प्राविधिक शिक्षाले ‘सीप हातमा रोजगार साथमा’ भन्ने मान्यतालाई सार्थक बनाउन सघाउँछ । हाम्रो देशमा बेरोजगारी समस्या दिनानुदिन बढ्दै गएको जगजाहेर नै छ । त्यस्तै पचासौँ लाख युवायुवती रोजगारीको खोजीमा परदेश पुगेका छन् । आवश्यक प्राविधिक ज्ञान र सीप हासिल नगरी विदेश गएका यस्ता युवा जनशक्तिको आयआर्जन न्यून हुनु स्वाभाविकै हो ।
भर्खर एसइई उत्तीर्ण गरेका युवा उमेरका श्रमबजारमा प्रवेशउन्मुख जनशक्तिलाई वेलैमा उनीहरूको रुचि, क्षमता र स्वदेशी तथा विदेशी श्रमबजारको मागअनुसार प्राविधिक शिक्षाको अवसर प्रदान गर्न सकेमा देशको बेरोजगारी समस्याको समाधान मात्रै नभई आफ्नै देश विकासमा जुट्न सक्षम जनशक्ति निर्माणसमेत गर्न सकिन्छ भन्नेतर्फ पनि हामी सबैले हेक्का राख्नु जरुरी छ । हाम्रो जस्तो विकासोन्मुख देशका लागि विभिन्न विधामा उच्च तथा मध्यम कोटीका प्राविधिक ज्ञान भएका जनशक्तिको खाँचो पर्नु स्वाभाविक हो । ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने राष्ट्रिय आकांक्षा पूरा गर्नकै लागि पनि आवश्यक प्राविधिक जनशक्ति उत्पादनतर्फ राज्य र अन्य सरोकारवाला सबैले वेलैमा ध्यान दिनुको विकल्प छैन ।
पछिल्ला दिनमा नेपालमा पनि प्राविधिक शिक्षाको विकास र विस्तारमा तीव्रता आएको पाइन्छ । आर्थिक वर्ष ०८०/८१ देखि सिटिइभिटीअन्तर्गतका आंगिक प्राविधिक शिक्षालय प्रदेश सरकारमातहत हस्तान्तरण र स्थानीय तहसमेतको साझेदारीमा शिक्षण संस्था सञ्चालनको नीति ल्याइएको छ । त्यस्तै मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयमा कक्षा ९–१२ का लागि प्राविधिक धारसमेत सञ्चालन गर्दै आएको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशनपछि उच्च शिक्षा अध्ययनका लागि कुुुन विषय, कहाँ र किन पढ्ने भन्नेबारे विद्यार्थी र अभिभावकबीच खुल्दुली हुनु स्वाभाविक हो । भर्खरै एसइई उत्तीर्ण अल्लारे उमेरका विद्यार्थीले अरूको लहैलहैमा लागेर पढ्ने विषय र शिक्षण संस्था हचुवामा छान्दा पढाइको अवस्था ओल्लो घाट न पल्लो तीर भएर हन्डर खानुपरेको धेरै उदाहरण छन् हाम्रो समाजमा ।
स्वदेशी तथा विदेशी श्रमबजारमा तीव्र प्रतिस्पर्धा भएको आजको विश्वमा हरेक क्षेत्रमा अवसर र चुनौती थपिँदै गएका छन् । यस्तो बदलिँदो परिवेशको चुनौतीपूर्ण श्रमबजारमा खरो प्रतिस्पर्धा गर्न समयको मागअनुसार आफूले अध्ययन गर्ने विषयको छनोट होस पुर्याएर गर्नुपर्छ । तसर्थ, कुन विषय किन र कहाँ पढ्ने ? अभिभावक र अनुभवीको सल्लाह र सुझाब विद्यार्थीका लागि मार्गदर्शक बन्न सक्छ ।
विद्यार्थीको चाहना र क्षमताअनुसारको पठनपाठनको व्यवस्थापन कसरी गर्न सकिएला ? शिक्षण संस्था सञ्चालकको चिन्ता र चिन्तनको विषय यो बन्नुपर्छ । गुणस्तरीय पठनपाठन तर्जुमाका लागि क–कसले के–के भूमिका निर्वाह गर्नुपर्ला ? जस्ता प्रश्नको जबाफ खोज्न विद्यार्थी, अभिभावक शिक्षण संस्था तथा राज्यबीचको सहकार्यबाट गम्भीरतापूर्वक समयमै दूरदर्शी निष्कर्षमा पुग्न सरकार र सरोकारवाला पक्षले आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न चुक्नु हुँदैन ।
भर्खर एसइई उत्तीर्ण गरेका युवा उमेरका श्रमबजारमा प्रवेशउन्मुख जनशक्तिलाई वेलैमा उनीहरूको रुचि, क्षमता र स्वदेशी तथा विदेशी श्रमबजारको मागअनुसार प्राविधिक शिक्षाको अवसर प्रदान गर्न सकेमा देशको बेरोजगारी समस्याको समाधान मात्रै नभई आफ्नै देश विकासमा जुट्न सक्षम जनशक्तिसमेत निर्माण गर्न सकिन्छ
त्यसकारण भर्खरै एसइईको ढोका पार भएका विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रमबजारमा प्रतिस्पर्धा गर्न सक्ने नागरिक बनाउने शिक्षा प्रदान गर्नेतर्फ समयमै आवश्यक सल्लाह र सहयोग गर्न सरकार र सरोकारवाला पक्षले कन्जुस्याइँ गर्नु हुँदैन । जे विषय जहाँ पढे पनि केही मानवीय र अत्यावश्यक साझा गुणको विकास गर्न भने चुक्नुहुन्न । जसमा सिर्जनशील, लगनशील, सीपयुक्त, स्मार्ट, ऊर्जावान्, नेतृत्व क्षमता भएको, टिमवर्क गर्न सिपालु, प्रभावकारी सञ्चार कला भएको, समयको व्यवस्थापन गर्न सक्ने उत्साही तथा आत्मविश्वासी व्यक्तिले हरेक क्षेत्रमा सफलता चुम्न सक्छ भन्नेतर्फ सबैले हेक्का राख्नु जरुरी छ ।
विद्यार्थी आफैँलाई मात्र आफ्नो खुबी यथार्थमा थाहा हुन्छ । त्यसकारण आफूले कक्षा १ देखि १० सम्म पढेको अनुभवका आधारमा मात्र उच्च शिक्षाका लागि विषय छान्ने निर्णय गर्नुपर्छ । कुनै पनि विषय सानो हुँदैन । आफूले पढेको विषयमा सतही ज्ञान मात्र हासिल नगरी त्यसमा विशेषज्ञता नै हासिल गर्न सक्नुपर्छ । तसर्थ, पढ्ने विषय रोज्दा आफ्नो रुचि, क्षमता, शिक्षण संस्थाको साधनस्रोत, भौतिक सुविधा, योग्य शिक्षकको उपलब्धता आदि पक्षमा विशेष ध्यान दिनुपर्छ । शिक्षण संस्थाको विज्ञापन तथा ब्रोसियरमा लेखिएका विषयमा मात्रै विश्वास नगरी शैक्षिक सफलताका ऐतिहासिक पृष्ठभूमि, शैक्षिक उपलब्धिको दिगोपन, व्यवस्थापनको स्तर, साधनस्रोतको पर्याप्तता र पारदर्शितासमेतलाई वस्तुनिष्ठ भएर प्रत्यक्ष अवलोकन गर्नुपर्छ ।
भविष्यमा अपनाउने पेसा, त्यसका लागि श्रमबजारको माग तथा आफूले छानेको विषय पढ्न चाहिने लगानी, समयावधि, आफ्नो आर्थिक क्षमता आदिबारे यथार्थपरक भएर गम्भीर विश्लेषण गर्नुका साथै अभिभावकसँग धक फुकाएर छलफल गरेर मात्र पढ्ने विषय र शिक्षण संस्था छनोटको निष्कर्षमा पुग्नु बुद्धिमानी कदम हो । अभिभावकलाई विद्यार्थीको चालचलन, योग्यता र क्षमताबारे अरूलाई भन्दा बढी थाहा हुन्छ ।
छोराछोरीको इच्छाविपरीतका विषय जबर्जस्ती पढ्न लगाउँदा निरन्तर असफलताका कारण मानसिक तनावले आत्महत्या गर्नेजस्ता अप्रिय घटनासमेत हुने गरेको पाइन्छ । त्यसकारण छोराछोरीको क्षमता र रुचिअनुसारको विषय छनोट गर्न बाबुआमाले मित्रवत् सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्छ । उनीहरूको भावनाको कदर गर्दै अध्ययन गरेको विषयगत उपलब्धिका आधारमा मात्रै विषय छनोट गर्न प्रोत्साहित गरिनुपर्छ । जसले गर्दा भविष्यमा आफूले पढेको विषयमा विशेषज्ञता हासिल गर्न उनीहरू सक्षम होऊन् । छोराछोरीको विगतको शैक्षिक उपलब्धि र पृष्ठभूमि जान्न शिक्षण संस्थासँग सम्पर्क गरे अझ सार्थक हुन्छ । त्यस्तै, एक जिम्मेवार अभिभावकले आफ्नो आर्थिक हैसियतलाई समेत ख्याल गर्दै पढाउने शिक्षण संस्थाको प्रचारप्रसारको वास्तविक धरातलसमेतको अध्ययन अवलोकन गरेर मात्र शिक्षण संस्था छनोेट गरेका खण्डमा पछि पछुताउनुपर्दैन ।
