नेभिगेसन मेनु

भारतद्वारा आयोजित जी-२० शिखर सम्मेलनमा पुटिन र सी सहभागी नहुने
सम्पादक:南亚网络电视
समय:2023-09-04 14:44

xi-modi-putin_WHsAIkw5uV

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा अर्को साता आयोजना हुने विश्वका २० प्रमुख अर्थतन्त्रहरुको लुज नेटवर्क जी-२० मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङ सहभागी नहुने भएका छन् ।

पुटिनले आफू आउन नपाउने जानकारी भारतीय पक्षलाई फोनै गरेर गराएका थिए । भारतमा आयोजना हुनु अगाडि इन्डोनेसियामा आयोजना भएको जी-२० शिखर सम्मेलनमा पनि पुटिन गएका थिएनन् ।

यस्तै बेलायती समाचार संस्था रोयटर्सले चिनियाँ राष्ट्रपति सी चिनफिङ पनि जी-२० मा नजाने समाचार बनाएको छ । रोयसर्टका अनुसार सीको ठाउँमा चिनियाँ प्रधानमन्त्री लि चियाङ सहभागी हुने भएका छन् ।

गत हप्ता दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भएको ब्रिक्सको १५औं शिखर सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी पनि गरेका सीको भारत भ्रमण नहुनुलाई अर्थपूर्ण मानिएको छ ।

रुस र चीनका राष्ट्र तथा सरकार प्रमुखहरुको अनुपस्थितिले भारतमा आयोजना हुने पहिलो जी-२० शिखर सम्मेलन खल्लो हुने टिप्पणी भारतमै सुरु भएको छ । पश्चिमा देशहरुको मुख्य अनुहारहरु आउने र रुस तथा चीन जस्ता पूर्वका शक्तिहरुको शीर्ष नेतृत्वको अनुपस्थितिले सेप्टेम्बर ९ र १० मा भारतमा हुने जी-२० को रौनकतामै कमी आउने भएको छ ।

पुटिन र सी अनुपस्थित हुने भए पनि जी-२० शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन भने सहभागी हुनेछन् । बाइडेनले आफू नयाँ दिल्लीमा आउने सूचना सार्वजनिक गरिसकेका छन् । तर, चिनियाँ राष्ट्रपति सी चिनफिङ भारत नआउने थाहा पाएपछि उनी पनि निराश भएका छन्। ह्वाइट हाउसका अनुसार बाइडेन जी–२० सम्मेलनमा सहभागी हुन सेप्टेम्बर ७ मा भारत आउनेछन्। यसबाहेक उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय सम्बन्धका विषयमा पनि वार्ता गर्नेछन्।

सम्मेलनको तयारीमा संलग्न एक पश्चिमा अधिकारीले भने, ‘हाम्रो वर्षभरिको संयुक्त कामलाई भत्काउने प्रयास गरिरहेका छन् उनीहरु (चीन)। उनीहरुको अनुपस्थितिले त्यसलाई स्पष्ट पार्छ।’

आफ्नो सट्टा सीले शिखर सम्मेलनमा प्रधानमन्त्री ली चियाङलाई पठाउने भएका छन्। चिनियाँ अधिकारीहरुले यसको जानकारी आफूहरुलाई दिइएको बताएका छन्। तर, बेइजिङले त्यसको सार्वजनिक पुष्टि गर्न बाँकी छ।

युक्रेन युद्ध र धनी तथा विकासशील मुलुकबीच खर्च बाँडफाँटजस्ता विषयमा भएको असहमतिका कारण स्वास्थ्य सेवादेखि जलवायु परिवर्तनसम्मका विषयमा संयुक्त निष्कर्ष खोज्ने महिनौँको प्रयास असफल भएपछि सीले सम्मेलनमा सहभागी नहुने निर्णय लिएका हुन्।

केही भारतीय विश्लेषकहरु भारतले आयोजना गर्न लागेको कार्यक्रम चीनले बिथोल्न चाहेको बताउँछन्। 

चीनका कुनै पनि राष्ट्रपतिले जी २० शिखर सम्मेलनमा सहभागी नहुने निर्णय गरेको यो पहिलो पटक हो। यो सामाजिक वा आर्थिक विरोधाभाषका माझ पनि विश्वका शक्तिशाली मुलुकहरुबीच सहमति खोज्न स्थापना भएको समूहका लागि सबैभन्दा ठूलो असफलता हो।

यसपटक जी २० का विदेशमन्त्री, अर्थमन्त्री र अन्य अधिकारीहरुबीच भएको वार्तापछि भारतले सबै सदस्य सहमत हुनेगरी एउटा पनि संयुक्त वक्तव्य जारी गराउन सकेन। युद्धका विषयमा पश्चिमाहरुले प्रस्तुत गरेको भाष्यलाई चीन र रुसले स्वीकार गरेनन्।

सीको अनुपस्थितिबारे सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयले शुक्रबार उपयुक्त समयमा यसबारे जानकारी दिइने बतायो। कतिपय विश्लेषकहरु सम्भवतः चीनले सुरुमा जी २० लाई आफ्नो भूराजनीतिक प्रभाव बढाउने माध्यमका रुपमा हेरे पनि यो समूह अहिले आफ्नो लागि चुनौती ठान्न थालेको तर्क गर्छन्।

अमेरिकासँग चीनको सम्बन्ध बिग्रिँदै जाँदा जापान, दक्षिण कोरिया, जर्मनी र अन्य युरोपेली मुलुकले चीनप्रति कठोर नीति अवलम्बन गर्दैछन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर