नेपालगन्ज — गत फागुनमा बाँकेको राप्ती सोनारी–२, मदुईको अशोक सामुदायिक वनबाट बस्तीमा बाख्राको पाठोजस्तै सानो जनावर देखा पर्यो । स्थानीयले सहजै नियन्त्रणमा लिए र प्रहरीलाई जानकारी गराए । जन्मिएलगत्तै माउ गुमाएको अवस्थामा भेटिएको यो जनावर फेला पर्दा नाभी पनि झरेको थिएन ।
प्रहरीले संरक्षणका लागि वन कार्यालयलाई बुझायो । शमशेरगन्ज सब डिभिजन वन कार्यालयमा राखिएको यो जनावर हुर्कँदै जाँदा मानिससँगै रमाउन थालेको छ ।
अंग्रेजीमा ‘फोर हर्न एन्टिलोप’ भनिने संरक्षित वन्यजन्तुको सूचीमा रहेको यो दुर्लभ स्तनधारी जनावरलाई चौका भनिन्छ । हुर्किंदै जाँदा भाले चौका यस्तो भयो कि, मानिसको संगतबाट पर रहनै सकेन । जंगली जनावर भए पनि मानिस देखेपछि भाग्दैन बरु लुटुपुटु गर्छ ।
यही चौकाकै कारण पाँच महिनायता कार्यालयकी नर्सरी नाइके पोटनी थारूको दिनचर्या बदलिएको छ । चौकालाई नवजात शिशुलाई जस्तै दूधदानीबाट दूध खुवाउनुपर्छ । पोटनी हरेक बिहान नजिकैको शमशेरगन्ज गाउँमा १ लिटर दूध लिन जान्छिन् ।
सुरुवातका तीन महिना त उनले दिनमा तीन पटक दूधदानीबाट दूध चुसाउँथिन् । हुर्किंदै गएपछि हिजोआज भने दुई पटक दूध खुवाउनुपर्छ । ‘आफ्नै सन्तानजसरी हुर्काएको छु । काखैमा बस्छ, मलाई पनि धेरै माया लाग्छ,’ उनले भनिन्, ‘सबै रेखदेख म नै गरिरहेकी छु ।’ पोटनीका अनुसार चौकाले गाईको दूधका अलावा हिजोआज बिरुवाको कलिलो मुन्टा र पात पनि खान थालेको छ ।
डिभिजन वन कार्यालय प्रमुख सुशील सुवेदीले कर्मचारी मात्रै नभएर कार्यालयमा आउने आगन्तुक पनि चौका देखेर खुसी हुने गरेको सुनाए । ‘मान्छेको संगतमा हुर्किएकाले होला, ठूलो भइसक्दा पनि यो प्राकृतिक बासस्थानमा जान मानिरहेको छैन,’ उनले भने । वन कार्यालयका कर्मचारीका अनुसार चौकालाई कुकुरबाट जोगाउनु चुनौती देखिएको छ । कार्यालय प्रमुख सुवेदीले भने, ‘अहिले नै जंगलमा छाड्दा खतरा हुन्छ कि भन्ने चिन्ता छ । गाउँ पस्यो भने अरू जनावरको आक्रमणमा पर्ला कि भन्ने डर छ ।’
कार्यालयले यसलाई संरक्षणका लागि ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना पठाउनेबारे पनि सोचेको थियो तर अनुकूल वातावरण नमिल्ला कि भनेर तत्काल निर्णय लिन सकेन । ‘सिङ उम्रिएपछि र प्रतिरक्षा गर्न सक्ने अवस्था भएपछि प्राकृतिक बासस्थानमै पठाउनेबारे सोचिरहेका छौं,’ प्रमुख सुवेदीले भने । सानै भएकाले सिङ उम्रिन बाँकी छ । वन्यजन्तु विज्ञका अनुसार १० देखि १४ महिनाको उमेरमा चौकाको चार वटा सिङ उम्रिन थाल्छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार चौका पर्सा, चितवन, बाँके, बर्दियाका राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रका साथै भारतका जंगलमा मात्रै पाइन्छ । सालको वन भएका क्षेत्रमा बढी पाइने चौकाले ६ महिनादेखि एक वर्षसम्म माउको दूध खान्छन् भने हुर्किएपछि घाँसको कलिलो मुना असाध्यै रुचाउँछन् । समूहमा नहिँड्ने स्वभाव र संख्या कम भएकाले वनजंगलमा चौका सजिलै देखिँदैनन् ।
बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले लामो समय मानिससँग घुलमिल भएपछि चौका जंगलमा बस्न नसक्ने हुने बताए । ‘वन्यजन्तुका लागि सुरक्षित स्थान जंगल नै भएकाले हुर्किनासाथ प्राकृतिक बासस्थानमै छाड्नु उपयुक्त हुन्छ,’ उनले भने ।