शिक्षा प्रदान गर्ने सामाजिक एवं परोपकारी दायित्व वहन गर्दै आएका शिक्षण संस्थाले पनि आफ्नो साधनस्रोत र शैक्षिक उपलब्धिको हैसियतबारे पारदर्शी रूपमा नढाँटी इमानदारीपूर्वक जानकारी गराउनुपर्छ । किनकि, मानवीय संशाधन विकास गर्ने अभिभारा लिएका संस्थाबाट यदि त्यसमा हेलचेक्य्राइँ भएमा व्यक्ति, समाज र अन्ततोगत्वा देशलाई नै धोका दिएको ठहर्छ । त्यसकारण त्यस्तो दूरगामी असर पार्ने शिक्षण संस्थाले क्षणिक लाभका लागि बेइमानी गरेमा प्रकारान्तरमा स्वयंका लागि आत्मघाती कदम नहोला भन्न सकिन्न ।
अतः प्रचलित नीति, नियमलाई इमानदारीपूर्वक अनुसरण गरी कुशल व्यवस्थापन गर्ने शिक्षण संस्थाले निश्चय नै भविष्यमा ख्याति कमाउन सफल हुन्छ । सार्थक दूरदर्शी सोच राखेर मात्रै अनुशासित वातावरणमा शिक्षण संस्था सञ्चालन गर्नुपर्छ । भनिन्छ, बाली लगाउन कम्तीमा ६ महिनाको, फलफूल रोप्न १० वर्षको र मान्छेलाई शिक्षित बनाएर सफल नागरिक बनाउन एक सय वर्षको योजना बनाउनुपर्छ ।
देखासिकी गरी धुरी चढ्नुको साटो गम्भीरतापूर्वक संस्थाको दिगोपन तथा निरन्तर प्रगतिका लागि सम्भाव्यताको अध्ययन अनुसन्धानपछि मात्र शिक्षण संस्था सञ्चालन गर्ने निष्कर्षमा पुग्दा फलदायी हुन्छ । संस्थाले आफ्नो लक्ष्य निर्विवाद हासिल गर्न व्यवस्थापनलाई चुस्तदुरुस्त राख्दै सेवाग्राहीको विश्वास जित्नुपर्छ । विद्यार्थी, शिक्षक, अभिभावकको आस्था र विश्वासको केन्द्रका रूपमा संस्थालाई स्थापित गर्ने लक्ष्यबाट संस्था निर्देशित हुनुपर्छ । विद्यार्थीको भाग्य र भविष्यलाई सदैव सर्वोपरि मानेर शैक्षणिक कार्यक्रम सञ्चालन गरिनुपर्छ । त्यसका लागि राज्यको सहयोग र सकारात्मक नीति–नियम अपरिहार्य हुन्छ ।
गरिब, जेहेनदार विद्यार्थीका लागि छात्रावृत्तिको व्यवस्था राज्य तथा शिक्षण संस्थाले गर्नुका साथै अन्य सरकारी गैरसरकारी र राष्ट्रिय, अन्तर्राष्ट्रिय विभिन्न निकायबाट प्रदान गरिने छात्रवृत्तिबारेको यथार्थ जानकारी सहज रूपमा सबैलाई उपलब्ध हुने व्यवस्था गरिनुपर्छ । सञ्चालित उच्च माविहरूको संख्यात्मक तथा गुणात्मक अवस्थाको अनुगमन र निरीक्षणलाई सशक्त बनाउनुपर्ने देखिन्छ । तोकिएका सेवा सर्तअनुसार विद्यालय सञ्चालन भएका छन् कि छैनन् ? निरन्तर अनुगमन अपरिहार्य हुन्छ । शुल्कको पारदर्शिता एवं औचित्य पुष्टि गराउने व्यवस्था हुनुपर्छ । विद्यालयलाई विद्यार्थीको उपलब्धिप्रति जबाफदेही बनाउन राज्य र स्वयं सेवाग्राही चनाखो हुनुपर्छ । विद्यार्थीलाई कहरले भन्दा पनि रहरले पढ्ने विषय र शिक्षण संस्थामा भर्ना गरिनु बुद्धिमानी हुन्छ ।