नेभिगेसन मेनु

श्रीथा थाविसिन थाइल्यान्डको नयाँ प्रधानमन्त्री बन्ने
सम्पादक:南亚网络电视
समय:2023-08-23 13:54

thumb (1)

फेउ थाई पार्टीका श्रीथा थाविसिन । तस्बिर : रोयटर्स

फेउ थाई पार्टीका श्रीथा थाविसिन थाइल्यान्डको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । थाइल्यान्डको संसद्मा मंगलबार भएको मतदानमा उनले उपस्थित ७ सय ४७ सांसदमध्ये ४ सय ८२ को मत पाएका थिए । गत मेमा भएको चुनावमा सन् २०२० मा गठन भएको मुभ फरवार्ड पार्टी (एमएफपी) १ सय ५२ सिट जित्दै पहिलो र १ सय ४१ सिट जित्दै फेउ दोस्रो ठूलो दल बनेका थिए । सत्ताको नेतृत्व गरिरहेका प्रयुत चान–ओचाको युनाइटेड थाई नेसन पार्टी (यूटीएन) ले भने ३६ सिट मात्र जितेको थियो । सन् २०१४ मा ‘कु’ पछि थाइल्यान्डको नेतृत्व सेनानिकट दलका नेताले पाउँदै आएका थिए । तर, गत मेको चुनावमा सेनानिकट दलले हार बेहोरेपछि विपक्षी दलको नेतृत्वमा सरकार बन्ने आकलन गरिएको थियो । थाविसिनको जितसँगै थाइल्यान्डमा तीन महिनादेखिको राजनीतिक अन्योल अन्त्य भएको थियो ।

रियल इस्टेट व्यवसायी थाविसिनलाई सेनानिकट दुईसहित १० दलले समर्थन गरेका छन् । सबैभन्दा ठूलो दल एमएफपीसँग भने गठबन्धन भएको छैन । थाइल्यान्डमा जननिर्वाचित ५ सय सांसद र सेनाले नियुक्त गरेका २५० सदस्य रहने दुई सदन छन् । प्रधानमन्त्री हुन दुवै सदनबाट ३ सय ७६ सदस्यको समर्थन आवश्यक थियो । थाविसिनलाई सेनाले नियुक्त गरेका सदस्यमध्ये १ सय ५० जनाले पनि समर्थन गरेका थिए । यद्यपि, उनलाई थाइल्यान्डका राजा महा भाजिरलंकर्णले आधिकारिक रूपमा पद बहाली गराउन भने बाँकी छ ।

थाइल्यान्डमा लामो समयदेखि विपक्षी दल रहेको फेउ थाईमा थाविसिन नयाँ नेता हुन् । मेको चुनावका लागि फेउले प्रधानमन्त्रीका तीन दाबेदारलाई उठाउनुअघि उनले पार्टी प्रवेश गरेका थिए । प्रधानमन्त्री बन्ने पक्का भएपछि थाविसिनले थाई नागरिकको जीवनस्तर माथि उठाउन काम गर्ने प्रतिक्रिया दिएका छन् । थाइल्यान्डमा सेनाले ‘कु’ गरेयताको ९ वर्ष शासन सम्हालेका यसअघिका प्रधानमन्त्री प्रयुत चान–ओचाले भने गत जुलाईमा राजनीतिबाट संन्यासको घोषणा गरिसकेका छन् ।

यसैबीच थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा १५ वर्षको निर्वासनपछि स्वदेश फर्किनासाथ पक्राउ परेका छन् । बैंककस्थित डन मुयाङ विमानस्थलमा मंगलबार बिहान अवतरण भएपछि उनलाई प्रहरीले पक्राउ गरी अदालत उपस्थित गराएर जेल चलान गरेको छ । सिनावात्रा माथि शक्तिको दुरुपयोगलगायत थुप्रै आपराधिक अभियोगमा सर्वोच्च अदालतले ८ वर्षको जेल सजाय तोकेको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर