लुम्बिनी — बुद्ध जन्मस्थल लुम्बिनी अवलोकनका लागि आउने विदेशी पर्यटकको संख्यामा उल्लेख्य वृद्धि देखिएको छ । गत वर्षको तुलनामा पर्यटकको संख्या चार गुणासम्म बढेको छ । कोरोना महामारीपछि लुम्बिनीमा विदेशी पर्यटकको संख्या शून्यजस्तै थियो । मुलुकको प्रमुख गन्तव्यमा महामारीपछि थलिएको पर्यटनमा यति बेला भने उत्साहजनक सुधार देखिएको छ । लुम्बिनीमा तेस्रो मुलुकका पर्यटक आगमन बढेसँगै पर्यटन व्यवसायी उत्साहित बनेका हुन् । सबैभन्दा धेरै चीन र दक्षिण कोरियाबाट आउने पर्यटकको संख्यामा सुधार देखिएको हो ।
रूपन्देहीको लुम्बिनीमा 'ड्र्यागन डान्स' प्रदर्शन गर्दै चिनियाँ पर्यटक । कोभिडले सुस्ताएको लुम्बिनीमा पछिल्लो समय पर्यटक बढेका छन्। तस्बिर : मनोज/कान्तिपुर
सन् २०२२ मा चीनबाट ४ सय ३२ पर्यटक आएका थिए । सन् २०२३ को जुलाईसम्म चीनबाट २५ सय जना आइसकेका छन् । दक्षिण कोरियाका सन् २०२२ मा ६ सय १७ जना आएकामा यस वर्षको ७ महिनामा ३ हजार ७२ जना यहाँ आइसकेका छन् । थाइल्यान्ड, श्रीलंका र म्यानमारबाट आउनेको संख्यामा उलेख्य वृद्धि देखिएको लुम्बिनी विकास कोषले जनाएको छ । सन् २०२२ मा म्यानमारबाट एक हजार ४ सय ९५ पर्यटक आएका थिए । यस वर्ष ७ महिनामा ५ हजार ४ सय २४ जना आएका छन् । श्रीलंकाबाट गत वर्ष एक हजार ८ सय ८५ पर्यटक आएकामा यस वर्ष अहिलेसम्म ६ हजार २० आएका छन् । थाइल्यान्डबाट गत वर्ष ४ हजार ३ सय ८० पर्यटक आएकामा यस वर्ष ७ महिनामा ८ हजार ४ सय २३ आएका छन् ।
कोषका अनुसार २०२२ मा लुम्बिनीमा ९६ मुलुकका २३ हजार ९ सय ९२ विदेशी पर्यटक आएका थिए । सन् २०२३ को सात महिनामा ६७ मुलुकका ३६ हजार ९ सय ९७ पर्यटक आइसकेका छन् । सन् २०२१ मा ६८ मुलुकका एक हजार १ सय ९७ विदेशी पर्यटक मात्र यहाँ आएका थिए । यस वर्ष अस्ट्रेलिया, भुटान, कम्बोडिया, क्यानडा, जापान, इटाली र नेदरल्यान्ड्सबाट आउने पर्यटक बढेका छन् । ्
यस वर्षको जुलाईसम्म नेपाली, भारतीय र विदेशी गरी ५ लाख ६० हजार ३ सय २५ जनाले लुम्बिनी भ्रमण गरिसकेको कोषको सूचना शाखाले जनाएको छ । सन् २०२३ को ७ महिनामा ३ लाख ७९ हजार ३ सय ६० नेपालीले लुम्बिनी भ्रमण गरे । यो तथ्यांक मायादेवी मन्दिर अवलोकन गर्नेको मात्र हो । मायादेवी प्रवेश नगरेर फर्किनको संख्या गणना गरेमा धेरै पुग्ने कोषले बताएको छ । यस अवधिमा एक लाख ४३ हजार ९ सय ६८ भारतीयले लुम्बिनी भ्रमण गरेका छन् ।
सन् २०२२ मा ६ लाख ४९ हजार ७८ नेपाली र दुई लाख ३० हजार ८ सय ६३ भारतीयले लुम्बिनी भ्रमण गरेका थिए । ‘चीन, कोरिया र थाइल्यान्डबाट पर्यटक आवागमन बढ्नु सकारात्मक हो,’ लुम्बिनी होटल संघ पूर्वअध्यक्ष मिथुनमान श्रेष्ठले भने, ‘यसलाई दिगो राख्न कार्यक्रम बनाउन आवश्यक छ ।’ आवागमनसँगै उनीहरूलाई यहाँ टिकाउने कार्यक्रमको खाँचो रहेको उनको भनाइ छ । मुस्लिम मुलुक इरान, द्वन्द्वग्रस्त मुलुक इराकदेखि सिरिया, टर्कीसम्मका पर्यटक यहाँ आएका छन् । लात्भिया, लेथेसो, पोर्टोरिको, क्युवा, इक्वेडर र घानासम्मका पर्यटक आउने गरेकामा उनीहरूको बसाइँ अवधि बढाउन नक्दा देशले भनेजति फाइदा पाउन नसकेको लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक इन्द्र काफ्लेले बताए । अंकमा मात्र नरमाएर ठोस नीति, योजना र कार्यक्रम ल्याउनु आवश्यक भएको उनको भनाइ छ ।
पर्यटन बोर्डका अनुसार नेपालमा आउने पर्यटकको संख्या बढ्दै गए पनि उनीहरूले नेपाल बसाइँमा गर्ने खर्च भने घटिरहेको छ । पछिल्लो विवरणअनुसार नेपालमा पर्यटकले प्रतिदिन गर्ने खर्च ४०.५ अमेरिकी डलरमा खुम्चिएको बोर्डका मिडिया परामर्शदाता टीपी भुसालले जनाए । यसअघि सन् २०२१ मा पर्यटकले नेपालमा प्रतिदिन ४८ अमेरिकी डलरसम्म खर्च गर्ने गरेका थिए । यस्तो खर्च कोभिड महामारीका कारण अनिवार्य क्वारेन्टिनको नियमका कारण सन् २०२० मा ६५ अमेरिकी डलरसम्म पुगेको बताइन्छ ।
शान्तिको मुहान लुम्बिनी आउन विदेशी लालायित छन् । अक्टोबरदेखि मार्चसम्म पर्यटकीय सिजन हो । त्यही भएर यो समयमा पर्यटकको बसाइ लम्ब्याउनु योजना बनाउन जरुरी छ । धेरै पर्यटक भ्रमणको रोजाइमा लुम्बिनी पर्न थालेको छ । पर्यटक बढे पनि उनीलाई भुलाउन योजना र कार्यक्रम अभाव छ । ‘अहिले पनि लुम्बिनीमा पर्यटक बसाइ अवधि लम्ब्याउन सकेकै छैनौं,’ लुम्बिनी विकास कोष योजना प्रबन्धक सरोज भट्टराईले भने, ‘पर्यटक भुलाउने कार्यक्रम जरुरी छ ।’