नेभिगेसन मेनु

फैलँदै डेङ्गु सङ्क्रमण
सम्पादक:南亚网络电视
समय:2023-07-25 13:02

dengu

वर्षासँगै डेङ्गुको सङ्क्रमण बढ्न थालेको छ। लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु सङ्क्रमणको उच्च जोखिम साउनदेखि कात्तिकसम्म रहने चिकित्सिक बताउँछन्। वर्षा सुरु भएसँगै डेङ्गुका सङक्रमित देखिएका हुन्। 

गण्डकी प्रदेशको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक एवं प्रवक्ता डा. नारायण श्रेष्ठले डेङ्गुको सङ्क्रमण सुरु भइसकेको बताउनुभयो। उहाँका अनुसार गण्डकी प्रदेशमा वैशाख यता २६४ जनामा डेङ्गुको सङक्रमण देखिएको छ। प्रदेशभर सबैभन्दा बढी कास्कीमा १९२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ। म्याग्दीमा २३, लमजुङमा २२, तनहुँमा ११, नवलपुरमा आठ, गोर्खामा पाँच, स्याङ्जा, बागलुङ, पर्वतमा एक/एक जनामा सङ्क्रमण देखिएको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार तनहुँमा केही दिनअघि डेङ्गुको सङ्क्रमणबाट एक जनाले ज्यान गुमाइसकेका छन्। 

नेपालमा सन् २००४ मा पहिलो पटक डेङ्गु पुष्टि भएको थियो। सन् २०१९ मा डेङ्गुले प्रकोपको रूप लिएको थियो। उक्त वर्ष गण्डकी प्रदेशमा पनि डेङ्गुको प्रकोप उच्च रहेको श्रेष्ठले बताउनुभयो। उहाँले भन्नुभयो, “त्यसबेला कास्कीमा बढी सङ्ख्यामा डेङ्गुका बिरामी फेला परेका थिए। डेङ्गु फैलिँदा यहाँ ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान चलाइएको थियो। लामखुट्टेको टोकाइबाट सर्ने यो रोग नियन्त्रण गर्न लामखुट्टे मार्ने अभियान नै चलाइएको थियो।”

उहाँले त्यसबेला घर घरमा डेङ्गु नियन्त्रण गरिएको बताउनुभयो। वर्षाको अझै बाँकी भएकाले सतर्क रहनुपर्ने उहाँको भनाइ छ। उहाँका अनुसार गत वर्ष गण्डकी प्रदेशको कास्कीमा सबैभन्दा बढी ७०२ जनामा डेङ्गु सङ्क्रमण भएको थियो। त्यसपछि तनहुँमा ४८४, गोरखामा २८१, पर्वतमा २७७ र स्याङ्जामा १७८ जनामा यो सङक्रमण देखिएको थियो। उहाँका अनुसार डेङ्गु लागेपछि उच्च ज्वरो आउने, जिउ, जोर्नी र हाड दुख्ने गर्छ। त्यस्तै आँखाको गेडी वरिपरि दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, खान मन नलाग्ने, छालामा रगत जमेको धब्बा देखिने, नाक, गिजा, तथा शरीरका अन्य अङ्गबाट रगत बग्ने सम्भावना रहेको हुन्छ। यसलाई सामान्य रूपमा लिनु हुँदैन। ज्वरो आयो भन्दैमा ब्रुफिन खान नहुने र डाक्टरको सल्लाह लिएर औषधी खाने बानी बसाल्न उहाँले सुझाव दिनुभयो। लामखुट्टेको टोकाइबाट मानिसमा डेङ्गु सर्छ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर