रामपुर (पाल्पा), भदौ १५ गते । हिजोआज अलैँचीले राम्रो मुल्य पाएको खबर सुन्दा निस्दी गाउँपालिका –३ खादरका अगुवा कृषक तुलबहादुर बयम्बु झस्किनुहुन्छ । खडेरीअघि हरियो बोटसहित टमक्क भरिएको अलैँची उत्पादन लिने समयमा अहिले सुकेर असरल्ल छ ।
यस वर्ष एक टन बढी अलैँची उत्पादन गर्ने लक्ष्य राख्नुभएको उहाँलाई अहिले १० किलोसम्म पनि उत्पादन लिन मुस्किल छ । गत वर्षको लामो खडेरीका कारण बोट सखाप भएपछि यो अवस्था सिर्जना भएको हो । उहाँले भन्नुभयो, “बारीको कान्ला, पाखोबारी, खाली जमिन गरी ३० रोपनी बढीमा अलैँची लगाएको थिएँ । खडेरीले ८० प्रतिशत विरुवा सखाप भयो ।”
उत्पादन भएको अलैंची बिक्रीबाट राम्रो आम्दानी लिने अपेक्षा गर्नुभएका उहाँ बोट नै सखाप भएपछि चिन्तित हुनुहुन्छ । तुलबहादुर मात्र होइन, खादर गाउँका कृषकहरुमा समस्या उस्तै छ । खडेरीका कारण बोट नै सुकेपछि उत्पादन लिन नपाउने अवस्था सिर्जना भएको छ ।
खडेरीले सुकेको अलैंची बोट देखाउँदै तुलबहादुरले भन्नुभयो, “यो वर्ष सुरुवातमा बोट राम्रो थियो । एक टन बढी उत्पादन हुन्छ होला भन्ने सोचेको थिएँ । खडेरी पछि त अधिकांश बोट सुक्यो । यो वर्ष भाउ राम्रो छ भनेर के गर्नु ५–१० किलो उत्पादन लिन पनि नसकिने भयो ।”
२०७८ सालमा उहाँले ८ क्विन्टलभन्दा बढी अलैँची उत्पादन गर्नुभएको थियो । २०६८ देखि व्यवसायिक अलैंची खेतीको सुरुवात गरी ७८ बढी परिवारको बसोबास रहेको गाउँलाई नै अलैँची पकेट क्षेत्रको रुपमा चिनाउन सफल हुनुभएको थियो ।
झण्डै १० रोपनीमा अलैँची विस्तार गर्नुभएका ग्यामबहादुर सोमैले पनि दुई वर्ष अघि ७० केजी बढी बिक्री गर्न सफल हुनुभएको थियो । यस वर्ष डेढ क्विन्टल बढी उत्पादनको अपेक्षा गर्नुभएको उहाँ पनि चिन्तामा हुनुहुन्छ । उहाँले भन्नुभयो, “गत वर्ष फागुनसम्म पानी नपर्दा सुरुवातमा बिग्रीन्छकि लागेको थियो । पानी परेपछि विरुवा राम्रो भएको थियो । वैशाख, जेठको खडेरीपछि त सबै बोट सुकेर गयो ।”
पाँच रोपनी बढीमा अलैँची खेती सुरु गरेर यसवर्ष उत्पादन लिने तयारीमा रहनुभएका जमनसिंह बयम्बुको अवस्था पनि उस्तै छ । एउटै गाउँबाट स्थानीयले २०७८ सालमा एक टन बढी अलैँची बुटवल तथा अरुणखोला बिक्री गरेका थिए । गतवर्ष पनि खडेरीकै कारण उत्पादनमा कमी आएको थियो ।
साढे ३ क्लिन्टल अलैची उत्पादन गरेका उनीहरु सुरुवातमा बोट राम्रो हुँदा यस वर्ष राम्रो उत्पादन हुने अपेक्षामा थिए । गाउँभरीबाट ४० केजी पनि उत्पादन लिन मुस्किल छ ।
निस्दी –३ का कृषि प्राविधिक त्रिमला पाटाले अलैँची छहारीमुनी ओसिलो ठाउँमा हुने भए पनि यस वर्ष लामो समयको खडेरीले अलैँची खेतीमा असर गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “छहारीसहितको ओसिलो ठाउँमा अलैँची हुने भए पनि खडेरीले जमिन सुख्खा हुँदा क्षति भएको हो । खडेरीको समयमा सिंचाइँको आवश्यकता परे पनि पानीको सहजता नहुँदा समस्या भएको छ ।”
गाउँपालिकाबाट अलैँची पकेट कार्यक्रम सञ्चालन भएपछि गाउँका अधिकांशले एक दुई रोपनीमा बिरुवा लगाइ अलैंची लगाउँदै आएका छन् । जसमा ८–१० परिवारले व्यावसायिक रुपमा खेती गर्दैआएका छन् ।
तर पनि याहाँका कृषकले हार भने मानेका छैनन् । यस वर्ष खडेरीले सखाप पारे पनि अलैँची खेती नछाड्ने बताएका छन् । वर्षासँगै बोट सुकेका स्थानमा पुनः नयाँ विरुवा लगाएका छन् । तुलबहादुरले भन्नुभयो, “यो वर्ष मौसमले हामीलाई साथ दिएन । एक दिन त राम्रो होला नि ? त्यसैले बोट सुकेको स्थानमा नयाँ बिरुवा सारेको छु । ३ हजार ५ सय नयाँ बिरुवा लगाएको छु ।”
जिल्लामा सबैभन्दा पहिले माथागढी –३ को ओलेसमा अलैँची खेती सुरु भएको थियो । हाल रिब्दीकोट गाउँपालिकाको भैरवस्थान क्षेत्रमा पनि अलैँची खेती हुँदैआएको छ ।