगदान गर्ने गरेको थियो र यो वस्तु तथा सेवा क्षेत्रको झन्डै ३.२ प्रतिशत बराबर हुन आउँछ ।

सन् २०२१ को आँकडाअनुसार, हलिउडले मात्रै ८ लाख २२ हजार प्रत्यक्ष र कुल २४ लाख रोजगारीका अवसर सिर्जना गर्ने गरेको छ । यस्तै यो उद्योगले झन्डै ८१ अर्ब अमेरिकी डलर प्रत्यक्ष र १८६ अर्ब डलर जम्माजम्मी तलबको रूपमा बाँड्ने गरेको र सम्बन्धित बजारमा २६१ अर्ब बराबरको किनबेच हुने गरेको बताइन्छ । हडतालको सबैभन्दा ठूलो असर स्वाभाविक रूपमा क्यालिफोर्नियालाई परेको छ, विश्वकै ठूला र चर्चित फिल्म स्टुडियो र निर्माण कम्पनी रहेको अमेरिकाको यो राज्यले हडतालका कारण झन्डै ५ अर्ब बराबरको कर लगायत आम्दानी गुमाएको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । क्यालिफोर्नियाका गभर्नरले केही समयअघि राज्यको बजेट स्वीकृत गर्दा फिल्म र टीभी निर्माण कम्पनीहरूका लागि छुट्टै कर छुटको व्यवस्था नै गर्नुपरेको थियो ।

औसत बजेटको हलिउड फिल्मले कुनै स्थानमा छायांकन गर्दा अढाई लाख अमेरिकी डलरको हाराहारीमा खर्च गर्ने गर्छ । सन् २०२२ मा फिल्म तथा टीभी कार्यक्रम निर्माताहरूले जर्जिया राज्यमा मात्रै साढे ४ अर्ब अमेरिकी डलर खर्च गरेका थिए भने न्युयोर्क राज्यको कुल गार्हस्थ्य उत्पादनको ६.५ प्रतिशत योगदान गर्ने फिल्म तथा टीभी क्षेत्रले झन्डै २ लाखलाई रोजगारी दिने गरेको छ । अमेरिकाको मोन्टाना, नेभाडा, टेक्सस, न्यु मेक्सिको, इलिनोयी लगायतका राज्यले पनि फिल्मसम्बन्धी निर्माणका कारण हुने अर्बौं डलरको आम्दानी र सिर्जना हुने हजारौं रोजगारी अहिलेको हलिउड हडतालले रोकिदिएको छ ।

फिल्मसँग प्रत्यक्ष सम्बन्धित क्षेत्रसँगै स्थानीय रेस्टुरेन्ट, क्याटरिङ, फूल तथा उपहार उत्पादक, सवारी साधन भाडामा लगाउने, भ्रमण र होटेल व्यवसाय, लुगा धुने व्यवसायदेखि प्राविधिक सामग्रीका आपूर्तिकर्तालगायत दर्जनौं व्यवसाय एकाएक रोकिएको समाचार आइरहेका छन् । कोभिडपछिको अवस्थामा केही सुधार भएको अमेरिकी मन्दी हडताल जारी रहेमा फेरि लयमा फर्कन नसक्ने चिन्ता अर्थतन्त्रका जानकारहरूको छ ।

हडतालका आयोजकहरूको माग सम्बोधन भए लेखकहरूलाई झन्डै साढे चार सय मिलियन अमेरिकी डलर थप आम्दानी हुनेछ । तर, निर्माताहरूले झन्डै ८६ मिलियन अमेरिकी डलर मात्रै थप दिन सकिने बताइरहेका छन् । लेखकहरूका अनुसार चलचित्र र टीभी सोहरूबाट हुने आम्दानी गत २० वर्षमा ६ गुणाले बढ्दा नेटफ्लिक्सजस्ता स्ट्रिमिङ कम्पनीको आम्दानी गएको ५ वर्ष हाराहारीमै ४ गुणाले अकासिएको छ । अहिलेको हडतालको मुख्य पाटो लेखकहरूले पाउनुपर्ने न्यूनतम ज्याला बढोस् भन्ने नै रहेको भक्सकी लेखिका एलिसा विकिन्सनको दाबी छ । हडताल लम्बिँदै जाँदाको असर चर्चित फिल्म निर्माता र वितरकको आम्दानीमा देखिन सुरु भइसकेको छ । वार्नर ब्रोजजस्ता ठूला निर्माता र वितरकले आफ्नो आम्दानीमा उल्लेख्य नोक्सानी हुने आँकडा भर्खरै सार्वजनिक गरेका छन् ।

हडताल सृजनात्मक समुदायको न्यायको लडाइँ हो । कामको उचित प्रतिफल पाउने अधिकारका लागि हामी लेखकहरू लडिरहेका छौं । – आरोन सोर्किन/फिल्म लेखक

कसको भनाइ कस्तो ?

लेखक तथा अभिनयकर्मीहरू आफ्ना सृजना र प्रस्तुतिले निर्माता र स्ट्रिमिङ सेवाप्रदायक कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूको खल्ती मोटाए पनि आफूहरू ‘अस्तित्व संकट’ सँग जुध्नुपरिरहेको बताउँछन् । मनोरञ्जन उद्योगका मेरुदण्ड नै लेखकहरू भएकाले उनीहरूलाई उचित तलब र लाभांश दिनुपर्ने डब्लूजीएका पूर्वअध्यक्षसमेत रहेका चर्चित ‘फ्युचरामा’ शृंखलाका लेखक प्याट्रिक भेरोनको भनाइ छ । ‘द ट्रायल अफ द सिकागो ७’, ‘द सोसल नेटवर्क’ जस्ता कहलिएका फिल्मका लेखक आरोन सोर्किन भन्छन्, ‘यो हडताल सृजनात्मक समुदायको निष्पक्षता र न्यायको लडाइँ हो । आफ्नो कामको उचित प्रतिफल पाउने अधिकारका लागि हामी लेखकहरू लडिरहेका छौं । साथै, थप न्यायोचित उद्योगका लागि पनि लडिरहेका हौं ।’

डिज्नी, वार्नर ब्रोज.डिस्कभेरी, सोनी पिक्चर्स इन्टरटेन्मेन्टदेखि नेटफ्लिक्स, एप्पल टीभी, अमेजन प्राइम भिडियो, हुलुलगायत कुल ३५० वटा टेलिभिजन तथा फिल्म निर्माता कम्पनीहरूको संगठन एएमपीटीपीले भने यो हडतालबाट आफूहरू ‘निराश’ रहेको र ‘निष्पक्ष सहमतिमा पुग्न प्रतिबद्ध’ समेत रहेको विज्ञप्तिमार्फत बताएको छ । हडतालले सृजना क्षेत्र र अमेरिकी अर्थतन्त्रलाई समेत नोक्सानी पुर्‍याउने भएकाले यो ‘आवश्यक’ नरहेको जनाएको छ । डिज्नीका सीईओ आइजर हडतालले दुःखी बनाएको र यो चाँडै अन्त्य हुनेमा विश्वस्त रहेको बताउँछन् । कमकास्टका सीईओ ब्रायन रोबर्टले भने हडतालले मनोरञ्जन उद्योगमा ‘न्यून प्रभाव’ पर्ने धारणा राख्दै आएका छन् । वार्नर ब्रोज.डिस्कभरीका डेभिड ज्यासल्याभले भने डब्लूजीएसँग निष्पक्ष सम्झौता हुनेमा प्रतिबद्ध रहेको र त्यो नभएमा ‘कठोर नीति लिनसमेत तयार’ रहेको एक अन्तर्वार्तामा बताएका छन् । हडताल मत्थर गर्नुभन्दा पनि यसका आयोजकलाई हात–मुख जोर्नै धौ–धौ पर्ने अवस्था आएपछि उनीहरू आफैं काममा फर्किने एमटीपीटीको अनौपचारिक धारणा रहेको कतिपयले बताउने गरेका छन् ।

कलाकारहरूको संगठन स्याग–आफ्ट्राले मनोरञ्जन उद्योगका लागि यो हडताल ठूलो अवरोध भए पनि यसको पक्षमा खडा हुनु आवश्यक रहेको उल्लेख गरेको छ । लेखकहरूले उचित पारिश्रमिक र कामको सुनिश्चितता प्राप्त गर्नैपर्ने जनाएको छ । हलिउड निर्देशकहरूको संगठनले अब लेखक, कलाकार र अन्य सिनेकर्मी स्टुडियोहरूको शोषण सहेर नबस्ने धारणा व्यक्त गरेको छ । त्यस्तै, निर्माताहरूको संगठनले पनि मनोरञ्जन उद्योगका लागि जारी हडताल एउटा ठूलो झट्का भए पनि यो परिवर्तनका लागि अवसरसमेत भएको उल्लेख गर्दै स्टुडियोहरूले रचनात्मक क्षेत्रलाई खेलाँचीका रूपमा लिन छाड्नुपर्ने भनेको छ ।

यो लडाइँमा समर्थन जनाउन आइपुगेका हलिउडका चर्चित सेलेब्रिटीहरूमा जर्ज क्लुनी, जेनिफर लरेन्स, मेरिल स्ट्रिप, मार्क रुफालो, स्कार्लेट जोहानसनलगायत छन् । हलिउड हडतालका कारण रेड कार्पेटबाटै फर्किने क्रममा आफूहरूले निकै मिहिनेत गरेको फिल्मको प्रिमियर सोमा बस्न नपाए पनि जायज मागको पक्षमा उभिनैपर्ने ओपेनहाइमरका कलाकारले बताएका थिए । ‘यो निकै संवेदनशील क्षण हो, उद्योग वा कलाकार वा लेखकका लागि मात्रै होइन, उद्योगका अन्य सबैका पक्षका लागि पनि,’ कलाकार केनेथ ब्रानगले भनेका थिए, ‘यसले सबैलाई प्रभाव पार्छ । हाम्रा साथीभाइले सकारात्मक पहल गरिरहेका छन् । आशा छ, यो समस्या चाँडै समाधान हुन्छ ।’

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर