नेभिगेसन मेनु

इजरायल-प्यालेस्टाइनबीच फेरि बल्झियो द्वन्द्व
सम्पादक:南亚网络电视
समय:2023-05-11 13:21

thumb (8)

इजरायल र प्यालेस्टाइनबीच फेरि द्वन्द्व बल्झिएको छ । बुधबार प्यालेस्टाइन लडाकुहरूले गाजा क्षेत्रबाट इजरायलतर्फ ६० भन्दा बढी रकेट प्रहार गरेका छन् । इजरायली सेनाले पनि इस्लामिक जिहादको रकेट लन्च गरिने क्षेत्रमा हवाई आक्रमण गरेको जनाएको छ ।

प्यालेस्टाइनका स्वास्थ्य अधिकारीका अनुसार गाजा क्षेत्रमा आक्रमणमा परी तीन प्यालेस्टाइन नागरिकको मृत्यु भएको छ । दुई दिनयता इजरायलको आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको अलजजिराले जनाएको छ ।

धेरैजसो रकेटलाई नष्ट गरेका कारण इजरायलतर्फ भने गम्भीर घाइते भएको कुनै रिपोर्ट सार्वजनिक नभएको सञ्चारमाध्यमले जनाएका छन् । मंगलबार पनि इजरायलले गाजा क्षेत्रमा आक्रमण गरेको थियो । त्यस क्रममा इस्लामिक जिहादका तीन नेतासहित १५ जनाको मृत्यु भएको थियो भने केही गम्भीर घाइते भएका थिए ।

घटनापछि इस्लामिक जिहादले ‘बदला लिने’ र कुनै पनि बेला आक्रमण गर्न सक्ने चेतावनी इजरायललाई दिएको थियो । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने चरमपन्थीको कुनै पनि कदमको उचित जवाफ दिने बताएका थिए । इजरायलको आक्रमणपछि बुधबार गाजाको दक्षिणी क्षेत्रमा विस्फोट र आगलागी भएको थियो ।

इजरायलको सुरक्षा बल (आईडीएफ) ले पनि खान युनिस क्षेत्रका रकेट लन्च गर्ने स्थानमा आक्रमण गरेको जनाएको छ । आफूहरूमाथि आक्रमण हुने जानकारी पाएपछि ती क्षेत्रमा हवाई आक्रमण गरेको आईडीएफको भनाइ छ । प्यालेस्टाइनका सञ्चारमाध्यमले गाजा, बेत लहियाको उत्तरी सहर र राफाको दक्षिणी क्षेत्रमा इजरायलले आक्रमण गरेको जनाएका छन् । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले आक्रमणमा परी खान युनिस क्षेत्र र बेत लहियामा गरी दुई जनाको मृत्यु भएको जनाएको छ । लगत्तै प्यालेस्टाइन लडाकुले गाजा क्षेत्रबाट इजरायलमा रकेट आक्रमण सुरु गरेका थिए । आक्रमणपछि दक्षिण इजरायलमा सुरक्षा साइरन बज्न थालेका थिए ।

एक साताअघि इजरायलको जेलमा रहेका इस्लामिक जिहाद समूहका वरिष्ठ सदस्य खदिर अदनानको मृत्यु भएपछि हिंसा भड्किएको हो । ८६ दिनदेखि भोक हडताल गरिरहेका अदनानले गम्भीर स्वास्थ्य अवस्था भए पनि उपचार गर्न नमानेपछि मृत्यु भएको इजरायलको जेलसेवाले जनाएको थियो । उनको मृत्युपछि गाजा क्षेत्रबाट इजरायलतर्फ तीन हवाई आक्रमण भएको थियो । केही दिनअघि हिंसा रोक्न इजरायल र प्यालेस्टाइन दुवै सहमत भए पनि मंगलबारदेखि फेरि आक्रमण सुरु भएको हो ।

इस्लामिक जिहाद हमासपछि प्यालेस्टाइनको दोस्रो ठूलो चरमपन्थी समूह मानिन्छ । दुई वर्षअघि पनि इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व चर्किएको थियो । इजरायलले प्यालेस्टाइनको विद्रोही संगठन हमासमाथि कारबाहीको क्रममा दुवैतर्फ गरी सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो, जुन हिंसालाई सन् २०१४ यताकै गम्भीर मानिएको थियो । गत अगस्टमा पनि इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्वका कारण ५१ जनाको मृत्यु भएको थियो ।

सन् १९६७ को मध्यपूर्वको युद्धपछि इजरायलले पूर्वी जेरुसेलममाथि कब्जा गरेको थियो । त्यसपछि उसले पूरा जेरुसेलमलाई आफ्नो राजधानी दाबी गर्दै आएको छ । तर अन्तर्राष्ट्रिय समुदायले यसलाई मान्दैन । प्यालेस्टाइनले भने पूर्वी जेरुसेलमलाई भविष्यको एक सार्वभौम र स्वतन्त्र मुलुकको राजधानीका रूपमा लिँदै आएको छ । यही विषयमा प्यालेस्टाइन र इजरायलबीच विवाद रहँदै आएको छ भने पटक–पटक यसले युद्धको रूप लिएको छ । सन् २०१४ को जुलाईदेखि अगस्टको बीचमा भएको द्वन्द्वमा २२५१ प्यालेस्टाइनी मारिएका थिए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर