नेभिगेसन मेनु

धरानमा हर्क साम्पाङकाे खस्किँदाे लाेकप्रियताः एकलकाँटे शैलीले जनतादेखि जनप्रतिनिधिसम्म हैरान
सम्पादक:南亚网络电视
लेखक:नेपाल प्रेस
समय:2023-09-11 18:09

harka-sampang_sketch

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ केही समययता तीव्र आलोचनाको घेरामा छन् । कुनै समय सामाजिक सञ्जालमा हाइहाइ खाएका मेयर साम्पाङको लोकप्रियता अहिले दलदलमा भासिएको छ ।

धराने जनतालाई पानी पिलाउन गरेको मिहिनेतले सामाजिक सञ्जालमा प्रशंसित बनिरहेका थिए उनी । तर, धार्मिक तथा साम्प्रदायिक विवादमा स्पष्ट पक्षधरता देखाउने तथा आफ्ना विरोधिहरुलाई अधिनायकवादी शैली देखाउन गर्न थालेपछि उनको देवत्वकरणबाट दानवीकरण सुरु भएको हो । मातहतका जनप्रतिनिधिहरु पनि साम्पाङसँग सन्तुष्ट छैनन् । फ्रान्सेली राजा लुई १४ औंले ‘म नै राज्य हुँ, राज्य नै म हुँ’ भनेजस्तो व्यवहार साम्पाङले देखाउने गरेको उनीहरुको गुनासो छ ।

साम्पाङले आफ्ना आलोचकहरुमाथि अत्यधिक प्रयोग गर्ने शब्दावली हो, ‘पार्टीका झोले’ र ‘गुइँठे’ । आफूलाई मन नपराउने कोही उपमहानगर पुगेमा ‘यो कुन पार्टीको झोले हो ?’ भनेर सीधै प्रश्न गर्ने गर्छन् उनी । आफ्नो कार्यसम्पादन र निर्णयहरुप्रति आलोचना गर्नेहरु सबै ‘आफूलाई असफल बनाउन लागिपरेकाहरु’ भन्दै खनिन्छन् ।

मेयर साम्पाङको वृक्षारोपण कार्यक्रममा पनि पहिलाजस्तो मान्छेहरू आउन छाडेका छन् । पहिला सयौंको भिडसहित वृक्षारोपणमा निस्कने गरेका साम्पाङ अहिले भने १५-२० जनाको समूहमा मात्रै देखिन्छन् । धेरै मान्छेहरूलाई चिढ्याउन थालेपछि उनको वृक्षारोपण कार्यक्रममा पनि मान्छेहरू कम आउन थालेको स्थानीयहरू बताउँछन् ।

साम्पाङ भन्छन्, ‘म एउटा यस्तो कडी बनेर आएको छु, (हुन त आफ्नो तारिफ आफैंले गर्न नमिल्ने स्थिति पनि हो) तर, यथार्थ बोल्दा म धरान भित्र र बाहिर राजनीतिमा एक खालको युटर्न ल्याउने मान्छे भएको कारण मलाई असफल बनाउन खोजिरहेका छन् । मलाई असफल बनाइयो भने ‘हेर है, त्यो पनि त्यस्तै हो’ भनेर पहिलाकै स्थितिमा जान खोज्नेहरुले गतिविधि गरिरहेका छन् ।’

धरानको नयाँ बजारमा टेलर सञ्चालन गरिरहेका सूचीकार फिरोज अलि साम्पाङसँग धरानभित्रका मान्छे वाक्क भइसकेको बताउँछन् ।

फिरोज अलि ।

उनी भन्छन्, ‘मेयरसँग धराने जनता वाक्क भइसकेका छन् । अस्ति धरानमा हिंसा भड्किन खोज्दा हामीले भदौ ८ गते सद्भाव र्‍याली गरेका थियौं । उहाँ त्यसमा पनि आइदिनुभएन । मलाई त फेसबुकमै ‘फिरोज अलि को हो’ भनेर च्यालेन्ज गर्नुभएको थियो । उहाँले जे बोल्दा पनि हुने, हामीले उनको विरुद्ध बोल्न नहुने ?’

२० हजार बढी मत ल्याएर मेयरमा निर्वाचित भएपछि साम्पाङ सामाजिक सञ्जालमा छाएका थिए । उनको लोकप्रियताको ग्राफ एक्कासी माथि पुग्यो । धरानमा मात्रै नभएर देशैभर साम्पाङ चर्चाको विषय बने । तर, उनै साम्पाङलाई आफ्नो मेयर चुनेका धराने जनता भने विस्तारै साम्पाङप्रति रुष्ट बन्दै गइरहेका छन् ।

उनीहरु रुष्ट हुनुको मुख्य कारण हो, मेयर साम्पाङको एकलकाँटे प्रवृत्ति । उनी न अरुको कुरा सुन्छन् न सुनेको कुरा मान्छन् । जबरजस्ती कसैको सल्लाह सुनेजस्तो गरे पनि आफ्नै सुरमा काम गर्ने तौरतरिकाका कारण साम्पाङको लोकप्रियताको ग्राफ धरानमा ओह्रालो लागिरहेको छ ।

साम्पाङले अहिलेसम्म सल्लाहकार राखेका छैनन् । कुनै पनि निर्णय लिनुअघि विषयविज्ञसँग सरसल्लाह गर्दैनन् । आफूखुशी निर्णय लिन्छन् । सामाजिक संजालमा अति सक्रिय उनले आफैंलाई ‘विद्धान’ घोषणा गरेका छन् । आफूप्रति विमति राख्नेहरुविरुद्ध तीखो भाषामा लेख्छन् ।

स्थानीय व्यवसायी केशव घिमिरेका अनुसार मेयर साम्पाङले उपमहानगरले पाएको अधिकार प्रयोग गर्न सकिरहेका छैनन् । वृक्षारोपण गर्नु मात्रै जनताको मुद्दा नभएको र बाटोदेखि बजारसम्मको मुद्दामा साम्पाङ गम्भीर नभएको उनको आरोप छ । बजार नहुँदा व्यवसायीहरुले धरान छाडेर दिनदिनै हिँडिरहेको विषयमा साम्पाङ अवगत भए पनि ध्यान नदिएको उनले गुनासो गरे ।

केशव घिमिरे

घिमिरे भन्छन्, ‘उपमहागरको कार्यालयमा विभिन्न क्षेत्रमा मान्छे केही भइहाल्छ कि भनेर जान्छन् । त्यो ठाउँ जनताको साझा थलो हो । तर, उहाँले सबैलाई समान व्यवहार गर्नुहुन्न । संरक्षकत्व देखाउनु भएको छैन ।’

अलिअलि काम गरे पनि व्यवहारले सबैको साझा मेयरको रुपमा प्रस्तुत हुन नसकेको घिमिरेकोे दुखेसो छ ।

उनी थप्छन्, ‘गीत गाउने, नाच्ने, फेसबुकमा रमाइलो गर्ने । यहाँका गरीब जनताको अवस्था के छ ? वैदेशिक रोजगारमा जाने मान्छेले के गर्ने ? सुबुम्बासीले के गरेर खाइरहेको छ ? उहाँ अफ्नो टिमसँग त सरसल्लाह गर्नुहुन्न । अरुको सल्लाह लिने कुरा त परको भयो ।’

धरान–२ का वडासदस्य दिनेशकुमार अग्रवाल मेयर साम्पाङ जनताकै लागि भनेर आएको हुनाले राम्रै भिजन लिएर आएको हो कि भन्ठान्छन् । तर, सुध्रनुपर्ने कुरा भने प्रशस्त रहेको अग्रवालको भनाइ छ । उनी भन्छन्, ‘काम गर्दै गएपछि अलिअलि तलमाथि त हुन्छ । अलिअलि रुचाउने, नरुचाउने कुरा त भइरहन्छ नि ।’

दिनेशकुमार अग्रवाल ।

तर, साम्पाङमाथि जसरी आलोचना भइरहेको छ, त्यो जरुरी रहेको स्थानीय उत्तरकुमार गुरुङको विश्लेषण छ । साम्पाङ अर्जापिन र खारिनका लागि पनि आलोचना आवश्यक भएको उनी बताउँछन् । अचानक उपमहानगरको नेतृत्वमा आएकाले धेरै कुराको ज्ञान नभए पनि धरानलाई साम्पाङ जस्तै मान्छेकै खाँचो रहेको उनको तर्क छ ।

गुरुङ भन्छन्, ‘ऊ आलोकाँचो छ । थेचारिन सक्छ । फेरि उठेर निखारिँदै अगाडि बढ्छ । म उसको संघर्षलाई समर्थन गर्छु । उजस्तै मान्छेको खाँचो थियो धरानमा । जनताका लागि डाँडाकाँडा कुदेको छ, गरेको छ । हिउँदका तीन महिना पानीका लागि कुस्ती खेलाखेल हुने ठाउँमा उनले पानी ल्याए । त्यो सह्राहनीय काम हो ।’

बैठकबाहेक वडाध्यक्षहरुसँगै छलफल गर्दैनन्

आर्थिक वर्ष २०८०/८१ को बजेटको छलफलका क्रममा बैठकमै चर्काचर्की परेको थियो । बजेट तर्जुमा समितिले कार्यपालिका बैठकमा बजेट प्रस्तुत गरेपछि कार्यपालिका सदस्यहरुले नै विरोध गरे । विषयगत समितिले निर्णय गरेर बजेटको लागि पठाइएका विषयहरु समावेश नभएको तथा बजेट तर्जुमा समितिले सुटुक्क योजना छनोट गरेर हालेको भन्दै सदस्यहरुले विरोध जनाएका थिए ।

बैठकमै वडाध्यक्षहरुको प्रश्न थियो, ‘काम गरिसकेको छ, बिल पनि छ, हिजो चेक काटियो, तर साटिएन, अब निकासा के हुन्छ ?’ चालू आर्थिक वर्षमा आफूहरुले काटेको चेक नसाटिएपछि बैठकमा चर्काचर्की नै परेको थियो ।

आर्थिक वर्ष २०८०/८१ को लागि एक अर्ब ७१ करोडको बजेट सार्वजनिक गरेको धरान उपमहानगरमा बजेटको कार्यान्वयन कसरी गर्ने भनेर वडाध्यक्षहरु नै रनभुल्लमा छन् । कार्यपालिका बैठकको बेलाबाहेक मेयरसँग वडाध्यक्षहरुको न भेट हुन्छ न त कुनै संवाद र छलफल हुन्छ ।

मेयरले कार्यपालिका बैठकका वेला र बजेट पास गराउने वेलामा बाहेक आफूहरुलाई नसम्झने एक वडाध्यक्ष बताउँछन् । उनी भन्छन्, ‘उहाँ बजेट पास गर्ने वेलामा चाहिँ अलि सफ्ट व्यवहार गर्नुहुन्छ । तर, बजेट पास भएपछि भने फेरि मनोमानी प्रवृत्ति देखाउनुहुन्छ । यसले मुख्यतयाः धरानको समग्र विकासमा अप्ठ्यारो पारिरहेको छ ।’

मेयर साम्पाङसँग धरान ३ का वडाध्यक्ष विद्या शाक्यको भेट कार्यपालिका बैठकको वेला भएको थियो । त्यसपछि भने उनको भेटै भएको छैन । त्यति भेटघाट नभए पनि कहिलेकाहीं कामै परेर यसो गर्नुप¥यो भन्दा मेयरले हुन्छ चाहिँ भन्ने गरेको शाक्यको भनाइ छ ।

कतिपय काम आफ्नै सुरमा गर्दा वडावासीलाई पनि अप्ठेरो त परेको होला नि ? भन्ने प्रश्नमा शाक्य भन्छन्, ‘उहाँ सल्लाहकार नै राख्दिनँ भन्नुहुन्छ । त्यो उहाँको व्यक्तिगत कुरा हो । मेयर भएकाले के ठीक, के बेठीक आफैं छुट्याउनुहुन्छ होला सायद ।’

धरानका २० मध्ये १० वडामा नेकपा एमालेले जितेको छ । सात ठाउँमा कांग्रेसले जितेको छ । एक ठाउँमा माओवादी र एक ठाउँमा राप्रपाले वडाध्यक्ष जितेको छ । स्वतन्त्र रुपमा जितेका भुपेन्द्र भट्टराई पछिल्लो समय राप्रपामा प्रवेश गरेका छन् । तर, वडाध्यक्षहरुसँग मेयर साम्पाङको भेट भने औंसी पूर्णेमा मात्रै हुने गरेको छ ।

मेयर साम्पङसँग धरान- १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेको भेट पनि केही समयअघि डेंगुसम्बन्धी छलफलको क्रममा भएको थियो । त्यसपछि भने भेटै भएको छैन । मेयरसँग छलफल, सहकार्य गर्न खोज्दा पनि हुन नसकिरहेको काफ्लेको गुनासो छ । तैपनि आफूहरुले राम्रो काममा भने समर्थन गर्ने गरेको काफ्ले बताउँछन् ।

मेयरमा निर्वाचित भएको सुरुवाती समयमा राजनीतिक दल भन्नासाथ साम्पाङ आक्रोशित हुने स्थिति रहे पनि पछिल्लो समय अलि सफ्ट हुँदै गएको काफ्लेको बुझाइ छ । तर, ठाकठुक भने परिरहने बताउँछन् ।

उनी भन्छन्, ‘सुरुसुरुमा यो कुन दलको हो भन्ने गर्नुहुन्थ्यो । स्थानीय राजु राईले योजना लिएर जाँदा कुन पार्टीको झोले भनेर तर्क वितर्क पनि गर्नुभएको थियो । तर, मसित चाहिँ राम्रै छ । कहिलेकाहीं ठाकठुक पर्छ ।’

सर्दु खोला जलाधार क्षेत्रको मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ । उक्त क्षेत्रमा जग्गा भएकाहरु विदेश जान पाएका छैनन् । विदेश पढ्न जाने विद्यार्थीहरुले प्रोपर्टी भ्यालुयसन गर्न पाएका छैनन् । उक्त क्षेत्रको जग्गा रोक्का गरिदिएका कारण आफूसमेत पीडित भएको काफ्लेको भनाइ छ ।

उनी भन्छन्, ‘यस्ता विषयमा नगरले समन्वय गर्ने हो । मेयर भएपछि त आज बसौं, छलफल गरौं, वडामा समस्या के छ, सुनाउनुस् भन्नुपर्ने हो । त्यसो गर्नुभएको छैन ।’

सरोकारवालासँग पनि समन्वय गर्दैनन् मेयर साम्पाङ

मेयर साम्पाङले जति निर्णय लिन्छन्, सबै एक्लै लिन्छन् । न उनलाई राजनीतिक दलका प्रतिनिधिसँग सरसल्लाह गर्नु छ न त कुनै विषय विज्ञसँग नै सल्लाह लिन्छन् । उनलाई निर्णय लिन कुनै संघसंस्था र नागरिक समाज पनि चाहिँदैन । जे ठीक लाग्छ, त्यही निर्णय लिने गरेको धरानबासीको गुनासो छ ।

मेयर साम्पाङको यस्ता निर्णयले तत्काल त्यस्तो कुनै असर नदेखिए पनि दीर्घकालमा ठूलो असर देखिने जानकारहरु बताउँछन् । एडीबीले रिसर्च गरेर धरानमा बोरिङकै पानी ठीक हो भन्दै गर्दा मेयर साम्पाङले कोकाहाबाट पानी ल्याए । जनश्रमदान र खानेपानी बोर्डको पैसा गरी सात करोड लगानी गरेर सात लाख लिटर पानी ल्याइएको छ ।

यदि उक्त रकमले बोरिङ गरिएको भए एक करोड ४० लाख लिटर पानी निकाल्न सकिने पूर्वउपमेयर मञ्जु भण्डारी बताउँछिन् । उनका अनुसार मेयर साम्पाङले कुनै पनि निर्णय गर्दा त्यसको दीर्घकालीन फाइदा हेर्नुपर्ने भण्डारीको सुझाव छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका धरान नगर कमिटी सचिव सुमन श्रेष्ठ पनि मेयर साम्पाङले राम्रै काम गर्न खोजेपछि कतिपय प्रक्रियाहरु राम्रोसँग पु¥याएको भए अझै राम्रो हुने बताउँछन् । विषयविज्ञहरुसँग सल्लाह नगरी पानी त ल्याए तर, त्यसलाई अझै व्यवस्थित तरिकाले काम गरेको भए झनै गज्जब हुने श्रेष्ठको भनाइ छ ।

सुमन श्रेष्ठ ।

श्रेष्ठ भन्छन्, ‘बृहत समस्याको पहिचान गरेर सरसल्लाह गरेर जाँदा राम्रो हुन्थ्यो जस्तो लाग्छ । यी समग्र विषयमा चाहिँ उहाँले ध्यान नदिएको जस्तो लाग्छ ।’

कतिपय प्रोजेक्टहरु गर्दा राम्रोसँग प्रक्रिया नपुगेको जस्तो देखिनु पनि समस्या भएको श्रेष्ठको भनाइ छ । कसैको राय नलिने बानी भएपछि राय नलिँदा र ज्ञानको कमीका कारण समस्याहरु आइपर्न सक्नेतर्फ मेयर साम्पाङ सचेत हुनुपर्ने श्रेष्ठको सुझाव छ ।

उनी भन्छन्, ‘राजनीतिक दललाई उहाँले बाइपास गरे जस्तो देखिन्छ । यसरी एकलौटी हिसाबले मात्रै चल्न नखोज्नुभए हुन्थ्यो जस्तो लाग्छ ।’

नेविसंघका केन्द्रीय सदस्य दोर्ची शेर्पा धराने जनताको समस्यालाई बुझेर काम गर्न कोसिस गरिरहेको भए पनि धेरै वक्तव्य दिने, कुनै पनि कुरालाई इगोको रुपमा लिने, कुनै पनि क्रियामाथि प्रतिक्रिया जनाइहाल्ने काम चाहिँ सुधारे राम्रो हुने बताउँछन् ।

दोर्ची शेर्पा ।

‘उहाँको त्यो बानी खराब हो । त्यसरी काम नगरेकै राम्रो’, धरान- १८ का शेर्पा भन्छन्, ‘उहाँमा आफैं विज्ञ हो भनेर हिँड्ने बानी छ । राजनीतिक दललाई गन्दा पनि गन्नुहुन्न । सरोकारवालाहरुलाई भने जस्तो रेस्पोन्स गर्नुहुन्न । जे कुरालाई पनि इगोका रुपमा लिनुहुन्छ । तर, काम चाहिँ गर्छु भनेर डटेर लागेको मान्छे हो उहाँ । बोली चाहिँ अलि खराब हो ।’

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर