नेभिगेसन मेनु

‘भीर मौरीलाई भीरकै पीर’
सम्पादक:南亚网络电视
समय:2023-06-14 13:22

thumb (26)

पोखरा, खोटाङ — लैखोला, भीरैभीर, उकाली र तीरैतीर । ढुंगा र बुटा समाउँदै उक्लनु । मौरी भीरमुनि माथिबाट ढुंगा खसिरहनु । भुनभुनाउँदै भीर मौरी घुम्नु । डोरीको भर्‍याङ, बाँसका भाटा, चोयाको कोक्रो प्रयोग गरेर छंगाछुर भीरमा मह काढ्न सिकारीलाई जति आँट चाहिन्छ, झन्डै त्यति नै चाहिन्छ काढेको हेर्न ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकाले भीर मौरीको मह सिकारलाई साहसिक गतिविधिमा राखेर पर्यटक आकर्षित गर्ने योजना बनाएको छ । मह सिकारलाई व्यावसायिक बनाउन वडा नम्बर ९ ले मर्दी खोलाको सिरानपट्टि सिदिङको कोप्रे भीरलाई अवलोकनस्थलका रूपमा विकास गरेको छ । पोखराबाट हेम्जा, सिदिङ हुँदै कोप्रे भीर २४–२५ किलोमिटरको दूरीमा छ । डेढ घण्टा जिपका यात्रा र डेढ घण्टा पैदल हिँडेर कोप्रे भीर पुगिन्छ । भीर मौरीको मह काढेको हेर्न पाइने पोखराबाट नजिकको स्थान हो कोप्रे भीर ।

वडाध्यक्ष राजेन्द्र क्षत्रीका अनुसार दशकौंदेखि कोप्रे भीरमा सिदिङका स्थानीयले मह काढ्दै आएका थिए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) स्थापनापछि भने टेन्डर हुन थाल्यो । निश्चित रकम एक्यापलाई बुझाए स्थानीयले ठेक्का लिन थाले । ठेक्का लिनेले मह सिकारीलाई दैनिक ज्यालामा मह काढ्न लगाए । ठेकेदारले नै मह बिक्री गर्थे । यसपल्ट गाउँपालिकाको संयोजनमा स्थानीयले मह काढे । कोप्रे भीरसम्म पुग्ने बाटो बनाउन, मह सिकारीको पारिश्रमिक, खाजा, खाना, मह काढ्नुअघि बली दिइने भेडा खरिदका लागि वडाले १ लाख २५ हजार रुपैयाँ छुट्यायो । युनाइटेड सिदिङ युवा क्लबले मह काढ्ने जिम्मा लियो । मह सिकारीले आइतबार र सोमबार भीर मौरीको मह काढे ।

परम्परागत रूपमा हुँदै आएको मह सिकारमार्फत सिदिङलाई चिनाउने वडाको उद्देश्य रहेको वडाध्यक्ष क्षत्रीले बताए । ‘ठेक्का पार्नेले मह बेचेर आधा रकम पनि उठाउन सकेनन्,’उनले भने, ‘त्योभन्दा यसलाई अवलोकनस्थल बनाएर अर्को सिजनदेखि पर्यटक बोलाएर आम्दानीको स्रोतका रूपमा विकास गर्न हामीले नै पहल लियौं ।’ सिदिङको वनमा बग्रेल्ती मह भीर भए पनि पर्यावरणीय सन्तुलन कायम राख्न एक स्थानको मात्रै मह काढ्ने गरेको उनले बताए ।

भीर मौरीको मह वर्षमा दुईपल्ट काढिन्छ । जेठमा काढ्ने मह विषाक्तसमेत हुन सक्छ । उक्त महले कसै–कसैलाई नसहने र बिरामी नै बनाउने किसिमको हुन्छ । रातो गुराँसमा पाइने रसबाट बन्ने महले मात लाग्छ । यसलाई अचेल ‘म्याड हनी’ का रूपमा चिनिन्छ । मंसिरमा काढ्ने मह भने पोसिलो हुन्छ । भीर मौरीको महलाई स्थानीयवासीले औषधिका रूपमा प्रयोग गर्दै आएका छन् ।

मह सिकारमा बाबु–छोरा

सिदिङका ६४ वर्षीय उमानाथ गौतमले भीर मौरीको मह काढ्न थालेको तीन दशक नाघ्यो । झन्डै २ सय मिटर अग्लो कोप्रे भीर पहिलोपल्ट नाप्दा उनी ३४ वर्षका थिए । त्यतिबेला अहिलेजस्तो प्लास्टिकको डोरी थिएन । चोयाले बुनेर पर्‍याङ (डोरीको भर्‍याङ) बनाउनुपर्थ्यो । दिनभरि पर्‍याङ बुन्दा हातभरि चोयाका ठोसा बिझेको उनलाई अझै सम्झना छ ।

‘पहिलोपल्ट चढ्दा लिंगे पिङ खेलेजस्तै भयो,’ सोमबार एक चरण मह काढेर ओर्लिएपछि उनले विगतका अनुभव सुनाए, ‘डर भन्ने जिनिस् कत्ति लागेन । यस्तो चीज (मह) देखेपछि कहाँबाट डर लाग्ने ?’ गाउँमा पहिला मह काढ्नेहरू वृद्ध हुँदै गएपछि उनले मौका पाए । अहिले उनकै सिको गरेर छोरा चिमनारायणले पनि भीरमह काढ्न सिकेका छन् । गाउँकै अरू युवा पनि उनीबाट सिक्दै मह भीरमा उक्लिन्छन् । उनलाई गुरु मान्छन् ।

पहिला मह सिकारमा सामेल हुनेले दामासाहीले मह बाँड्ने गरेकामा एक्याप स्थापनापछि उमानाथले दैनिक ३ हजार ५ सय रुपैयाँमा मह काढ्न थाले । त्यत्रो जोखिम लिएर मह काढ्दा पाउने पारिश्रमिकले उनलाई चित्त बुझेको थिएन । तैपनि महको स्वाद पाउन उनी जोखिम मोल्न तयार हुन्छन् । ‘घरकाले पनि भो जाँदै नजा भन्छन् । ओ हो नि ! भनेजस्तो लाग्छ,’ उनले हाँस्दै भने, ‘अलिकति गुलियो पाइएको छ । त्यही देखेर गइन्छ ।’

अहिले वडाले बजेट नै छुट्याएपछि भने उनले दुई दिनको ३० हजार रुपैयाँ पाएका छन् । मह काढ्न पहिला दिन हेराउनुपर्छ । हेराएर निस्किएको साइतका दिनमा एकाबिहानै उमानाथको नेतृत्वमा आठ जनाको टोली बन्दोबस्तीका सामान बोकेर कोप्रे भीरतिर सोझिन्छ । मर्दी खोलालाई घरी दायाँ, घरी बायाँ पार्दै डेढ घण्टामा कोप्रे भीर पुग्छन् । मौरीको गोला रहेको मुन्तिर हरियो स्याउला बालेर धूवाँ पुतपुताइन्छ । मौरीलाई वनमा डढेलो लागेको जस्तो देखाएर ध्यान भंग गर्न र मान्छेलाई नटोकोस् भनेर त्यसो गरिन्छ । धूवाँ पुतपुताएपछि मौरीले गोला छोड्दै जान्छ ।

यता उमानाथ र छोरा चिमनारायणले पूजाआजा सुरु गर्छन् । भेडाको बलि दिन्छन् । ‘जमानामा यहाँ मह काढ्न आउँदा बाजेबराजुको ज्यान गएछ,’ बलि दिनुको कारण उमानाथले खुलाए, ‘उनीहरूलाई नै सम्झिएर भेडाको भोग दिन थालियो ।’ बिहानको खाजा खाएपछि उमानाथको टोली वनको बाटो गीत गाउँदै भीरमाथि पुग्छ । रूखमा एउटा डोरी बाँधेर तल झारिन्छ । तल भएकाले त्यही डोरीमा पर्‍याङ बाँधेर माथि पठाउँछन् । माथि भएकाले पर्‍याङलाई बलियो गरी रूखमा बाँध्छन् । त्यही पर्‍याङमा उमानाथ मौरीका गोला भएतिर ओर्लन्छन् । आफूलाई पनि अर्को डोरीले पर्‍याङसँग बाँध्छन् । गोलालाई काट्न काठको दाबिलो बनाएर बाँसको लामो भाटामा जोडिएको हुन्छ । त्यसलाई तोस्रो भनिन्छ । मह र चाका थाप्नलाई चोयाले बुनिएको कोक्रो डोरीबाट माथि तानिन्छ । भीरमुनि बसेका कुलप्रसाद पौडेलले इसारा दिन्छन् ।

भीरमाथि बसेका ओम अधिकारीले कोक्रो बाँधेको डोरी तान्ने, छोड्ने गर्छन् । उमानाथ गोलाको सोझै आइपुगेपछि तोस्रोले मह काढ्छन् । कोक्रोमा थाप्छन् । तल जयबहादुर क्षत्री र प्रेमबहादुर पौडेल क्षत्री कोक्रो कुरेर बस्छन् । चाका आएपछि हातैले निचोरेर मह जम्मा गर्छन् ।

मह काढ्दा प्रयोग हुने भाषा अलग्गै छ । कोक्रो बाँधेको डोरी बिस्तारै–बिस्तारै छोड्नुपर्दा उमानाथ ‘धिधि’ भन्दै चिच्याउँछन् । गोलानेरै कोक्रो आएपछि ‘होऽऽऽऽऽऽ’ भन्छन् । उनले चाका जम्मा गरेर कोक्रो छोडेपछि माथि बसेकाले डोरी छाड्दै तल पुर्‍याउँछन् । तल चाका जम्मा भएपछि उमानाथले ‘हुइँऽऽऽऽऽऽ’ गर्छन् । माथि पसेकाले डोरी तान्छन् । फेरि आफूनेर आएपछि उमानाथले ‘होऽऽऽऽऽऽ’ भन्छन् । लोकदोहोरीका भाका हाल्दै मह काढ्छन् । यो क्रम दोहोरिइरहन्छ ।

आफू ९ वर्षको हुँदादेखि बाबुसँग मह काढेको हेर्न आएको चिमनारायणलाई सम्झना छ । गाउँमै खेती किसानी गर्ने उनी सानैदेखि बाबुसँगै मह काढ्न पुग्छन् । बाबु थाक्दा पालो दिन्छन् । ‘ज्यानले सक्दासम्म मह काढ्छु,’ ३७ वर्षीय उनले भने, ‘बुबाले सक्नुभएन भने यो परम्परालाई निरन्तरता दिन्छु ।’ चोयालाई विस्थापित गरेर प्लास्टिकको डोरीको भर्‍याङ प्रयोग गरेको ८ वर्ष भयो । उक्त डोरी अझै ३ वर्ष टिक्ने उनी बताउँछन् ।

उनका अनुसार पहिला–पहिला मह बिक्दैनथ्यो । स्थानीयले पकाएर राख्ने गर्थे । मह बिक्न थालेको ४–५ वर्ष भयो । भीर मौरीको मह स्वास्थ्यवर्द्धक हुने र यौनवर्द्धक औषधिका रूपमा समेत प्रयोग हुन थालेपछि बिक्री बढेको हो । ‘विदेशीले एक लिटरलाई ७ हजार रुपैयाँसम्म तिर्छन्,’ उनले भने, ‘नेपालीले त्यही २ हजार, २५ सयसम्म किन्छन् ।’ अघिल्लो वर्ष ७–८ वटा मात्रै घार हुने गरेकामा यसपल्ट १८ वटा देखेर उमानाथ हौसिए । यी घारबाट ७०–८० लिटर मह आउने उनले बताए । भित्री मन भने उनलाई मह काढ्नुपर्दा खुसी छैन । भन्छन्, ‘त्यत्रो मौरी मारेर फालेर पाप गरिएको छ, के राम्रो हुन्थ्यो !’

भीर छिचोल्दै मह खोज्दै

पूर्वी पहाडी जिल्ला खोटाङको केपिलासगढी–१ फेदीका ३४ वर्षीय धनकुमार राईले भीर मौरीको मह निकाल्न थालेको १५ वर्ष भयो । उनीसँगै ३१ वर्षीय किशोर राई, २७ वर्षीय तिलक राई, २६ वर्षीय भैराज राई पनि यो काममा खप्पिस छन् । उनीहरू पर्‍याङबाट (डोरीको भर्‍याङ) अक्करे भीरमा चढेर जोखिमपूर्ण पेसा गर्दै आएका छन् । उनीहरूको साथमा सुमाहाङ, धर्मसिंलगायतले सुतारेका रूपमा र किरण राईलगायत अन्य सहयोगीले पनि साथ दिएका छन् । पछिल्लो समय भीरबाट मह निकाल्न साहसिक र मनोरञ्जनको विषय बनेकाले युवा जमात् आकर्षित छ । चोयाको डोरीबाट बनेको पर्‍याङ, सुता, छपिनी, डालो, दाबिलो, तसुरो, गादा (सेफ्टी) लगायतका सामग्रीको सहयोगमा मह सिकार गरिन्छ ।

पर्‍याङको माध्यमबाट चढ्ने, सुताको माध्यमबाट डालो, तसुरो र दाबिलोले मह निकालिन्छ । मह निकाल्नेलाई पर्‍याङे भनिन्छ भने सुताको माध्यमबाट पर्‍याङे, दाबिलो, जोतारो, डालोजस्ता सामग्री मह निकाल्ने पर्‍याङेसम्म पुर्‍याउँदै अपरेटरको काम गर्नेलाई सुतारे भनिन्छ । पर्‍याङेले भीरबाट निकालेको मह छान्ने र भाँडामा खन्याउनेलगायतका अन्य धूवाँ लगाउनेलाई सहयोगी भनिन्छ ।

फेदीका विभिन्न भीरहरूमा मौरी बस्छ । स्थानीय फुङ्गालुङ सामुदायिक वनको रिप्दौलाको कुहिरे छाँगाभीर, चिलिम लाहुरे सामुदायिक वनको माखाम्लास्थित भीर झर्ना, तेराहास्थित तेराभीरलगायतमा भीर मौरी पाइन्छ । भीर मौरीले जडीबुटीजन्य फूलहरूबाट मह बनाउने भएकाले औषधीय गुण भएकाले यसको मूल्य किलोको दुई हजार रुपैयाँ पर्छ । यो गाउँमा पुस्तौंदेखि यसरी मह निकालिँदै आएको स्थानीय हस्तराम राई बताउँछन् । २०३५ देखि आफूलगायतले र पछिल्लो अवधिमा युवा पुस्ता यसमा आकर्षित भएको उनले सुनाए । अहिले तिनै युवाहरू पेसेवर बन्दा आफूलाई खुसी लागेको राईको भनाइ छ । यी युवाहरू गाउँबाहेक अन्य ठाउँहरूमा पनि भीर मौरीको सिकार गर्न जान्छन् ।

खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीको चिलिम लाहुरे सामुदायिक वनको माखाम्ला भीरझर्नामा मह सिकार गर्दै स्थानीयवासी । तस्बिर : डम्बरसिं/कान्तिपुर

केपिलासगढी–७ सुङ्देल र भोजपुरका विभिन्न ठाउँहरूमा भीर मह झिक्न जाने गरेको किशोर राईले बताए । यसबारे सुनेर काठमाडौंबाट गाउँ आएको फेदी शुक्रबारेका राजन राईले बताए । भीर मौरीको बासस्थान भएकैले यो क्षेत्र पर्यावरणका हिसाबले पनि उपयुक्त छ भन्ने प्रमाणित भएकाले स्थानीय, प्रदेश र संघ गरी तीनै तहका सरकारले पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने स्थानीय लक्ष्मण राईको भनाइ छ । ‘गाउँमा साहसिक र भरपूर मनोरञ्जन गर्न पाइने भीर मह सिकार गर्न पाइन्छ,’ उनले भने, ‘यस्तो चाहना राख्नेहरूका लागि सरकारले विशेष योजना बनाएर पर्यटन प्रवर्द्धन गर्नुपर्छ ।’

बगाले सामुदायिक वनको ओख्रे भीर, चिलिम लाहुरे सामुदायिक वनको थाकु भीर, जलजले भीर, छिमालुङ सामुदायिक वनको शब्द भीर, खर्सुडाँडा भीरलगायतमा भने यो वर्ष भीर मौरी नबसेको स्थानीय तीर्थमणि राईले बताए । जलवायु परिवर्तन तथा कागज उद्योगमा प्रयोग गरिने रासायनिक पदार्थका कारण नष्ट भएकाले उक्त भीरहरूमा मौरी नआएको उनको भनाइ छ । उक्त ठाउँको बगाले सामुदायिक वनले कागज उद्योग सञ्चालन गरेपछि मौरी नष्ट भएको स्थानीयवासी बताउँछन् । उँधौलीका बेला कात्तिक–मंसिर उँभौलीका बेला जेठ–असार गरी दुईचोटि भीर मह सिकार गरिन्छ ।

भीर मह सिकारलाई पर्यटनसँग जोड्ने योजना बनाइने उक्त वडाध्यक्ष नीरकुमार राईले बताए । यो मौरीले जडीबुटीजन्य फूलका रसबाट मह बनाउने भएकाले महको माग धान्न नसकेको उनको भनाइ छ । ‘हामीले भीर मौरी संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने योजना बनाउँदै छौं,’ उनी भन्छन्, ‘महको माग पनि प्रशस्त भएकाले यसैबाट मनग्गे आम्दानी गर्ने योजना बनाउँछौं ।’

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर