संसदको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने भएका छन् । अहिले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सभामुख र प्रधानमन्त्रीबीच छलफल हुने भएको हो ।
यसअघि सदन अवरोध भएपछि सभामुखले प्रधानमन्त्रीसँग एकल र समूहगत गरी पाँचपटक छलफल गरिसकेका छन् । संसदको अवरोध हटाउने विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले पनि चासो लिएका छन् । तर, अझैसम्म अवरोध हट्ने कुनै संकेत देखिएको छैन ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने माग गर्दै लगातार संसद अवरोध गर्दै आएको छ । तर, सरकार भने एमालेको मागमा सहमत भएको छैन । प्रतिनिधिसभाको बैठक आइतबार लागि बोलाइएको छ । त्यसअघि नै बैठक चल्ने वातावरण बनाउन सभामुख सक्रिय भएका हुन् ।